एमाले उम्मेदवार छान्दै, मोडालिटीमै अड्कियो गठबन्धन



काठमाडौं । राजनीतिक दलहरू स्थानीय तह निर्वाचन केन्द्रित अभियानमा छन् । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा तालमेलको ‘मोडालिटी’ बनाउन व्यस्त छन्। गठबन्धनले तालमेलको मोडालिटी टुंग्याउन भने बाँकी छ ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वमा रहेको निर्वाचन तयारी तथा अनुगमन समितिले तालमेलको मोडालिटीबारे छलफल गर्दै आएको छ। निर्वाचन भने अबको ३२ दिनमा हुनेछ। अबको १४औँ र १५औँ दिनमा भने मनोनयन दर्ता गर्नुपर्ने निर्वाचन कार्यतालिका छ।

निर्वाचनको समय नजिकिँदा गठबन्धनमा तालमेलमा अलमलिँदा नेकपा एमालेले भने धमाधम महानगरपालिका, उपमहानगरपालिकादेखि नगरपालिका हुँदै गाउँपालिकासम्मका उम्मेदवार टुंगो लगाउँदै छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पनि उम्मेदवार टुंगो लगाउन थालेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले घोषणापत्र सार्वजनिक गरिसकेको छ । संसद्मा रहेका अन्य दल र बाहिरका दलहरू पनि निर्वाचनमा अभियानकेन्द्रित गतिविधिमा व्यस्त छन् ।
एमालेबाट ३ महानगरका उम्मेदवार सिफारिस
५ दलीय गठबन्धन निर्वाचनमा तालमेलको ‘मोडालिटी’ तयार गर्न व्यस्त रहँदा गठबन्धनको मुख्य प्रतिस्पर्धी दल नेकपा एमालेले भटाभट उम्मेदवार सिफारिस गर्दै छ। देशका ६ महानगरपालिकामध्ये विराटनगर महानगरपालिकाबाट उम्मेदवार सिफारिस सुरु गरेको एमालेले आइतबार २ महानगरपालिकाको उम्मेदवार पनि सिफारिस गर्‍यो।

नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) कसले पाउने भन्ने विषयले चर्चामा रहेको चितवनको भरतपुर महानगरपालिकामा एमालेले विजय सुवेदीलाई अघि सारेको छ। २०७४ सालमा भएको निर्वाचनमा प्रमुखमा प्रतिस्पर्धा गरेका देवी ज्ञवालीको प्रस्तावमा सुवेदी प्रमुखका उम्मेदवार बनेका हुन् । उनको प्रतिस्पर्धा गठबन्धनका उम्मेदवारसँग हुनेछ। तर, गठबन्धनबाट को उम्मेदवार हुने भन्ने टुंगो लाग्न बाँकी छ। कांग्रेस र माओवादी दुवै पार्टीको महानगर प्रमुखमा दाबी छ। यी २ पार्टी अलमलमा रहँदा एमालेले उम्मेदवार अघि सारेको हो । आइतबार नै एमालेले ललितपुर महानगरपालिकामा पनि उम्मेदवार टुंगो लगाएको छ । पार्टीको महानगर कमिटीले हरिकृष्ण ब्यञ्जनकारलाई प्रमुखको उम्मेदवार बनाउने निर्णय गरेको हो।

२०७४ सालमा भएको निर्वाचनमा उनी नेपाली कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जनसँग ३ मतान्तरले पराजित भएका थिए । उनै ब्यञ्जनकार फेरि उम्मेदवार बन्ने भएका हुन्। महानगरपालिकाको उपप्रमुखमा आस्था शाक्य ‘मञ्जली’ र सरस्वती खड्काको दाबी छ। प्रदेश २ को पर्सामा रहेको वीरगंज महानगरपालिकाको प्रमुख पदमा उम्मेदवार बन्ने आकाङ्क्षीहरूको नाम भने सोमबार सार्वजनिक गर्ने एमालेको तयारी छ।

काठमाडौं महानगरपालिकाको प्रमुखमा भने एमालेबाट पूर्वराज्यमन्त्री रामवीर मानन्धर, बाग्मती प्रदेशका पूर्वमन्त्री केशव स्थापित र वर्तमान प्रमुख विद्यासुन्दर शाक्यको नाम चर्चामा छ । उम्मेदवारको रूपमा नाम टुंगिन बाँकी छ । शनिबार भने एमालेले प्रदेश १ को एक मात्र महानगरपालिका विराटनगरको प्रमुखका लागि रामलाल साह, बाबुराम कार्की, सागर थापा, परशुराम बस्नेत र महेश भट्टराईको नाम सिफारिस गरेको थियो ।
शुल्क नलिन कांग्रेसको निर्देशन
सत्ता नेतृत्व गरेको दल नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनमा उम्मेदवार सिफारिस गर्दा शुल्क नलिन निर्देशन दिएको छ। चितवनलगायत जिल्लामा उम्मेदवारी दिँदा पार्टी जिल्ला समितिले शुल्क तोकेपछि शुल्क नलिन निर्देशन दिएको हो। पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले परिपत्र जारी गर्दै शुल्क लिने विषयलाई पार्टी केन्द्रले गम्भीर रूपमा लिएको पनि बताएका छन्। राष्ट्रियसभा सदस्यसमेत रहेका पौडेलले शुल्क लिनु विधानविपरीत भएको पनि विज्ञप्तिमार्फत भनेका छन् ।

‘पार्टीको विधान र नियमावली, २०७६ को व्यवस्थाबमोजिम पार्टीको क्रियाशील सदस्य तथा लाभको पदमा रहेको पार्टी सदस्यले पार्टीलाई बुझाउनुपर्ने सदस्यता शुल्क तथा अन्य सहयोग रकम (लेबी)बाहेक अन्य कुनै पनि किसिमको रकम लिन÷उठाउन नमिल्ने स्पष्ट व्यवस्था छ’, पौडेलले जारी गरेको परिपत्रमा भनिएको छ, ‘कतिपय जिल्लामा उम्मेदवार सिफारिसकै लागि शुल्क लिइएको भन्ने कुरा विधानविपरीत हुन्छ।’

विधानले तोकेअनुसारका शुल्क उठाउन बाँकी भए त्यसलाई भने उठाउन मुख्य सचिव पौडेलले जारी गरेको परिपत्रमा उल्लेख छ। चितवन कांग्रेसले भरतपुर महानगरपािलकाको प्रमुख र उपप्रमुखका लागि आइतबार र सोमबारसम्म उम्मेदवार बन्ने आकाङ्क्षीलाई उम्मेदवारी दर्ता गर्न आह्वान गरेको छ ।
अपिल सार्वजनिक, घोषणापत्र बाँकी
सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयं निर्वाचनको ‘कमान्डर’ बनेर निर्वाचन अभियानमा खटिएका छन्। उनको बढी खटाइ गृहजिल्ला चितवनमा छ, जहाँ उनको निर्वाचन क्षेत्र पनि छ। निर्वाचनमा तालमेल गर्दा माओवादीले भरतपुर महानगरपालिका पाउनुपर्ने पक्षमा उनी छन् । सोही कारण माओवादीको पक्षमा जनमत सिर्जना गर्न प्रचण्ड बढी चितवनकेन्द्रित भएका छन् । उनको पार्टी माओवादीले २२ चैतमै स्थानीय तह निर्वाचनबारे अपिलपत्र सार्वजनिक गरेको छ । घोषणापत्र भने सार्वजनिक गर्न बाँकी छ । माओवादीले ६ वटामध्ये कुनै पनि महानगरपालिकामा प्रमुख/उपप्रमुखको उम्मेदवार तयार गर्न पनि सकेको छैन ।
माधव चुनावी ‘कमाण्डर’
नेकपा (एकीकृत समाजवादी)को स्थानीय तह निर्वाचन ‘कमाण्डर’ पार्टी अध्यक्ष माधवकुमार नेपाल भएका छन् । पार्टी स्थापना भएको साढे ८ महिनापछि हुने निर्वाचनबाट पार्टीलाई स्थापित गर्ने कार्यभारसहित नेपाल कमाण्डर भएका हुन् । स्थानीय तहको वडा तहसम्म पार्टी सङ्गठन विस्तारको क्रममा रहेकै बेला नेपाल नेतृत्वको एकीकृत समाजवादीले निर्वाचनको सामना गर्नुपर्ने अवस्था आएको छ।

अबको ३३ दिनमा मतदान नै हुनेछ। मतदान गर्ने दिन नजिकिएको अवस्थामा नेपालको ‘कमान्डिङ’मा निर्वाचनमा जाँदा एकीकृत समाजवादीको सम्भावित दलीय हैसियतलाई लिएर अनेक टीका टिप्पणी पनि भइरहेका छन् । नेपालको पूर्वपार्टी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीले कुनै ठाउँमा निर्वाचन नजित्ने दाबी गर्दै आएका छन् । उनै अध्यक्ष ओलीलाई निर्वाचनबाट पार्टीलाई स्थापित गर्दै जबाफ दिने जिम्मेवारीसहित नेपाल निर्वाचन कमाण्डर भएका हुन्। उनको नेतृत्वमा १ हजार १११ जना रहेको मूल निर्वाचन परिचालन कमिटी गठन भएको छ । पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले शनिबार र आइतबार बसेको पार्टी सचिवालय बैठकले नेपाल नेतृत्वमा कमिटी गठन गरेको जानकारी दिए।

बैठकले उम्मेदवार सिफारिस समयसीमासमेत तोकेको छ । खतिवडाका अनुसार पार्टी वडा कमिटीले ३० चैतसम्म, पालिका कमिटीले २ वैशाखसम्म, जिल्ला कमिटीले ४ वैशाखसम्म र ६ वैशाखसम्म प्रदेश कमिटीले उम्मेदवारको नाम सिफारिस गर्नुपर्नेछ । केन्द्रीय कमिटीले ८ वैशाखसम्म महानगर र उपमहानगरपालिकाको उम्मेदवार टुंगो लगाउने पनि भएको छ। बैठकले सचिव डा. वेदुराम भुसालको संयोजकत्वमा निर्वाचन परिचालन केन्द्रीय सचिवालय पनि गठन भएको छ।

सचिवालयमा उपमहासचिवहरू प्रकाश ज्वाला, डा. गंगालाल तुलाधर, डा. विजय पौडेल, जगन्नाथ खतिवडा, जीवनराम श्रेष्ठ, विश्वनाथ प्याकुरेल, सोमप्रसाद पाण्डे, केदार सञ्जेल, सूर्य खत्री र द्रोणाचार्य क्षेत्री छन् । बैठकले उम्मेदवार सिफारिसका लागि मापदण्ड तोकेर पठाएको छ । गठबन्धनले निर्वाचनमा तालमेल गर्दा उम्मेदवार पाउने ठाउँमा भने उम्मेदवारी नदिइने पनि उक्त पार्टीले जनाएको छ । स्थानीय तह निर्वाचन घोषणापत्र– २०७८ पनि पारित भएको छ।

जसपाले १ वैशाखसमम्ममा उम्मेदवार टुंग्याउने
जनता समाजवादी पार्टी (जसपा)ले आगामी १ वैशाखसम्ममा स्थानीय तहका उम्मेदवारको टुंगो लगाउने जनाएको छ। जसपाका एक केन्द्रीय नेताका अनुसार जसपाले १ वैशाखमै आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गर्दै छ । चुनावी तालमेलबारे स्पष्ट रूपमा बाहिर आई नसकेको जसपाले केकसरी उम्मेदवार घोषणा गर्छ भन्ने १ वैशाखमै थाहा हुने ती नेताको भनाइ छ।

३० चैतभित्र उम्मेदवार छान्न लोसपाको निर्देशन
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) अध्यक्ष महन्थ ठाकुरले मंगलबार वडा सदस्य पदसम्मका उम्मेदवारको नाम सिफारिस गर्न निर्देशन दिएका छन्। महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाका प्रमुख/उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष/उपाध्यक्षको उम्मेदवार सिफारिस भने सोमबारसम्म गर्न पनि ठाकुरको निर्देशन छ।

ठाकुर नेतृत्वको पार्टी लोसपाले पनि नेकपा (एकीकृत समाजवादी)ले जसरी पहिलो पटक स्थानीय तह निर्वाचनको सामना गर्न लागेको हो । लोसपाले तालमेलको ढोका खुला राखेको छ । नेकपा एमालेसँग निर्वाचनमा तालमेल हुने सम्भावना लोसपाको बढी छ । तर, हालसम्म कुनै दलसँग तालमेल गर्ने सहमति भई नसकेको नेता सुरेन्द्र झाले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्