काठमाडौंमा प्रहरीद्वारा १० लाख बराबरको पटाका नष्ट



 

काठमाडौं :   प्रहरीले काठमाडौंमा १० लाख मूल्य बराबरको पटाका नष्ट गरेको छ । तिहारका लागि भित्र्याइएका करिब १० लाख बराबरको पटाका काठमाडौंको विभिन्न स्थानबाट नियन्त्रणमा लिई टेकुस्थित महानगरीय प्रहरी परिसरमा बुधबार विहान नष्ट गरिएको हो ।

 

ठूलो धनजनको क्षति निम्त्याउने कानुनद्धारा बर्जित पटाका काठमाडौंको विभिन्न स्थानबाट नियन्त्रणमा लिई सञ्चारकर्मी र स्थानीयको रोहबरमा नष्ट गरिएको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार लामाले जानकारी दिए । परिसरले पटाका बिक्री वितरणमा संलग्न नौं जनालाई पनि नियन्त्रणमा लिई कानुनी कार्वाही पनि सुरु गरेको छ ।

 

परिसरले काठमाडौंलाई पटाका मुक्त बनाउन अभियाननै सञ्चालन गरेको छ । परिसरका प्रमुख लामाले पटाका पड्काउने वा यसको विक्री वितरण गर्नेलाई कडा कार्वाही गर्ने चेतावनी पनि दिए । उनले पटका पड्काउने तथा बिक्रीवितरण गरेको पाइए प्रहरीलाई सूचना दिन पनि सबैलाई आह्वान गरे ।

 

नियन्त्रणमा लिई नष्ट गरिएका पटका ३ महिना अघिनै काठमाडौं भित्रिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । परिसरका प्रमुख लामाले तिहारमा पड्काउने र त्यसबाट ठूलो धनजनको क्षति हुने देखिएपछि पट्काको बिक्री वितरणमा समेत कडा निगरानी राख्नुपरेको पनि स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्