मिति जति नजिक, ‘मिल्ती’ उति टाढा



काठमाडौं । सत्तारूढ गठबन्धन दलहरूबीच स्थानीय तह निर्वाचनमा तालमेल कठिन बन्दै गएको छ । दलहरू आ–आफ्ना अडानमा लचक नबन्दा एक्लाएक्लै निर्वाचनमा जाने विकल्प खोज्न थालेका छन् ।
६ दिनअघि (२९ चैतमा) गठबन्धनका ५ नेताले अपिलमार्फत तालमेल गर्ने र गठबन्धन दलका उम्मेदवारहरूलाई मतसमेत मागेका थिए ।
तर, यस्तो अपिल गरेको ७ दिन नबित्दै ठाउँठाउँमा गठबन्धन भत्किन थालेको छ । प्रदेश १ को सुदूरपूर्वी जिल्ला ताप्लेजुङमा गठबन्धन भत्किएको छ । गठबन्धनको एउटा दल जनता समाजवादी पार्टीले नेकपा एमालेसँग गठबन्धन गर्ने करिब टुङ्गो लागेको छ । पाँचथरमा पनि गठबन्धन भत्किन लागेको छ । माओवादीले नेकपा एमालेसँग गठबन्धन गर्ने विषय अघि बढाएको छ ।
एक जना माओवादी नेताका अनुसार एमालेले ८ स्थानीय तहमा आधा र जिल्ला समन्वय समितिमा पनि आधा हिस्सा लिनेगरी गठबन्धन गरौँ भन्ने प्रस्ताव गरेको छ, जुन प्रस्तावलाई नेकपा (माओवादी केन्द्र)ले सकारात्मक रूपमा लिएको छ ।
कांग्रेसले भने ८ स्थानीय तहमध्ये मिक्लाजुङ गाउँपालिकाबाहेकका ७ स्थानीय तह लिने प्रस्ताव गरेको छ । माओवादी नेताहरूले कांग्रेसको उक्त प्रस्तावलाई अपमानजनक भएको प्रतिक्रिया दिएका छन् ।
प्रदेश १ को माओवादी केन्द्र संसदीय दलका नेतासमेत रहेका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो ‘मौसम’ले कांग्रेसको अपमान सहन नसकिने र एक्लाएक्लै निर्वाचनमा जानुपर्ने बताउँदै आएका छन् ।
उनले कांग्रेसको प्रस्ताव गठबन्धनको नाममा माओवादी केन्द्रलाई अपमान गर्ने खालको भएको भन्दै असन्तुष्टि व्यक्त गरे । उनले थप भनेका छन्, ‘एउटालाई हराएर अर्कालाई जिताउने ठेक्का माओवादीको होइन । लोकतन्त्र, व्यवस्था र संविधान रक्षार्थ जिम्मेवारीपूर्ण सहकार्यको अपेक्षा मात्र हो ।’
प्रदेश १ का कांग्रेस महामन्त्री भूपेन्द्र राईले साङ्गठनिक क्षमताभन्दा बढी गठबन्धनका दलहरू माओवादी, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)ले दाबी गर्दा तालमेलमा कठिनाइ भएको बताए ।
‘गठबन्धनका शीर्ष नेताहरूले २९ चैतमा गरेको अपिलको मर्म र भावनाअनुसार तालमेल हुन सकिरहेको छैन । सङ्गठन मजबुत छैन, दाबी बढी हुन्छ । यसले तालमेल कठिन भएको हो’, महामन्त्री राईले द नेपालटपसँग भने, ‘तैपनि हामी गठबन्धन भत्किन नदिने प्रयासमा छौँ । मिलाउने प्रयासमै छौँ ।’
तालमेल गर्ने समय शनिबारसम्म हो । तर, प्रदेश १ मा धनकुटा र उदयपुरमा मात्र तालमेल गर्नेगरी प्रक्रिया अघि बढेको छ । बाँकी १२ जिल्लामा तालमेलमा कुनै प्रगति छैन । प्रदेश राजधानी विराटनगरमा तालमेल नगर्ने निर्णय गरेको कांग्रेसको महानगर समितिले केन्द्रमा प्रमुखका लागि ७ जनाको नाम सिफारिस गरेको छ । त्यसैगरी उपप्रमुखमा ११ जनाको नाम सिफारिस गरेको छ ।
मधेस प्रदेशमा पनि गठबन्धन धर्मरमा छ । माओवादी केन्द्रका प्रदेश इन्चार्ज गणेश साहले प्रदेशका कुनै पनि जिल्लामा तालमेलको विषय टुङ्गो नलागेको बताए । गठबन्धनका दलहरूबीचको तालमेल निकै चुनौतीपूर्ण र कठिन भएको उनको भनाइ छ । हुन पनि मधेस प्रदेशको पर्सामा पनि गठबन्धन भत्किसकेको छ ।
शनिबार जसपा पर्सा अध्यक्ष रामनरेश प्रसाद यादव र कांग्रेस पर्सा सभापति जनार्दनसिंह क्षेत्रीले जिल्लाका १४ वटै स्थानीय तहमा ‘मित्रवत् प्रतिस्पर्धा’ गर्ने भन्दै प्रेस नोट जारी गरेका छन् ।
यसको अर्थ गठबन्धन दलहरूबीच निर्वाचनमा तालमेल नगर्ने भन्ने हो । मधेस प्रदेशकै जनकपुर उपमहानगरपालिकामा पनि कांग्रेसले कुनै पनि दलसँग तालमेल नगर्ने निर्णय गरेको छ । एक्लै निर्वाचनमा होमिने उपमहानगर समितिले जनाएको छ ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को गृह जिल्ला चितवनमा पनि गठबन्धन भत्किने सम्भावना बढेको छ । भरतपुर महानगरपालिका केन्द्रीय गठबन्धनले पुनः माओवादीलाई छाड्ने सङ्केत देखिएपछि कांग्रेसका स्थानीय नेता, कार्यकर्ताले सामूहिक राजीनामा घोषणा गरेका छन् ।
वडा– १७ का ५० जना कार्यकर्ताले शनिबार सामूहिक राजीनामा घोषणा गर्दै स्वतन्त्र चुनावी अभियान सुरु गरेका छन् । बाग्मती प्रदेशमै पर्ने काठमाडौं जिल्लाको ५ दलीय गठबन्धनको संयन्त्रले पनि तालमेलबारे निर्णय गर्न सकेन ।
यस्तो अवस्थाबीच कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले एकै दिन शनिबार ‘मित्रवत् प्रतिस्पर्धा’ गर्नुपर्ने अभिव्यक्ति दिएका छन् । उनको यो अभिव्यक्तिले तालमेलको सम्भावना क्रमशः टर्दै गएको सङ्केत गरेको छ ।
‘दलहरूबीच आ–आफ्नै दाबी रह्यो भने चुनावी प्रतिस्पर्धा हुन्छ’, नेता महतले भने, ‘पार्टी मुख्यालय सानेपामा उनले सञ्चारकर्मीहरूसँग भने, ‘हामीबीच नै प्रतिस्पर्धा हुन सक्छ तर एमालेसँग गठबन्धन हुँदैन ।’
महामन्त्रीहरू गगनकुमार थापा र विश्वप्रकाश शर्माले पनि गठबन्धन दलहरूबीच मित्रवत् प्रतिस्पर्धा गर्नुपर्नेमा जोड दिएका छन् । यसरी निर्वाचनको मिति जति नजिक हुँदै छ, त्यति नै गठबन्धन दलहरूबीच तालमेलको सम्भावना न्यून बन्दै गएको हो ।
तर, एकीकृत समाजवादीका महासचिव डा. बेदुराम भुसाल भने अझै तालमेलको सम्भावना सबै स्थानीय तहमा रहेको बताउँछन् ।

द्वन्द्वको घाउ सम्झेर माओवादीलाई मत दिँदैनन् : लुम्बिनी सभापति
कांग्रेस लुम्बिनी सभापति अमर पुनले १० वर्षे सशस्त्र द्वन्द्वको क्रममा माओवादीबाट थुप्रै कांग्रेस नेता, कार्यकर्ताहरू पीडित भएका भन्दै उनीहरूले तालमेल नै भए पनि माओवादी उम्मेदवारलाई मत नहाल्ने बताएका छन् ।
मत नहालेपछि निर्वाचन जित्न नसकिने उनले बताए । प्रदेशको कोहलपुर, बुटवलको उत्तरी क्षेत्रसहित पहाडदेखि तराईसम्म विस्थापित भएर आएकाहरूले तालमेल भए पनि माओवादीलाई मत नदिने भन्ने गरेका छन् ।
‘खुलम खुला मत दिन्नँ भन्छन् । माओवादीले कति दुःख दियो हामीलाई भन्छन् । सम्झाउँदा पनि मत दिनेवाला छैनन् । द्वन्द्वको पीडा सम्झिन्छन् अनि कसरी हुन्छ तालमेल ?’, सभापति पुनले भने ।
कांग्रेसको संस्थापनइतर खेमाका नेता पुन पहिलेदेखि तालमेलको विपक्षमा उभिँदै आएका नेता हुन् ।

प्रतिक्रिया दिनुहोस्