साथ दिने २४, माग दाबी १४७



काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले शनिबार एउटा सार्वजनिक कार्यक्रममा सत्ता गठबन्धन दलबाट पनि आफूलाई अपमान भएको बताए ।
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबाट अपमान महसुस भएपछि नयाँ पार्टी दर्ता गरेका नेपाल कांग्रेस र नेकपा (माओवादी केन्द्र)सहितका दलसँग गठबन्धन गरेर स्थानीय तह निर्वाचनमा प्रतिस्पर्धामा उत्रँदै छन् ।
गठबन्धन दलभित्र अघिल्लो चुनावमा जितेका स्थानमा स्वतः सोही पार्टीका प्रतिनिधिले पाउने समझदारी बनेको छ । यो समझदारीले अन्तिम रूप नलिँदै स्थानीय स्तरमा असन्तुष्टि देखिन थालेपछि भागबण्डा टुङ्गिएको छैन ।
आइतबार बसेको गठबन्धन दलको बैठकमा कांग्रेसबाहेक सबै दलले पालिकाहरूमा आफ्नो दाबेदारीको फेहरिस्त प्रस्तुत गरे ।
नेकपा एसका महासचिव डा. बेदुराम भुसालका अनुसार पार्टीले एमालेले जितेका ५० प्रतिशत पालिकामा दाबी गरेको छ । तर, कांग्रेस र माओवादीका नेताहरूले यो सम्भव नहुने दोहो¥याए ।
एसका महासचिव भुसालका अनुसार पार्टीले ७५३ वटै पालिकामा सङ्गठन विस्तार गरेको छ । भुसालका अनुसार ६ हजार ७४३ वडामा एकीकृत समाजवादीको सङ्गठन विस्तार भएकाले एमालेले अघिल्लो स्थानीय तह निर्वाचनमा जितेकामध्ये ५० प्रतिशत पालिकामा स्वाभाविक दाबी गरिएको हो ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेले २९४ पालिका जितेको थियो । यसको आधा अर्थात् १४७ पालिकामा नेकपा एसको प्रमुख पदमा दाबी छ ।
भुसालका अनुसार एमालेबाट ५० प्रतिशत कार्यकर्ता आफ्नो पार्टीमा आएका छन् । तर, वास्ताविकता भने उनले दाबी गरेजस्तो नरहेको गठबन्धन दलका नेताहरू बताउँछन् ।
कुन प्रदेशमा कसको साथ ?
पोखरा या काठमाडौं महानगरपालिकामध्ये एउटामा नेकपा एसको दाबी छ । तर, गण्डकी प्रदेशभित्र एक जना पालिका उपप्रमुख मात्र नेकपा एसको पक्षमा खुलेकी छन् ।
गण्डकी प्रदेशमै नेकपा एसको पक्षमा खुल्ने स्याङ्जाको आँधीखोला गाउँपालिका उपाध्यक्ष प्रमिला पौडेल मात्र हुन् । पौडेलसहित नेकपा एसको पक्षमा २४ वटा पालिकाका प्रमुख र उपप्रमुख मात्र खुलेका छन् ।
नेकपा एसको पक्षमा प्रदेश १ बाट इलामको सूर्योदय नगरपालिकाका प्रमुख रनबहादुर राई र उदयपुरको त्रियुगा नगरपालिका प्रमुख बलदेव चौधरी मात्र खुलेका छन् ।
बाग्मती प्रदेशमा काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापा, रामेछापको मन्थली नगरपालिकाका प्रमुख रमेशकुमार बस्नेत, काभ्रेको मण्डन–देउपुर नगरपालिका प्रमुख टोकबहादुर वाइबा, मकवानपुरको इन्द्रसरोवर गाउँपालिका प्रमुख जीवन लामा, कैलाश गाउँपालिका प्रमुख टंक मोक्तान, धादिङको धुनीबेँसी नगरपालिका प्रमुख बालकृष्ण आचार्य र गल्छी गाउँपालिकाका अध्यक्ष कृष्णहरि श्रेष्ठ एकीकृत समाजवादी पार्टीमा लागेका छन् ।
कर्णाली प्रदेशबाट डोल्पाको ठूलीभेरी नगरपालिकाका प्रमुख गणेशबहादुर शाही, दैलेखको महाबु गाउँपालिका अध्यक्ष जंगबहादुर शाही, सल्यानको सिद्धकुमाख गाउँपालिका अध्यक्ष चित्रबहादुर चलाउने, कालीकोटको नरहरिनाथ गाउँपालिका प्रमुख धीरबहादुर विष्ट, शुभकालिका गाउँपालिका अध्यक्ष खडानन्द चौलागाईं एकीकृत समाजवादीमा लागेका छन् ।
सुदूरपश्चिम प्रदेशबाट अछामको साँफेबगर नगरपालिकाका प्रमुख कुलबहादुर कुँवर, कंचनपुरको बेदकोट नगरपालिकाका प्रमुख अशोककुमार चन्द, पुनर्वास नगरपालिकाका प्रमुख जीवनराम थापाले नेकपा एसलाई साथ दिएका छन् ।
त्यस्तै, डडेल्धुराको नवदुर्गा गाउँपालिकाका अध्यक्ष कवीन्द्रबहादुर विष्ट, अमरगढी नगरपालिकाका उपप्रमुख सङ्गीता भण्डारी, बैतडीको पुर्चौडी नगरपालिकाका प्रमुख रणबहादुर कुँवर, अछामको चौरपाटी गाउँपालिकाका अध्यक्ष हर्कबहादुर साउद, बैतडीको सिगास गाउँपालिकाका अध्यक्ष हरिसिंह धामी, बझाङको केदारस्यूँ गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर भण्डारी र उपाध्यक्ष निशा धामी नेकपा एसको पक्षमा खुलेका छन् ।
२४ वटा पालिकाका नेतृत्व नेकपा एसको पक्षमा खुलेको भए पनि ती पालिकामा समेत अन्य दलले दाबी गरेपछि सो पार्टिका नेताहरू गठबन्धन आवद्ध दलहरूसँग असन्तुष्ट छन् ।

प्रतिक्रिया दिनुहोस्