गठबन्धनसँग किन कुँडियो जसपाको मन ?



काठमाडौं । आसन्न स्थानीय तहको निर्वाचनमा तालमेलको मोडालिटीबारे सत्तारूढ दलहरूबीच तारन्तार छलफल चलिरहेको छ । सत्ता गठबन्धनका दलहरूले पटकपटक तालमेल गर्ने भने पनि व्यवहारमा भने फरक देखिएको छ ।
गठबन्धनमा आफ्नो दललाई बेवास्ता गरिएको भन्दै जसपाले गठबन्धनबाहिर गएर धेरै ठाउँमा एकता गर्ने निर्णय गरिसकेको छ । जसपाले कतिपय ठाउँमा उम्मेदवार नै खडा गरिसकेको छ भने कति ठाउँमा मित्रवत् ढंगले प्रतिस्पर्धा गर्ने सहमति गरेको छ । शुक्रबारदेखि यो सिलसिला अझ बढेको छ ।
२ वैशाख (शुक्रबार)मा बाँकेमा गठबन्धन नगर्ने घोषणा गरेको जसपाले त्यसको भोलिपल्ट शनिबार कैलालीमा र पर्सामा पनि गठबन्धन नगर्ने निर्णय गर्‍यो ।
पर्सा र नेपालगंजमा प्रमुख जसपालाई नदिने कांग्रेसले अडान राखेपछि दुवैले अलगअलग निर्वाचन लड्ने निर्णय गरिसकेका छन् ।
नेपालगंजको प्रमुख जसपालाई नदिने अडान कांग्रेसले राखेको हुँदा गठबन्धनबाट बाहिरिनुपरेको जसपाका जिल्ला अध्यक्ष कमुरुद्धिन राईले जनाएका छन् भने पर्सामा मित्रवत् प्रतिस्पर्धा गर्दै निर्वाचनमा लड्ने सहमति भएको पर्सा जसपा अध्यक्ष रामनरेश यादवले बताए । कैलालीमा जसपाले ५ दलीय गठबन्धनमा नरहने जनाइसकेको छ ।
कहाँ-कहाँ मागेको छ जसपाले ?
२०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा जसपाले १० प्रमुख, ५ उपप्रमुख, १६ गाउँपालिका अध्यक्ष, २० उपाध्यक्ष र १९१ वडा अध्यक्ष जितेको थियो । मधेस प्रदेशमा मात्र जसपाले नगर प्रमुख र गाउँपालिका अध्यक्ष गरी २६ पालिका प्रमुख पद जितेको थियो ।
मधेसमा आफ्नो पार्टी अहिले बलियो रहेको जनाउँदै पुनः मधेसका जिल्लामा प्रमुख ठाउँमा प्रमुख पदमा आफ्नो पार्टीलाई स्थान दिन जसपाको माग छ ।
जसपाका प्रदेश सांसद मनीष सुमनका अनुसार जसपाले वीरगंज, विराटनगर, नेपालगंज, जनकपुर, कलैया र जितपुर सिमरामा आफ्नो पार्टीको भागमा प्रमुखको माग गरेको छ ।
उनले भने, ‘यदि जसपाले माग गरेको ठाउँमा सम्मानजनक स्थान पाएन भने हामी गठबन्धनबाहिर जानेछौँ किनकि जसपा सङ्गठन भएको पार्टी हो बरु एक्लै निर्वाचन लड्छ ।’
गठबन्धनलाई टिकाउनका लागि जसपा अहिलेसम्म लचिलो मात्र बनेको उनको भनाइ छ । ‘निर्वाचनका बारेमा गठबन्धनबीच खासगरी ३ वटा आधारमा सिट बाँडफाँट गर्ने सहमति भएको थियो’, उनी भन्छन्, ‘त्यो सहमतिमा अघिल्लो निर्वाचनमा निर्वाचित, निकटतम प्रतिद्वन्द्वी र राम्रा छवि भएकालाई दिने सहमति थियो । यो सहमति भंग भएमा जसपाले पनि सबै सहमति भंग गर्छ ।’
किन रुष्ट बन्यो जसपा ?
मधेस प्रदेशसहित धेरै ठाउँमा जसपाको उपस्थिति छ । यसअघिको स्थानीय तहको निर्वाचनमा महानगरसहित वडासम्म जसपाले जितेको उसको तर्क छ । त्यस कारण नेकपा (एकीकृत समाजवादी)भन्दा बढी स्थानमा भागबण्डाको माग गरिरहेको जसपा स्रोत बताउँछ ।
तर, त्यसका बाबजुद पनि गठबन्धनमा जसपालाई बेवास्ता गर्दै एकीकृत समाजवादीलाई बढी प्राथमिकता दिइएको देखिएको हुँदा जसपा असन्तुष्ट बन्दै गएको हो ।
जसपा सांसद मोहम्मद इस्तियाक राईले महानगरबाहेक अन्य ठाउँमा गठबन्धन हुने कम सम्भावना रहेको बताए । खासगरी एकीकृत समाजवादी पार्टीले धेरै ठाउँमा माग गरिरहेको हुनाले गठबन्धनबीच आपसी मतभेद बढिरहेको उनको भनाइ छ । सांसद राईले भने, ‘यही कारणले कम्तीमा गठबन्धन जोगाउनका लागि भए पनि महानगरमा बाँडफाँट हुन्छ, अन्य ठाउँमा गाह्रो छ ।’
गठबन्धनले स्थानीय तहमा ‘टेस्ट’ भई नसकेको पार्टीलाई बढी प्राथमिकता दिँदा भागबण्डामा समस्या आएको जसपा प्रदेश सांसद सुमन बताउँछन् । सांसद सुमनका अनुसार जसपा गठबन्धनप्रति अहिलेसम्म धेरै लचिलो छ । त्यही भएर जसपा अझै पनि गठबन्धनको उचित निर्णयको पर्खाइमा रहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्