पश्चिमा देशले रुसमा लगाएका प्रतिबन्धहरू असफल : पुटिन



एजेन्सी । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमा देशले आफ्नो राष्ट्रमाथि लगाएका प्रतिबन्धहरू असफल भएको बताएका छन् । यस्ता प्रतिबन्धले उल्टै पश्चिमा मुलुकको अर्थतन्त्र खस्किएको पुटिनको भनाइ छ ।

पश्चिमाले प्रतिबन्धका कारण रुसको वित्तीय-आर्थिक अवस्था छिट्टै उथलपुथल गर्ने, बजारमा त्रास फैलाउने, बैंकिङ प्रणाली ध्वस्त हुने र अभाव सिर्जना हुने अपेक्षा गरेको तर उनीहरूको रणनीति अफसल भएको पुटिनले बताए । पुटिनले सोमबार वरिष्ठ अर्थ अधिकारीहरूसँग भिडियो कलमार्फत टेलिभिजनमा सम्बोधन गर्दै यस्तो टिप्पणी गरेका हुन् ।

रुसले गएको फेब्रुअरी २४ मा युक्रेनमाथि ‘विशेष सैन्य कारबाही’ सुरु गरेपछि पश्चिमा देशहरूले रुसको कर्पोरेट र वित्तीय प्रणालीमा प्रतिबन्धहरू लगाएका छन् । रुसी मुद्रा रुबल बलियो भएको र वर्षको पहिलो त्रैमासिकमा देशले ऐतिहासिक उच्च व्यापार बचत ५८ अर्ब डलर रेकर्ड गरेको उनले उल्लेख गरे ।

पुटिनले उपभोक्ता मूल्यहरूमा भइरहेको तीव्र वृद्धिलाई भने स्वीकार गरेका छन् । उनले १७.५ प्रतिशतले मूल्यवृद्धि भएको बताउँदै मुद्रास्फीतिको प्रभावलाई कम गर्न सरकारलाई तलब र अरू भुक्तानीहरूलाई मूल्यवृद्धि रोक्ने गरी समायोजन गर्न निर्देशन दिएका छन् । यसैबीच, विश्व बैंकले यो वर्ष रुसी अर्थतन्त्र ११ प्रतिशतभन्दा बढीले संकुचित हुने अनुमान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्