चुनावमा हारपछि ट्रम्पले भने, ‘मिलेर काम गर्न तयार छु’



काठमाडौं : अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले डेमोक्र्याटहरुसँग मिलेर काम गर्न तयार रहेको बताएका छन् । अमेरिकी मध्यावधि निर्वाचनमा संसद्को तल्लो सदन 'हाउस अफ रिप्रिजेन्टेटिभ'मा आफ्नो दल रिपब्लिकन पार्टी पराजित भएपछि राष्ट्रपति ट्रम्पले डेमोक्रयाट्सहरूसँग मिलेर काम गर्ने बताएका हुन् ।

राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले आफूमाथि दबाब बढेको बताए । मंगलबार भएको मध्यावधि निर्वाचनमा सत्तारुढ रिपब्लिकन पार्टीले संसद्को तल्लो सदनमा नियन्त्रण गुमाएको थियो। डेमोक्रेटिक पार्टीले बहुमत हासिल गरेपछि राष्ट्रपति ट्रम्पलाई धक्का लागेको छ ।

उनलाई अब विना अड्चन आफ्ना एजेन्डा अघि बढाउन समस्या पर्नेछ। हाउसमा बहुमतका लागि २ सय १८ सिट आवश्यक पर्नेमा डेमोक्र्याटिक पार्टीले त्यसभन्दा बढी सिट जितेको छ। हाउसको ४३५ सिटका लागि चुनाव भएको थियो ।

राष्ट्रपति ट्रम्पको दल रिपब्लिकन पार्टीले सिनेटमा भने बहुमत हासिल गरेको छ। सिनेटको १०० स्थानमध्ये ३५ सिटमा चुनाव भएको थियो। चुनावी नतिजापछि सिनेटमा डेमोक्रेटिकको ४५ र रिपब्लिकनको ५१ सिट भएको छ । मध्यावधि निर्वाचनलाई राष्ट्रपति ट्रम्पको दुई वर्षे कार्यकालको जनमत संग्रहका रूपमा लिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्