रोड रेसमा मुकेश र सन्तोषी पहिलो



काठमाडौं । मुकेशबहादुर पाल र सन्तोषी श्रेष्ठ तेश्रो मदन भण्डारी स्मृति पाँच किलोमिटर रोड रेसको खुलातर्फ पहिलो भएका छन्।

सनिवार आयोजित रेसको पुरुषतर्फ मुकेशले निर्धारित दूरी १५ मिनेट २९।०६ सेकेन्डमा पूरा गरे। गजेन्द्र राई (१५ मिनेट ४०.४० सेकेन्ड) दोश्रो तथा श्रीकास राई (१५ मिनेट ४३.०९ सेकेन्ड) तेश्रो भए ।

१३औँ दक्षिण एसियाली खेलकुद (साग)की स्वर्ण विजेता सन्तोषीले निर्धारित दूरी तय गर्न १८ मिनेट १३।५९ सेकेन्ड समय खर्चिन। १३औँ सागकै रजत विजेता पुष्पा भण्डारी (१८ मिनेट ४२.४५ सेकेन्ड)ले रजत तथा निर्मला केसी (१९ मिनेट ४४.४३ सेकेन्ड)ले काँस्य जिते ।

खुलामा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २५ हजार, १२ हजार र आठ हजार नगद पुरस्कार प्राप्त गरे। रन क्लब नेपाल र नेपाल खेलकुद महासंघद्वारा संयुक्त आयोजित प्रतियोगिताको स्कुलतर्फ छात्रमा विश्वराम कुँवर पहिलो भए।

उनको टाइमिङ १७ मिनेट ०९.०७ सेकेन्ड रह्यो । ईश्वरचन्द्र बस्नेत (१७ मिनेट २३.१६ सेकेन्ड) दोश्रो तथा विकेश घिमिरे (१७ मिनेट २८.०८ सेकेन्ड) तेश्रो बने।

छात्रामा निर्धारित लक्ष्य २० मिनेट ३५ सेकेन्डमा पूरा गर्दै सरस्वती बोहरा शीर्ष स्थानमा रहिन् । सोनु घतानी (२१ मिनेट ५६.३० सेकेन्ड) दोश्रो तथा अन्जु खड्का (२२ मिनेट ५८ सेकेन्ड) तेश्रो भए।

छात्रछात्रामा पहिलो हुनेले १० हजार, दोस्रोले ५ हजार र तेस्रोले तीन हजार नगद पुरस्कार पाए। दौड ठमेलस्थित छायाँ सेन्टरबाट सुरु भइ पुनः त्यही आएर टुंगिएको थियो । दौडमा २ सय ५० प्रतिस्पर्धी सहभागी भएको आयोजकले जनाएको छ।

विजेतालाई पूर्वमन्त्री एवं नेकपा एमालेका नेता भानुभक्त ढकाल, नेपाल खेलकुद महासंघका संयोजक पर्शुराम बस्नेत, रन क्लबका अध्यक्ष सन्तोष श्रेष्ठलगायतले पुरस्कृत गरे। सो अवसरमा पूर्वधावक ओलम्पियन मुकुन्दहरि श्रेष्ठ र करातेका ओमकृष्ण प्रसाइँलाई प्रशंसा पत्रसहित सम्मान गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्