२ अर्ब ३६ करोडको चिया निर्यात



काठमाडौं । नेपालबाट विभिन्न मुलुकमा २ अर्ब ३६ करोड रुपैयाँको चिया निर्यात भएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको ९ महिना (चैतमसान्त)मा सो रकमको चिया निर्यात भएको हो । गतवर्ष सो अवधिमा ३ अर्ब ६ करोड रुपैयाँको चिया निर्यात भएको थियो ।

गतवर्षको सो अवधिको चिया निर्यातसँग तुलना गर्दा यसपटक ३० करोड मूल्यको चिया कम निर्यात भएको छ। बोर्डको तथ्याङ्कअनुसार गतवर्षको तथ्याङ्क हेर्दा आर्थिक वर्ष २०७७/०७८ मा नेपालबाट विभिन्न मुलुकमा ३ अर्ब ७९ करोड ९७ लाख मूल्यको चिया निर्यात भएको छ। बोर्डका कार्यकारी निर्देशक विष्णुप्रसाद भट्टराईले चालु आर्थिक वर्षभरिको तथ्याङ्क आउँदासम्ममा गत आर्थिक वर्षको भन्दा चालु आर्थिक वर्षमा चियाको निर्यात बढ्ने बताए। यसपटक चियाको गुणस्तर उत्पादनका लागि बोर्डले चिया कृषकलाई तालिम प्रशिक्षण दिएको हुँदा चियाको गुणस्तर बढेकाले निर्यात पनि बढ्ने निर्देशक भट्टराईको भनाइ छ।

उनले नेपालको उत्पादन चिया ९० प्रतिशत चिया भारत निर्यात हुने गरेको जानकारी दिए । निर्देशक भट्टराईले विदेशी मुद्रा आर्जन र ग्रामीण अर्थतन्त्रको मुख्य आधार चिया उद्योग भएको बताए। उनले गुणस्तरीय उत्पादन, अन्तर्राष्ट्रिय बजार, व्यावसायिक तथा दिगो खेती प्रविधि, अनुसन्धान एवम् विकासका थुप्रै चुनौती रहेको बताए। नेपाली चिया अन्तर्राष्ट्रिय बजारमा नम्बर वान बनाउन बोर्डलाई सरकारको साथ र सहयोग आवश्यक भएको उनको भनाइ छ। नेपाली चियाको ९० प्रतिशतभन्दा बढी निकासी भारतसँग छ।

निर्देशक भट्टराईले भने, ‘प्रत्येक वर्ष निर्यातमा झन्झटिलो प्रक्रियाका साथै नेपाली चिया उच्च गुणस्तरको हुँदा हुँदै पनि अति नै न्यून मूल्यमा बिक्री गर्नुपर्ने बाध्यता छ ।’ यसैकारण नेपाली चिया क्षेत्र क्षमताअनुसार नाफामूलक बन्न नसकेको उनको भनाइ छ। उत्पादन सुरु भएको १ वर्ष नाघिसक्दा पनि नेपालमा चियाको उत्पादन तथा प्रशोधन प्रविधिसम्बन्धी विषयमा आवश्यक अनुसन्धनात्मक कार्यहरू नहुँदा नेपालको आफ्नै चियाको जात एवं प्रविधि विकास हुन सकिरहेको छैन। उनले भने, ‘चिया उत्पादन तथा प्रशोधनसँग सम्बन्धित क्षेत्रमा आवश्यक बिजुली तथा सिँचाइ पूर्वाधारको अभाव छ।’

सिँचाइ पूर्वाधारको अभावले निर्यात प्रवद्र्धनमा आवश्यक नतिजा दिनसक्ने निर्देशक भट्टराईको भनाइ छ । उनले नेपालमा चियाको गुणस्तर चेकजाँच गर्न अन्तर्राष्ट्रिय मापदण्डअनुसारको प्रयोगशाला नभएको बताए । उनले कृषिजन्य उद्योगसरह सहुलियत ऋणलगायतका सुविधाबाट नेपाली चिया क्षेत्र वञ्चित भएको बताए । बढ्दो व्यापार घाटा कम गर्न चियाको गुणस्तरीय उत्पादनमा वृद्धि गरी निर्यात गर्नुको विकल्प नभएको उनको भनाइ छ।

छिमेकी मुलुकहरु भारत, श्रीलंकालगायतका राष्ट्रले चियामा भ्यालु एड गरी प्रतिस्पर्धी बजारमा आफ्नो स्थान सुरक्षित गरेको उनको दाबी छ । यसैगरी उनले आम उपभोक्ताको मागअनुसार संख्यात्मक उत्पादनमा मात्र नभएर तयारी चियाको विशिष्टीकृत गुणस्तरमा ध्यान दिन अति जरुरी रहेको उनले बताए । निर्देशक भट्टराईका अनुसार चियाको आन्तरिक खपत अति नै न्यून छ।

आन्तरिक बजार प्रवद्र्धन गरी खुला बजार नीति अनुरुप दीर्घकालीन समस्या समाधानका लागि चीन, रुस, ईयू, अमेरिकालगायतका मुलुकसँग जीटूजी सम्झौता गरी त्यहाँका नेपाली कूटनीतिक नियोगमार्फत नेपाली चियाको ब्रान्ड प्रवद्र्धन गर्दा वार्षिक १० अर्ब रुपैयाँको चिया निर्यात गर्न सकिने निर्देशक भट्टराईको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्