खेलाडीलाई कारबाही नगर्न अल्मुताइरीको एन्फालाई आग्रह



काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुलाह अल्मुताइरीले खेलाडीलाई कारबाही नगर्न आग्रह गरेका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) लाई पत्र लेखेर अल्मुताइरीले आफूमाथि आरोपित गर्ने १० खेलाडीलाई माफी दिएको भन्दै यस्तो आग्रह गरेका हुन् ।

खेलाडीसँग पछिल्लो समय उत्पन्न विवादबारे अलमुताईरीले एन्फालाई पत्र पठाएका हुन् । मुख्य प्रशिक्षक अलमुताईरीको कार्यशैलीमा असन्तुष्टि जनाउँदै एएफसी एसियन कप छनोटको लागि बन्द प्रशिक्षणमा रहेका १० खेलाडीले प्रशिक्षण छाडेपछि उनी विवादमा तानिएका थिए ।

१० खेलाडीले क्याम्प छाडेपछि अलमुताईरीले थप १७ खेलाडीलाई प्रशिक्षणमा डाकेर तयारी गरिरहेका छन् । एन्फाका महासचिव इन्द्रमान तुलाधरलाई सम्बोधन गर्दै लेखिएको पत्रमा अलमुताईरीले प्रशिक्षण छाडेका खेलाडीलाई कारबाही नगर्न आग्रह गरेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्