नेपाल जिम्बाब्बे ‘ए’सँग पहिलो खेलमै पराजित



काठमाडौं । पहिलो टी-ट्वान्टीमा नेपाल पाहुना टोली जिम्बावे ए सँग पराजित भएको छ । टियु क्रिकेट मैदानमा आइतबार भएको खेलमा नेपाललाई जिम्बावे ए ले ६ विकेटले हराएको हो । नेपालले दिएको १ सय ८२ रनको लक्ष्य जिम्बावे ए ले १८ ओभर ५ बलमा ४ विकेट गुमाएर १ सय ८२ रन बनायो ।

जिम्बावेका लागि तडिवानाशे मरुमानीले सर्वाधिक ५६ रनको अर्धशतकीय इनिङ खेले । यस्तै कप्तान टोनी मुनयोङ्गाले ५० रनको इनिङ खेले । इनोसेन्ट कैयाले ४७ रन जोडे । नेपालका बसिर अहमदले २ तथा कप्तान सन्दीप लामिछाने र करण केसीले १र१ विकेट लिए । नेपालका लागि बसिर अहमदले सर्वाधिक २ विकेट लिए । उनले ३.५ ओभरमा २२ रन खर्चिए।

त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ५ विकेट गुमाएर १ सय ८१ रन बनाएको थियो । नेपालका लागि आदील आलमले अविजित रहदै सर्वाधिक ४७ रन बनाए । यस्तै कुशल भुर्तेलले ४६ रन जोडे । रोहित पौडेलले ३९ रन जोड्दा दिपेन्द्र सिंह ऐरीले २८ रन बनाए ।

आसिफ शेख ९ रनमा आउट हुँदा आरिफ शेख २ रनमा आउट भए । करण केसी ४ रनमा अविजित रहे । जिम्बावेका ब्राड इभान्स, लुक जोंग्वे, ब्राण्डन माभुता र जोन मासराले १र१ विकेट लिए ।

जितसँगै जिम्बावे ए ले ३ खेलको सिरिजमा १-० को अग्रता बनाएको छ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारीमा स्वरूप नेपालले जिम्बावे ए सँग सिरिज खेलिरहेको हो ।

सिरिज अन्तर्गत नेपालले पाहुना टोलीसँग दोस्रो खेल सोमबार र तेस्रो खेल बुधबार खेल्नेछ । टी-ट्वान्टीपछि नेपालले एकदिवसीय सिरिज खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्