मधेसको छायामा मिथिला सङ्घर्ष



काठमाडौं । जनकपुरमा मिथिला राज्यका लागि सङ्घर्ष भएको एक दशक भयो तर न मिथिला राज्य बन्यो, न त शहादत प्राप्त गर्नेहरूको सपना नै पूरा भयो । १८ वैशाख २०६९ मा तत्कालीन मिथिला राज्य सङ्घर्ष समितिले जनकपुरको रामानन्द चोकमा मिथिला राज्य स्थापनाका लागि शान्तिपूर्ण रूपमा धर्ना दिँदै थियो।

धर्ना दिइरहँदा ठूलो बम विस्फोट भयो र तत्कालै ५ जनाले शहादत प्राप्त गरे। विस्फोटबाट ३२ जनाभन्दा बढी घाइते भए । बम विस्फोटमा जनकपुरकी प्रख्यात कलाकार रञ्जु झासहित सुरेश उपाध्याय, दीपेन्द्र दास, झगरु मण्डल र विमल शरणको निधन भयो । यही कारण १८ वैशाखलाई जनकपुरले कालो दिनको रूपमा स्मरण गर्छ । मिथिला राज्य स्थापनाका लागि सङ्घर्षरत अभियानीहरू उक्त दुखान्त घटनाबाट दशकौँ पछि पनि मर्माहत छन्। यद्यपि, उनीहरू यसबाट थप ऊर्जा मिलेको पनि बताउँछन् । देशमा सङ्घीयता र राज्यको प्रारूपबारे बहस भइरहँदा जनकपुरमा पहिचान, सांस्कृतिक, अधिकार र मिथिला राज्यको माग गर्दै दबाबमूलक आन्दोलन चल्दै थियो।

सोही आन्दोलनलाई दबाउन बम विस्फोट गराइएको दाबी गरिन्छ। यद्यपि, बमकाण्डमा संलग्न रहेको आरोपमा जिल्ला अदालत धनुषाले पूर्वराज्यमन्त्री सञ्जय साह टक्लासहित ७ जनालाई जन्मकैद र १ जनालाई ५ वर्षको जेल सजाय सुनाएको छ । अहिले प्रदेश २ को नाम मधेस प्रदेश राखिएको छ। स्थायी राजधानी जनकपुर तोकिए पनि यस प्रदेशमा भाषाबारे चर्को बहस छ । प्रदेश २ को नाम मिथिला हुनुपर्ने आवाज पनि सशक्त थियो।

मधेसभित्र मिथिला खोजेको वा मिथिलाभित्र मधेस खोजेको भन्नेमा विवाद अहिले पनि छ। मिथिला राज्य सङ्घर्ष समितिका संयोजक परमेश्वर कापडी मिथिला राज्यको माग कुनै राजनीतिक दलभन्दा पनि बुद्धिजीवीहरूद्वारा सञ्चालित र मिथिलाको कला, संस्कृति, भाषा, पहिचान र परम्परालाई सम्बद्धर्धनका लागि भएको बताउँछन् । तर, मिथिला राज्यका विपक्षीहरू मधेसभित्र मिथिला, भोजपुरा, अवैधलाई अटाउन सकिए पनि मिथिलाभित्र अवधि र भोजपुरालाई अटाउन नसकिने तर्क गर्छन्।

जनकपुरमा मिथिला राज्यको आन्दोलन चलिरहँदा यसको सीमा कस्तो हुने, मिथिला राज्यले मिथिला क्षेत्रको गैरमैथिलीलाई कसरी सम्बोधन गर्ने, मुस्लिमहरूको अवस्था के हुने, सीमान्तकृत समुदायको प्रतिनिधित्व कसरी गर्नेजस्ता सवाल पनि तेर्सिएका छन्। यो भाषिक आन्दोलन मात्र हो भन्ने पनि सुनिँदै आएको छ । सङ्घर्ष समितिले यी प्रश्नको जबाफ दिने प्रयास गरे पनि जनकपुरबाहिर भने यस विषयमा पर्याप्त बहस हुन नसकेको स्वयं अभियानीहरू बताउँछन्। धनुषा, महोत्तरी, सिरहा, सप्तरीको मिथिला राज्य बने त्यो कमजोर राज्यका रूपमा स्थापित हुने विश्लेषण पनि थियो। मिथिलाको जीवन्त, मधुर र इतिहास बोकेको भाषा–साहित्य छ।

सङ्घीयताको बहस प्रारम्भ हुनासाथ यस्तो गौरवबोधबाट ओतप्रोत अभियानीहरू मिथिला राज्य स्थापना हुनेमा आशावादी भए । माओवादीको तात्कालिक साङ्गठनिक संरचना र सङ्घीयतासम्बन्धी प्रस्तुत कतिपय खाकाले पनि मिथिला राज्यको मागमा ऊर्जा थपेको थियो। मैथिली अभियानी तथा साहित्यकार सुजीत झा मिथिला राज्यको माग अझै जीवित रहेको बताउँछन्। ‘मिथिला राज्यको माग रोकिएको छैन, एक न एक दिन यसले आफ्नो औपचारिक स्वरूप ग्रहण गर्छ’, उनले भने। झाका अनुसार मिथिलाको छुट्टै पहिचान रहेकाले भोलि गएर मिथिला राज्य बन्न सक्छ।

‘मधेसको प्रामाणिकता मिथिलाको तुलनामा धेरै कम छ। मिथिलाको आफ्नो भाषा छ, आफ्नो संस्कृति छ, आफ्नो साहित्य छ, आफ्ना गीत छन् । तर, मधेसको के छ ? मधेस प्रदेश बनाउने सबै नेताहरू आफैँ मिथिलाबासी हुन्’, संयोजक कापडी बताउँछन्।

कापडी भन्छन्, ‘माओवादीले पनि द्वन्द्वकालमा मिथिला राज्य बनाउने भनेको थियो । तर, राज्य पुनर्संरचना आयोगमा उसले पेस गरेको प्रस्तावमा मिथिला राज्य थिएन । मधेसकेन्द्रित दलहरूले पनि मिथिलालाई बेवास्ता गर्दै समग्र मधेस, एक प्रदेश भने।’ मधेसकेन्द्रित दलहरूको पूर्वाग्रह, लेनदेन र गणितीय खेलका कारण मिथिला क्षेत्र मधेस बनेको टिप्पणी उनको छ । ‘सस्तो लोकप्रियता कमाई आउँदो निर्वाचनमा भोट तान्ने दाउले मधेस प्रदेश घोषित गरिएको छ’, उनले भने ।

प्रतिक्रिया दिनुहोस्