काठमाडौं महानगर : एमालेको ‘ह्याट्रिक’ कि कांग्रेसको ‘ब्रेक’ ?



काठमाडौं । महानगरपालिका बनेको ३० वर्षमा काठमाडौंले चौथो प्रमुख पाउँदै छ। स्थानीय निकाय हुँदा पीएल सिंह र केशव स्थापित महानगर प्रमुख भए। स्थानीय तह भएपछि भने विद्यासुन्दर शाक्य प्रमुख भए। अब यही ३० वैशाखमा हुने निर्वाचनपछि काठमाडौंले चौथो प्रमुख पाउने भएको हो ।

प्रमुख पदमा नयाँ र पुराना प्रतिस्पर्धी चुनावी मैदानमा छन्। यस पटक पुराना प्रतिस्पर्धीचाहिँ स्थापित हुन् । महानगरका पूर्वप्रमुख स्थापित दोस्रो पटक प्रमुख हुन चाहन्छन्। उनी चुनावी मैदानमा उत्रिइसकेका छन् । उनलाई चुनावी मैदानमा उतार्ने दल नेकपा एमाले हो । स्थापित ‘हेभी वेट’ उम्मेदवार हुन्। यस पटक पनि निर्वाचन जितेर सङ्घीय राजधानीसमेत रहेको काठमाडौं महानगरमा ‘ह्याट्रिक’सहित एमाले लाल झण्डा फहराउने लक्ष्यमा छ।

स्थापितले पार्टीको मिसन पूरा गर्न सक्नेमा पार्टी अध्यक्ष केपी शर्मा ओली विश्वस्त देखिन्छन्। स्थापित पनि प्रमुख पदमा प्रतिस्पर्धी नै नभएको दाबी गर्दै छन्। निर्वाचन सहजै जित्नेमा उनी बढी विश्वस्त देखिएका छन् । १२ वैशाखमा उम्मेदवारी दर्तापछि भनेका स्थापितले भनेका थिए, ‘म चुनाव जित्नेमा ढुक्क छु । २०५४ सालमै ८४ हजार ६०० भोट ल्याएको मान्छे हुँ । म प्रमाणित मान्छे पनि हुँ । यस पटक दोब्बर मतले विजयी हुन्छु ।’ स्थापितको दाबी कति सत्य नजिक छ ? अबको ९ दिनमा हुने निर्वाचनपछि प्रष्ट हुनेछ । २०७४ सालमा भएको निर्वाचनमा प्रमुख जितेका एमालेका शाक्यले ६४ हजार ९१३ मत पाएका थिए शाक्यले पाएको सबै मत एमालेको भने होइन । राप्रपाको पनि हो ।

त्यतिबेला एमाले–राप्रपा तालमेल भएको थियो । यस पटक भने यी २ पार्टीबीच निर्वाचनमा तालमेल छैन । अर्कोतिर एमाले विभाजित छ । यसले गर्दा एमालेको मत घट्ने कतिपयको विश्लेषण छ। उक्त निर्वाचनमा कांग्रेसका राजुराज जोशीले शाक्यले भन्दा १९ हजार ६४४ मत कम ४५ हजार २६९ मत पाएका थिए । नेकपा (माओवादी केन्द्र)का सर्वोत्तम डङ्गोलले ७ हजार ९०६ मत र तत्कालीन नयाँ शक्ति नेपाल (हाल जसपा)का पवित्र बज्राचार्यले ६ हजार ५० मत पाएका थिए। अहिले कांग्रेससँगै यी २ दल र एमाले फुटेर बनेको नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चा पनि एक ठाउँमा छन् । यी तथ्यका आधारमा स्थापितले भनेजसरी निर्वाचन जित्न उनलाई सहज नभएको विश्लेषण हुन थालेको छ। स्थापितको मुख्य प्रतिस्पर्धीको रूपमा नेपाली कांग्रेसकी सिर्जना सिंहलाई हेरिएको छ ।

सिंह प्रजातन्त्र पुनर्वहालीका लागि भएको पहिलो जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहकी बुहारी र कांग्रेस पूर्वमहामन्त्री प्रकाशमान सिंहकी पत्नी हुन् । उनी गठबन्धनकी साझा उम्मेदवार हुन्। उनलाई २०५४ र २०७४ सालमा भएको एमालेको जितमा ‘ब्रेक’ लगाउँदै ३० वर्षपछि काठमाडौं महानगरमा कांग्रेसको ४ तारे झण्डा फहराउने जिम्मेवारी छ। माओवादी, जसपा, एकीकृत समाजवादी र जनमोर्चाको साथ हुने भएकाले स्थापितविरुद्ध सिंह भारी हुन सक्ने आँकलन भइरहेकै बेला पछिल्लो समय स्थापित स्वयंले दिइरहेका अभिव्यक्ति विवादास्पद भइरहँदा सिंहका पक्षमा माहोल बन्न जाने विश्लेषण पनि गरिएको छ । सिंहका ७ सङ्कल्प सार्वजनिक भइसकेका छन् ।

प्रतिबद्धतापत्र पनि सार्वजनिक भएको छ, जहाँ उनले गृहिणी भत्ता, विधुर भत्ता, निःशुल्क खानेपानी, सार्वजनिक शौचालयको व्यवस्था, श्रमिकका छोराछोरीलाई सामुदायिक विद्यालयमा डे–केयर सेन्टरमा राख्ने व्यवस्था मिलाउनेजस्ता एजेन्डा छन् । युवालाई रोजगारी दिने पनि उनको एजेन्डा छ।मतदाता प्रभावित पार्न सक्ने खालका यी एजेन्डाहरू लिएर सिंह चुनावी अभियानमा छन्। उनले निर्वाचन जित्न गठबन्धन भएको हुँदा असहज नभएको दाबी गर्दै आएकी छन् । तर, दाबी गरेअनुसार निर्वाचन जित्न भने सिंहलाई पनि त्यति सहज छैन। किनभने प्रतिस्पर्धी स्थापित काठमाडौंको माइतीघरमा रहेका घर–टहरा भत्काएर मन्डला बनाएको, बानेश्वरबाट शङ्खमूलको बाटो फराकिलो बनाउनेदेखि आकाशे पुल बनाएर यसअघि नै वा वाही कमाएका महानगरका पूर्वप्रमुख हुन् ।

यस पटक स्थापितले संघ र प्रदेश सरकारको सहयकार्यमा विद्युतीय बस सेवा (बीआरटी), मोनो रेल र मेट्रो रेलसँगै उपयुक्त स्थानहरूमा साइकल लेन र साइकल पार्किङलगायत व्यवस्थित र विकसित काठमाडौंको एजेन्डासहित मतदातासँग मत मागिरहेका छन्। ‘काठमाडौंको माटोले चिनेको, अग्रगामी बाटोमा हिँडेको, हुन्छ हाम्रै जित, जनताले रोजेको, काठमाडौंले खोजेको, फेरि आयो केशव स्थापित’ भन्ने उनको चुनावी गीत छ । तर, यी २ उम्मेदवारको मत काट्ने उम्मेदवारको रूपमा बालेन्द्र शाह ‘बालेन’ चर्चामा छन् । ‘स्ट्रक्चरल इन्जिनियर’ उनी चर्चित र्‍यापर पनि हुन्।

महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार बनेका उनले स्थापित र सिंह दुवैको मत काट्न सक्ने राजनीतिक विश्लेषक प्रा.डा. लोकराज बराललाई लागेको छ। बालेन तटस्थ, युवा वर्ग र कलाकारिता क्षेत्रसँगै स्वतन्त्र बुद्धिजीवीहरूले रुचाइएका उम्मेदवार बनेका छन् । सोही कारण उनको उम्मेदवारीको असर सिंह र स्थातिपलाई पर्ने विश्लेषण बरालको छ। बालेनको भने निर्वाचन जित्ने दाबी छ । ‘९० हजार ८३५ मत ल्याएर निर्वाचन जित्छु’, तथ्याङ्क विश्लेषण गरेर उक्त दाबी गरिएको बालेन बताउँछन् । उनले काठमाडौं महानगरपालिकाको प्रमुख भए ‘चस्मा फेर्ने’भन्दा पनि ‘काठमाडौंको मुहार’ फेर्ने बताउने गरेका छन् ।

चुनावी प्रतिबद्धतापत्रमा डिजिटल सरकार, जन्म दर्ता, मृत्यु दर्ता, विवाह दर्ता जस्ता पञ्जीकरणको सेवा ‘होम डेलिभरी’ गर्ने, आइडिया बैंक स्थापना गर्ने, नेपाल भाषामा शिक्षा ८ कक्षासम्म अनिवार्य गर्नेलगायत एजेन्डा समावेश गरेका छन्। काठमाडौं महानगरमा नेवार समुदाय बाहुल्य भएका कारण उनीहरूलाई प्रभावित पार्न बालेनले नेपाल भाषामा शिक्षा कार्यक्रमलाई एजेन्डा बनाएको रूपमा हेरिएको छ । यदि बालेनले निर्वाचन जिते भने काठमाडौं महानगरको पहिलो स्वतन्त्र जनप्रतिनिधि हुनेछन् । तर, उनलाई निर्वाचन जित्न मुस्किल छ । उनका प्रमुख प्रतिस्पर्धी स्थापित र सिंह उसै पनि उनीभन्दा ‘हेभी वेट’ हुन् ।

२०७४ सालको निर्वाचनमा प्रमुख पदमै स्वतन्त्र उम्मेदवार बनेका किशोर थापाले १८ हजार ४९६ मत पाएका थिए । विवेकशील नेपाली दलकी रञ्जु दर्शनाले भने अझ बढी २३ हजार ४३९ मत पाएकी थिइन् । त्यतिबेला दर्शना प्रमुख पदमा तेस्रो भइन् । थापा भने चौथो भएका थिए । यस पटक बालेनले कस्तो मत पाउने हुन् ? यसै भन्न सकिने अवस्था भने छैन । तर, राजनीतिक विश्लेषक बराल दल देखेर वाक्कदिक्क भएका मतदाताले बालेनलाई मत दिन सक्ने बताउँछन् । यी ३ उम्मेदवारका अतिरिक्त विवेकशील साझा पार्टीकी समीक्षा बाँस्कोटा पनि काठमाडौं महानगरपालिकाको प्रमुख पदकी चर्चित उम्मेदवार हुन्। राजधानी काठमाडौंको फोहोर सफा गर्न र राजनीतिमा भएको फोहोर पनि सफा गर्न प्रमुख हुन चाहेको उनले बताउने गरेकी छन् ।

बर्सेनि बढिरहेको भ्रष्टाचारलाई नियन्त्रण गर्ने उनको पहिलो एजेन्डा छ । सुशासन र सहज सेवा प्रवाह उनको अर्को एजेन्डा हो। उनले पनि नेवाः संस्कृतिको रक्षाको एजेन्डा अघि सारेकी छन् । पूर्वगृहराज्यमन्त्री दीपकप्रकाश बाँस्कोटाकी छोरीसमेत रहेकी समीक्षाले पनि निर्वाचन जित्ने दाबी गर्दै आएकी छन् । तर, पार्टी विभाजित भएको हुँदा उनलाई पनि जित सहज भने छैन ।

प्रतिक्रिया दिनुहोस्