सेल्सबेरी डिपार्टमेन्टबाट गुणस्तरहीन ५२ केजी ड्राई फुड बरामद



 

ललितपुर :   सरकारले ललितपुरको सातदोबाटोस्थित सेल्सबेरी डिपार्टमेन्ट स्टोरको ड्राई फुड जफ्त गरेको छ।

 

तिहारमा अति आवश्यक खाद्य वस्तुको बिक्री केन्द्रको अनुगमनको कामलाई तीव्रता दिएको सरकारी टोलीले अनुगमनको क्रममा म्याद नाघेको भेटिएपछि सेल्सबेरी डिपार्टमेन्ट स्टोरको ५२ केजी ड्राई फुड जफ्त गरेको हो। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग नेतृत्वको अनुगमन टोलीले मिठाइमा प्रयोग गर्ने फ्लेबर वाटर पनि गुणस्तरहीन भएको पाइएपछि जफ्त गरेको छ।

 

म्याद नाघेको, उत्पादक कम्पनीको नामसमेत उल्लेख नगरिएको चाइनिज ब्रान्डका ड्राई फुड सो स्टोरमा भेटिएकाले जफ्त गरिएको विभागका खाद्य अनुसन्धान अधिकृत इश्वर सुवेदीले जानकारी दिए। त्यस अवसरमा विभागले सो डिपार्टमेन्ट स्टोर परिसरमा सञ्चालित खाद्यवस्तु बिक्री केन्द्रमा प्रयोग गरिएको गुणस्तरहीन तेल पनि नष्ट गरेको छ। सरकारले उपभोक्ताको हितलाई ध्यानमा राखेर तिहारको बेलामा पनि बजार अनुगमनको कामलाई तीव्रता दिएको हो।

 

खाद्यवस्तु बिक्री वितरण अत्याधिक हुने भएकाले आम उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राखेर सार्वजनिक बिदाको दिन पनि बजार अनुगमनको कामलाई तीव्रता दिइएको पनि खाद्य अनुसन्धान अधिकृत सुवेदीले बताए। उनले उपभोक्तामाथि खेलबाड गर्ने उत्पादकमाथि कडा कारबाही गर्ने चेतावनी पनि दिए।

 

बुधबार गुणस्तरहीन पाइएको भन्दै सरकारी अनुगमन टोलीले भाटभटेनी सुपर मार्केटको दूधजन्य वस्तु बिक्रीवितरणमा रोक लगाएको थियो। खाद्य स्वच्छता अभियानअन्तर्गत सरकारले चालू आर्थिक वर्षमा अत्याधिक बढी प्रयोगमा आउने खाद्यवस्तुहरू दूध, तेल, पानी, तरकारी बजारको अनुगमनको कामलाई जोड दिने वार्षिक नीति तथा कार्यक्रम नै घोषणा गरिसकेको छ। 

 

प्रतिक्रिया दिनुहोस्