कस्तो बन्ला विप्लवको छैटौं पार्टी ?



काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेपाली राजनीतिको विगत साढे २ दशकको अवधिमा प्रायः चर्चामा रहेको नाम हो । २०५२ सालदेखि सुरु भएको माओवादी सशस्त्र विद्रोहसँगै चर्चामा आएका केही सीमित नामहरूमा विप्लवको नाम पनि अगाडि आउँछ ।

ऊर्जाशील, महत्वपुर्ण आकाङ्क्षी र तार्किक युवा भएका कारण मात्र होइन, ‘डिसिजन मेकिङ’ क्षमतामा पनि ‘तीक्ष्ण’ भएका कारण तत्कालीन माओवादी सुप्रिमो पुष्पकमल दाहाल ‘प्रचण्ड’का विश्वासपात्रसमेत बनेका थिए विप्लव ।

विद्रोहचेतसँगै होसियारी र जिम्मेवारीमा प्रस्ट मानिएका विप्लवप्रति तत्कालीन माओवादीको भरोसा र विश्वास पनि नभएको होइन । भविष्यका उज्ज्वल नेतृत्वका रूपमा माओवादी पाटीले समेत आँकलन गरेका विप्लव पछिल्लो समय भने ‘विचलित’ बन्दै गए । आजका मितिसम्म आइपुग्दा ती ‘जाज्ज्वल्यमान’ विप्लव कन्दराको टुकी जस्ता बनेका छन्, जो सानै हावाहुरीले निभाउन सक्छ ।

राजनीतिक यात्रा

रोल्पाको केवरीमा ११ फागुन २०२४ मा जन्मिएका हुन् नेत्रविक्रम चन्द ‘विप्लव’ । लिवाङको बालकल्याण माध्यमिक विद्यालयबाट २०४३ सालमा एसएलसी पास गरेका विप्लवलाई चिन्नेहरू उनलाई बच्चैदेखि विद्रोही र महत्वाकाङ्क्षी व्यक्तिका रूपमा लिन्छन् । विद्यालय तहमा पढ्दादेखि नै राजनीतिमा सक्रिय विप्लवको सक्रिय राजनीतिक यात्रा २०३९ सालमा सुरु भएको हो ।

२०३९ सालमा अखिल छैटौँबाट राजनीति सुरु गरेका विप्लव सोही सङ्गठनका रोल्पा अध्यक्ष भए । एसएलसी उत्तीण गरेर उनी उच्चशिक्षाका लागि काठमाडौं आए र नेपाल ल क्याम्पसमा कानुन पढ्न भर्ना भए । २०४८ सालमा एकता केन्द्र मसालका सदस्य बनिसकेका विप्लव त्यसयता निरनतर सक्रिय राजनीतिमा रहे ।

माओवादीले जनयुद्ध सुरु गर्दा विप्लव विद्यार्थी सङ्गठनका जुझारु नेता थिए । सशस्त्र विद्रोहका पक्षधर विप्लवमा विद्रोहप्रतिको उत्साह र जोश यतिसम्म थियो कि माओवादीले भनेको ‘जनयुद्ध’ सुरु गर्न पार्टीलाई दबाब दिनका लागि उनले त्यसबेलै ‘बूढाहरूलाई जनयुद्धसँग डर छ भने हामी सुरु गर्छौं ।’जनयुद्ध लड्न उनले त्यसबेलै हातहतियारसमेत जम्मा गर्न थालेका उनीसँग लामो सङ्गत गरेका एक पूर्वमाओवादी नेता बताउँछन् ।

१ फागुन २०५२ देखि माओवादीले सशस्त्र विद्रोह सुरु गर्दा विप्लव पार्टीको ललितपुर सेक्रेटरीको जिम्मेवारीमा थिए । २ वर्षपछि पार्टीले उनलाई कर्णाली उपक्षेत्रीय ब्युरो इन्चार्ज बनाएर पठायो । विप्लवको राजनीतिक यात्रामा ‘प्राप्ति’को शिलशिला तीब्र रूपमा बढ्यो । २०५५ भदौमा भएको माओवादीको चौथो विस्तारित बैठकबाट उनी पार्टीका केन्द्रीय सदस्य बने । २०५९ सालमा माओवादीका पोलिटव्युरो सदस्य बनेका उनी २०६१ सालमा रोल्पा, रुकुम आधार इलाकाको ब्युरो इन्चार्ज भए ।

विप्लवको निडरपन, निर्भीकता र जुझारुपनसँग तत्कालीन माओवादी नेतृत्व परिचित हुँदै गयो । एउटा साहसी र पार्टीका लागि सशक्त युवा नेतृत्वका रूपमा प्रचण्डलगायत ‘अग्रज’ नेतृत्वले विप्लवलाई काखी च्याप्न थाले । यसको असर विप्लवसँगैका पार्टीभित्रका अन्य समवयी र समकालीन साथीहरूमा पर्न थाल्यो । विप्लवको अध्यक्ष प्रचण्ड र अन्य शीर्ष नेतृत्वसँगको निकटता र उनीप्रति शीर्ष नेतृत्वले देखाएको ‘प्रेम’ र हार्दिकताले अन्यमा जलन हुनु स्वाभाविक नै थियो ।

उनी कतिसम्म उतसाही र जोशिला थिए भने, कर्णाली क्षेत्रको जिम्मेवारी लिएका बेला प्रहरीहरूबाट उनकै नेतृत्वमा हतियार लुटिएका थिए । उनले त्यसबेला कालीकोटमा प्रहरीबाट थ्री नट थ्री राइफल खोसेका थिए । उक्त कार्यले पार्टीभित्र विप्लव ‘हाईहाई’ बनेका थिए । त्यसबेलाका उनका एक सहयात्री भन्छन्, ‘विप्लवप्रति अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्यसपछि बढी विश्वास गरे र केही समय उनलाई विश्वास पात्र पनि बनाए ।’ विशेषगरी कम्युनिस्ट पार्टीहरूमा चलिरहने ‘घात-प्रतिघात’ र ‘विश्वास-अविश्वास’को सिकार विप्लव बने ।

समकालीन वर्षमान पुन र शक्तिबहादुर बस्नेतहरू भित्रभित्रै विप्लवका विरुद्ध लागे । सुप्रिमो प्रचण्ड र अन्य शीर्षनेताबाट विप्लवलाई कसरी पाखा लगाउने भन्ने ‘खेल’मा अन्ततः पुन र बस्नेत सफल भए । उसो त, विप्लवको कडा र निर्भीक अनि प्रस्ट अभिव्यक्ति शैलीले उनलाई ‘बुम¥याङ’ गरिदिएको पनि बताइन्छ । ‘उसै त कम्युनिस्ट पार्टी, अनुशासनमा कडा, नेतृत्वमाथि प्रश्न गर्नु र चुनौती दिनु स्वयंमा खतरा हुन्थ्यो’, एक पूर्वमाओवादी नेता भन्छन्, ‘विप्लव आफ्ना कुरा नेतृत्वसँग आँखा जुधाएर राख्थे, जसले गर्दा शीर्ष नेतृत्व उनीसँग चिढियो, जुन स्वाभाविक थियो ।’

अन्ततः २०६२/०६३ सालको दोस्रो जनआन्दोलनमा भूमिगत सशस्त्र विद्रोह गरिरहेको तत्कालीन माओवादी संसद्वादी ७ दलसँगै भूमिगत रूपमै सहभागी भयो । आन्दोलन सफल भयो । माओवादी खुला राजनीतिमा आयो । तर, विप्लवलगायतका केही तत्कालीन माओवादी नेताहरूमा असन्तुष्टि कायम रहेछ । १० वर्षे सशस्त्र विद्रोहलाई पार्टीभित्र व्यापक सल्लाह, छलफल र बहस नगरी विसर्जन गरेको भनेर विप्लव, मोहन वैद्य, सीपी गजुरेललगायतकाहरू असन्तुष्ट रहेछन् ।

त्यही असन्तुष्टिको परिणाम मोहन वैद्य, सीपी गजुरेलसँगै २०६९ सालमा माओवादीबाट अलग्गिएर मोहन वैद्यको नेतृत्वमा रामबहादुर थापासहित विप्लव पनि नयाँ पार्टी नेकपा-माओवादीमा लागे । उनका सहयात्रीले भनेझैँ विप्लवको ‘महत्वाकाङ्क्षी’ र ‘अस्थिर’ चरित्र पुनः देखियो-वैद्यसँग पनि कुरो नमिलेपछि २०७१ सालमा आफ्नै नेतृत्वमा विप्लवले नयाँ पार्टी बनाए-नेपाल कम्युनिस्ट पार्टी । उनी अहिले सोही पार्टीका महासचिव छन् ।

यही नेकपाबाट सशस्त्र विद्रोहलाई पुनः निरन्तरता दिइरहेका विप्लवले केही समय भूमिगत रूपमा हिंसात्मक गतिविधि गरे । केही टेलिफोन टावरमा आक्रमण, सानातिना बम विस्फोट र गाउँ-शहरमा आतङ्क मच्चाएर अन्ततः यसबाट पनि उपलब्धि नदेखेपछि विप्लव नेतृत्वको नेकपा २१ फागुन २०७७ मा मूलधारको शान्तिपूर्ण राजनीतिमा फर्कियो छ ।

संसदीय व्यवस्थाप्रति बिमति राखेर ‘एकीकृत जनक्रान्ति’ भन्दै भूमिगत आन्दोलन गर्दै आएको नेकपाले वैज्ञानिक समाजवादसहितको जनगणतन्त्र शान्तिपूर्ण रूपमै जनतामा गएर स्थापना गर्ने प्रतिबद्धता जनाएर तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारसँग ३ बुँदे सम्झौता गरेर शान्तिपूर्ण राजनीतिमा आएको हो ।

सरकारसँग त्यसबेला भएको ३ बुँदे सम्झौतामा ‘दुवै पक्ष, नेपाल सरकार तथा नेपाल कम्युनिस्ट पार्टीबीच देशका राजनीतिक समस्याहरू वार्ता तथा संवादबाट समाधान गर्न सहमत भएका’, ‘नेकपा आफ्ना सबै राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रूपमा सञ्चालन गर्न सहमत भएको’ र ‘नेपाल सरकार नेकपामाथि लगाइएको प्रतिबन्ध हटाउन, कारागारमा रहेका पार्टीका नेता तथा कार्यकर्ताको रिहाइ र सम्पूर्ण मुद्दा खारेज गर्न सहमत भएको’ उल्लेख छ ।

छैटौँ पार्टीको बाध्यतामा विप्लव

तर, नेकपा यसअघि नै ऋषि कट्टेलका नाममा निर्वाचन आयोगमा दर्ता भइसकेका कारण उनको पार्टी दर्ताविहीन छ ।यही कारण ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा उनको पार्टीले सहभागी हुने निर्णय गरे पनि स्वतन्त्र रूपमा उम्मेदवारी दिन बाध्य भयो ।

र, यही स्थानीय तह निर्वाचनमा भाग लिने विप्लवको निर्णय अहिले पार्टी विभाजनको कारक बनेको छ । निर्वाचनमा भाग लिने निर्णयको विरोध धर्मेन्द्र बाँस्तोला, हेमन्तप्रकाश ओली ‘सुदर्शन’लगायतले गरेपछि विप्लवले उनीहरूलाई कारबाही गरे ।

सरकारसँग यसअघि भएका सम्झौता कार्यान्वयन नभई निर्वाचनमा सहभागी हुन नहुने उनीहरूको अडान छ । तर, विप्लवले त्यो अडानलाई बेवास्ता गरेपछि नेकपामा विचलन आएको हो । त्यसको केही दिनपछि पुनः असन्तुष्ट बाँस्तोला, ओलीलगायतले विप्लवलाई नै पार्टीबाट निकालेको घोषणा गरेका छन् । मूल नेतृत्वबीच फाटो आएपछि पुनः पार्टी निर्माणमा जुटेका विप्लवको छैटौँ पार्टी कस्तो हुनेछ ? त्यो भने हेर्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्