एन्फा निर्वाचन : प्रदेश १ का सबै जिल्ला पंकजको पक्षमा



काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को केन्द्रीय निर्वाचनका लागि प्रदेश १ बाट मताधिकार प्राप्त गर्ने ११ जिल्लामध्ये १० जिल्ला फुटबल संघको टुङ्गो लागेको छ। शुक्रबार बसेको प्रदेश १ फुटबल संघको भेलाबाट केन्द्रीय निर्वाचनका लागि मताधिकार पाउने १० जिल्लाको टुङ्गो लागेको हो।

भेलाले संयुक्त प्रेस नोट निकाल्दै प्रदेश १ बाट उम्मेदवारी दिने उम्मेदवारको पक्षमा सर्वसम्मत रुपले एकजुट भई सामूहिक रुपमा मतदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रेस नोटमा नाम नखुलाइए पनि एन्फा आगामी ६ असारको चुनावका लागि पूर्वबाट हालका वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्बाङ अध्यक्ष पदमा लड्ने तयारीमा छन्। हालका अध्यक्ष कर्मा छिरिङ शेर्पा उनका प्रतिद्वन्द्वी हुनेछन्।

यसका लागि धरान टेक्निकल सेन्टरमा भएको चुनावबाट ताप्लेजुङ, पाँचथर, इलाम, भोजपुर, खोटाङ, धनकुटा, मोरङ, उदयपुर, सुनसरी र झापाले मताधिकार प्राप्त गर्दा संखुवासभा भने मताधिकारबाट बाहिरियो।

निर्वाचनका लागि ४८ मध्ये ४५ जिल्ला फुटबल संघ मताधिकार प्राप्त छन्। ए डिभिजन लिगबाट १४, बी बाट ११ र सी बाट ९ क्लबले मताधिकार पाउनेछन्।

यस्तै राष्ट्रिय लिगमा छनोट भएका ४ क्लब सहित एन्फाको महिला, खेलाडी, रेफ्री र प्रशिक्षक संघले मताधिकार पाउनेछन्।

प्रतिक्रिया दिनुहोस्