राष्ट्रिय भलिवल : महिलातर्फ न्यु डायमन्ड जितविहीन



काठमाडौं । साविक विजेता न्यु डायमन्ड एकेडेमी जारी एनभीए राष्ट्रिय महिला तथा पुरुष लिगमा जितविहीन भएको छ। बिहीबार राखेप कभर्डहलमा भएको खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबसँग सोझो सेटमा पराजित भएसँगै न्यु डायमन्ड जितविहीन भएको हो।

प्रतियोगितामा तेस्रो जित निकाल्ने क्रममा एपीएफले न्यु डायमन्डलाई २५–१९, २५–१०, २५–९ को सेटमा हरायो। डायमन्डको यो लगातार चौथो हार हो।

प्रतियोगितामा ४ खेल खेलेको एपीएफले एक हार र ३ खेलमा जित निकाल्दै ९ अंक जोडेको छ।

यता, समान खेल खेलेको डायमन्डले एक अंक मात्र जोडेको छ र उपाधि रक्षा गर्ने अवसर गुमाएको छ। ५ टिमको सहभागिता भएको प्रतियोगितामा एपीएफसँगै नेपाल पुलिस क्लबले पनि समान ९ अंक नै जोडेको छ। त्रिभुवन आर्मीको ३ खेलबाट ६ अंक छ।

प्रतिक्रिया दिनुहोस्