अफगानिस्तानमा श्रीमतीले बुर्का नलगाए श्रीमानलाई जेल सजाय



एजेन्सी । तालिबान अधिकारीहरूले सार्वजनिक स्थानहरूमा अनुहार पूरै ढाक्ने गरी बुर्का लगाउन अफगान महिलाहरूलाई आदेश दिएका छन् । अघिल्लो वर्ष सत्ता कब्जा गरेयता उनीहरूले लगाएको कठोर नियन्त्रणका रूपमा यसलाई हेरिएको छ ।

आफ्नो पहिलो शासनकालमा यस्तै व्यवस्था लागु गरेका उनीहरूले अघिल्लो वर्ष सत्ता हातमा लिएपछि बुर्का अनिवार्य गर्नेबारे कुनै आदेश दिएका थिएनन् । नैतिक आचरणमाथि नियमन गर्ने तालिबान मन्त्रालयले यो प्रतिबन्धलाई सुझाव भनेको छ ।

तर यसको कार्यान्वयन नगर्ने महिलाका श्रीमान् वा पुरुष अभिभावकहरूलाई छोटो जेल सजाय सहितका कारबाही गर्ने चेतावनी दिइएको छ । तालिबानहरूले सत्ता हातमा लिएपछि कतिपय महिलाहरूले बुर्कासँग अफगान संस्कृतिको सम्बन्ध नभएको भन्दै प्रदर्शन गरेका थिए ।

तालिबानको पछिल्लो कदमलाई महिलाहरूको स्वतन्त्रतालाई थप कुण्ठित गर्ने उनीहरूको प्रयासका रूपमा हेरिएको छ । बीबीसीका सिकन्दर केरमानी भन्छन्, “नैतिक आचरणमाथि नियमन गर्ने तालिबान मन्त्रालय हालैका सातामा सक्रिय बन्दै गएको छ।“

उनका अनुसार उक्त मन्त्रालयले महिलाहरूलाई पुरुषबिना एक्लै लामो दूरीको यात्रा गर्न रोक लगाएको छ एवम् महिला र पुरुषलाई एकै समयमा पार्कमा जान रोक लगाएको छ । केरमानीका अनुसार कुनै महिलाले बुर्का नलगाएको अवस्थामा पहिलो चरणमा बुर्का नलगाउने महिलाको घर पहिचान गरी उनको परिवारका पुरुष सदस्यहरूलाई सुझाव दिइने छ । फेरि पनि उक्त निर्णय पालना नगरिएको खण्डमा पुरुष अभिभावकलाई मन्त्रालयमा बोलाउनेदेखि अदालतसम्म लगेर कारबाही गर्नेसम्म भनिएको छ ।

तालिबानहरूले अनुहार नढाक्ने महिलाका पुरुष अभिभावकहरूलाई तीन दिनसम्म जेलमा थुन्नसक्ने पनि चेतावनी दिएका छन् । यसअघि अफगानिस्तानका ठूला सहरहरूमा महिलाहरूले धार्मिक कार्यक्रमहरूमा सल लगाउने गरेका थिए । तर काबुलजस्ता ठाउँमा उनीहरूले आफ्नो अनुहार ढाक्ने गरेका थिएनन् ।

पछिल्लो आदेशपछि त्यसमा कस्तो परिवर्तन देखिन्छ त्यसका लागि कुर्नुपर्ने केरमानीको टिप्पणी छ । सन् १९९६ देखि २००१ सम्म निलो रङ्गको अनुहार ढाक्ने बुर्का तालिबानहरूको कठोर शासनको विश्वव्यापी चिन्ह बनेको थियो । अघिल्लो पटक शासन सम्हाल्दाको समयभन्दा आफू परिवर्तन भइसकेको तालिबानहरूले बताएका थिए । तर गएको मार्चमा महिलाहरूको विद्यालय खुल्ने दिन नै त्यसलाई बन्द गरिएको घोषणा गरेपछि राष्ट्रसङ्घ सहितका अन्तर्राष्ट्रिय समुदायले आलोचना गरेका थिए ।

तालिबानहरूले शासन हातमा लिएयता अमेरिका र पश्चिमा देशहरूले अफगानिस्तानलाई उपलब्ध गराउँदै आएको विकास सहयोगमा कटौती गरेका छन् । अहिले र पहिलेको तालिबान शासनको बीचको दुई दशकको समयमा महिलाहरूलाई अध्ययन र रोजगारीका क्षेत्रमा रोकटोक थिएन । (बीबीसी)

प्रतिक्रिया दिनुहोस्