
काठमाडौं : भाइटीका अर्थात् दिदीबहिनीले दाजुभाइलाई टीका लगाएर दीर्घायुको कामना गर्ने दिन । आफ्नै दिदीबहिनी हुने दाजुभाइले त उनीहरूसँग टीका लगाउँछन् । नहुनेले के गर्ने ?
सहोदर (एउटै आमाका सन्तान) दिदीबहिनी नहुने दाजुभाइले काका, मामा वा फुपूका छोरीको हातबाट टीका लगाउने चलन छ । यस्तै कतिले बुबाका दिदीबहिनी अर्थात् फुपूको हातबाट टीका लगाउँछन् ।
दिदीबहिनीकी छोरी अर्थात् भाञ्जीबाट पनि टीका लगाउन हुन्छ भन्ने मान्यता कतैकतै चलेको पाइन्छ । कोही नभए तुलसीको डाँठले आफैंले टीका लगाउने पनि भेटिन्छन् ।
काठमाडौंमा भने दिदीबहिनी नहुनेहरू रानीपोखरीस्थित बालगोपाल वा यमलेश्वर महादेवको दर्शन गर्छन् । मन्दिर परिसरमा भेटिने दिदीबहिनीको हातबाट निधार सप्तरंगी बनाउने पनि धेरै हुन्छन् ।