भोटका रोचक अभ्यास : कतै १६ वर्षमै, कतै हुलाक र इन्टरनेटबाट



काठमाडौं । मतदान गर्ने कि नगर्ने निर्णय गर्ने अधिकार सबै नेपाली नागरिकलाई छ। तर, विश्वमा यस्ता पनि देश छन्, जहाँका नागरिकलाई मतदान अनिवार्य छ । प्यू अध्ययन केन्द्रले गरेको एक अध्ययनअनुसार संसारका ५० प्रतिशतभन्दा बढी देशमा मतदाता नामावली अनिवार्य दर्ता गर्नुपर्ने नियम छ ।

विश्वका १२२ वटा देशमा निर्वाचन आयोगमा अनिवार्य नाम दर्ता गर्नुपर्ने कानुनी प्रावधान छ। यीमध्ये अर्जेन्टिना चिली, हँगेरी, इजरायल, नेदरल्यान्ड्सलगायतका देशमा जनगणनालगायत अन्य सरकारी तथ्याङ्कका आधारमा स्वतः मतदाता नामावलीमा नाम दर्ता हुने प्रावधान छ । न्युजिल्यान्ड, टोंगा र बेलायतलगायतका देशमा त नामावली दर्ता नगरे नागरिकले जरिमाना तिर्नुपर्ने व्यवस्था छ। ९० वटा देशमा भने नागकिरलाई मतदाता नामावलीमा नाम नलेखाउन पाउने छुट छ।

निर्वाचनमा सहभागी हुनेले भने अनिवार्य नामावलीमा नाम दर्ता गराएको हुनुपर्ने प्रावधान छ। अष्ट्रियामा सन् २००४ सम्म मतदाता नामावलीमा नाम लेखाउन अनिवार्य थियो । अहिले मतदाता नामावलीमा नाम दर्ता नगर्न पनि पाइन्छ।
उमेर हद कति ?
‘एस इलेक्ट्रोल नलेज नेटवर्क डाटा’का अनुसार २०५ वटा देशमा मतदान गर्ने न्यूनतम उमेर १८ वर्ष छ। विश्वमा सबैभन्दा कम उमेरमा मतदान गर्न पाउने प्रावधान भएका देश अष्ट्रिया, अर्जेन्टिना र ब्राजिल हुन्, जहाँ १६ वर्षमै मतदान गर्न पाइन्छ। संयुक्त अरब इमिरेट्समा मतदान गर्न २५ वर्ष पूरा भएको हुनुपर्छ।

इटालीको तल्लो सदनका लागि मतदान गर्ने उमेर १८ वर्ष तोकिएको छ । सिनेट सदस्यमा मतदान गर्न भने २५ वर्षको हुनुपर्छ । कोरोना महामारी सुरु हुनुअघि नैै ‘इलेक्ट्रोल इन्टरग्रिटी प्रोजेक्ट’ले तयार पारेकोे एक तथ्याङ्कअनुसार संसारका एक चौथाइ देशमा हुलाकमार्फत मतदान (पोस्टल ब्यालेट)को अधिकार छ। अध्ययन गरिएका १६६ वटा देशमध्ये ४० देशमा पोस्टल ब्यालेट प्रयोग हुन्छ । युरोप, उत्तर अमेरिका र एसिया प्रशान्त क्षेत्रका धेरै देशमा यो प्रचलन छ।

क्यारेबियन, अफ्रिकन तथा मध्यपूर्व र दक्षिण अमेरिकाका प्रायः देशमा यो प्रावधान छैन।२०९ देशमा कागजको मतपत्र २०९ वटा देशमा कागजी मतपत्र प्रयोग हुने गरेका छन्। इजरायल, मालीलगायत केही देशमा अचम्मको चलन छ। ती देशमा मतदाताले पार्टीको नाम लिएर नै मतपत्र माग्ने चलन छ। ती मतपत्रलाई खाममा राखेर बाकसमा खसालिन्छ। दलअनुसार भिन्न खालको खाम हुन्छ।

संसारका १० प्रतिशत देशमा कागजी मतदान र इलेक्ट्रोनिक्स मतदान मिसिएको हुन्छ । भारत, अमेरिकालगायत ठूला देश र सिंगापुरलगायत साना देशमा इलेक्ट्रोनिक्स मतदान हुन्छ ।

इन्टरनेटबाटै भोट
अर्मेनिया, क्यानाडा, इस्टोनिया, गाम्बिया, स्विट्जरल्यान्डलगायत देशमा इन्टरनेट मतदानको प्रचलन छ। १५१ वटा देशमा विदेशमा बस्ने आफ्ना नागरिकले पनि मतदान गर्न पाउने प्रावधान छ। युरोपेली युनियनका २७ मध्ये २३ वटा देशमा विदेशमा बस्ने आफ्ना नागरिकलाई मतदानको अधिकार दिइएको छ।

विदेशमा बस्ने नागरिकलाई मताधिकारको पनि फरक व्यवस्था छ। फ्रान्स, पानामा र पाकिस्तान जस्ता देशमा विदेशमा बस्ने नागरिकलाई मात्र अनलाइन मतदानको व्यवस्था छ। क्यानाडाको ओन्टारियो र नोभा स्कोटियामा स्थानीय निर्वाचनमा इन्टरनेट मतदानको प्रचलन छ।

प्रतिक्रिया दिनुहोस्