दल ठूला, परिणाम शून्य !



काठमाडौं। सङ्घीय सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेस प्रमुख प्रतिपक्ष दल नेकपा एमालेलाई पछि पार्दै स्थानीय सरकारमा पहिलो दल बने पनि २ वटा जिल्लाका स्थानीय तह नेतृत्वमा शून्य भएको छ।

प्रधानमन्त्री शेरबहादुर देउवाको प्रदेश रहेको सुदूरपश्चिको दार्चुला र लुम्बिनी प्रदेशको रुकुम–पूर्वको कुनै पनि स्थानीय तहको नेतृत्वमा कांग्रेस छैन। कांग्रेसका उम्मेदवारहरू यी २ जिल्लाका स्थानीय तहका नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)का उम्मेदवारहरूबाट नराम्ररी पराजित भए। रुकुम–पूर्वका ३ वटै स्थानीय तह पुथा उत्तरगङ्गा, भूमे र सिस्ने गाउँपालिकामा माओवादीले कांग्रेस र एमालेलाई शून्य बनायो।

अर्थात् माओवादीले यस जिल्लामा ‘क्लिन स्विप’ गर्‍यो। दार्चुलामा रहेका ९ वटा स्थानीय तहमा ५ वटामा एमाले र ४ वटा स्थानीय तहमा माओवादीले जितेपछि कांग्रेस यहाँ ‘क्लिन स्विप’ भएको हो । एमालेले ३ गाउँपालिका दुहु, ब्यास र मालिकार्जुन तथा २ वटा नगरपालिका महाकाली र शैल्यशिखर जित्दा माओवादीले अपि हिमाल, नौगाड, मार्मा र लेकम गाउँपालिका जितेको निर्वाचन आयोगले जनाएको छ। एमाले भने कांग्रेसभन्दा बढी जिल्लामा पराजित भएको छ।

आयोगले शनिबार राति १० बजेसम्म अद्यावधिक गरेको विवरणअनुसार एमाले देशभरका ९ वटा जिल्लाका स्थानीय तह नेतृत्वमा शून्य भएको छ । ९ वटामध्ये सर्वाधिक कर्णाली प्रदेशका ५ जिल्ला मुगु, जुम्ला, कालीकोट, हुम्ला र रुकुम–पश्चिम, लुम्बिनी प्रदेशका बाँके र रुकुम–पूर्व, सुदूरपश्चिम प्रदेशको डडेल्धुरा र गण्डकी प्रदेशको गोरखामा पनि एमाले शून्य भएको हो । अध्यक्ष केपी शर्मा ओलीले भने निर्वाचनअघि एमाले एक क्विन्टल र ५ दलीय गठबन्ध १/१ किलाका ढक भएको टिप्पणी गरेका थिए । तर, उनको दल देशका ९ वटा जिल्लामा पराजित भयो ।

गोरखाका ११ मध्ये ९ वटा स्थानीय तह माओवादी र २ वटा भने कांग्रेसले जितेका छन् । अजिरकोट, गण्डकी, चुमनुब्री, धार्चे, भीमसेननाथ, शहीद लखन थापा गाउँपालिका र बारपाक सुलिकोट गाउँपाकिला तथा गोरखा र पालुङ्टार नगरपालिका माओवादीले जितेको हो । कांग्रेसले आरुघाट र सिरानचोक गाउँपालिका जितेको जिल्ला निर्वाचन कार्यालय गोरखाले जनाएको छ । गोरखा जनता समाजवादी पार्टी (जसपा)का सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको पनि गृहजिल्ला हो । तर, उनले कुनै पनि स्थानीय तहमा निर्वाचन जिताउन सकेनन् ।

२ वटा दलले जिल्लाका स्थानीय तह नेतृत्व जित्दा एमाले र जसपाले शून्य सिटमा चित्त बुझाएका हुन् । एमालेलाई अन्य ८ वटा जिल्लामा पनि शून्य बनाउने दलहरू गठबन्धनमा रहेका कांग्रेस, माओवादी, जसपा, नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चा हुन्।१७ चैतमा यी ५ दलले एमालेलाई कमजोर बनाउन भन्दै निर्वाचनमा तालमेल गरेर जाने निर्णय गरेका थिए। सोहीअनुसार निर्वाचनमा ठाउँठाउँमा तालमेल हुँदा एमाले ९ वटा जिल्लामा पूर्ण रूपमा पराजित भएको हो। तर, माओवादी भने २५ वटा जिल्लामा शून्य भएको छ।

सर्वाधिक गण्डकी प्रदेशका कास्की, स्याङ्जा, मनाङ, मुस्ताङ, लमजुङ, म्याग्दी, पर्वत र नवलपरासी (बर्दघाट सुस्तापूर्व)सँगै प्रदेश १ का इलाम, झापा, मोरङ, सुनसरी, सङ्खुवासभा, तेह्रथुम र धनकुटामा माओवादीले एउटा पनि स्थानीय तह जितेन। बाग्मती प्रदेशका काठमाडौं, ललितपुर, भक्तपुर, रसुवा, लुम्बिनी प्रदेशका अर्घाखाँची, रूपन्देही, कपिलवस्तु, मधेस प्रदेशको महोत्तरी, पर्सा र सुदूरपश्चिम प्रदेशको बाजुराको स्थानीय तहमा माओवादीले कुनै पनि स्थानीय तह जितेन। माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी त अझ बढी ६१ वटा जिल्लामा पराजित भयो ।

यही दलका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले एमालेको जित २–३ ठाउँमा हुने प्रक्षेपण गरेका थिए। उल्टै उनको पार्टीका उम्मेदवारहरू भने देशका १६ जिल्लाका केही स्थानीय तहमा निर्वाचित भएको देखिएको छ। जसपाको पनि ६४ वटा जिल्लाको कुनै पनि स्थानीय तहमा नेतृत्व छैन। अन्य लोकतान्त्रिक समाजवादीसँगै सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने दलहरू राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेपाल मजदुर किसान पार्टी (नेमकिपा) र राष्ट्रिय जनमोर्चाका उम्मेदवारहरूले भने एकाध जिल्लाका सीमित स्थानीय तहमा मात्र जितेका छन्।

प्रतिक्रिया दिनुहोस्