ठेक्का भएको ६ वर्षसम्म पनि बनेन सडक



काठमाडौं : कमलविनायक–नगरकोट सडक ठेक्का भएको ६ वर्षसम्मपनि पुरा नभएपछि प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले आइतबार स्थलगत अनुगमन गरेको छ । विसं २०७० मा सुरु भई दुई वर्षमा पूरा हुनुपर्ने १७ किलोमिटर सडक छ वर्ष बित्दा पनि निर्माण हुन नसक्दा पर्यटकमार्फत विश्वव्यापी रुपमा नकारात्मक सन्देश गएको स्थानीयको  गुनासो छ ।

काठमाडौं नजिकैबाट विश्वको सर्वोच्च शिखर सगरमाथाका साथै धेरै हिमाल एवं सूर्योदयको दृश्य देखिने नगरकोट आन्तरिक एवं बाह्य पर्यटकको रोजाइमा पर्दै आएको छ । तर सडकका कारण पर्यटकलाई असहज हुने गरेको जनाइएको छ ।

सडक अनुगमनपछि आयोजित अन्तरक्रिया कार्यक्रममा समिति सभापति कल्याणीकुमारी खड्काले सन् २०२० को नेपाल भ्रमण वर्षअगावै सडक कालोपत्र पूरा गर्न सम्बन्धित सरकारी निकायलाई निर्देशन दिइन्  ।

३७ करोड ८७ लाख रुपैयाँमा शैलुङ कन्स्ट्रक्सनले निर्माणको जिम्मा पाएको सडक किनारमा बनेका ड्रेनलगायत संरचना गुणस्तरीय नहुँदा सम्पन्न नभई भत्कन थालेको सडक निर्माण दबाब समितिका संयोजक राजकुमार लामिछानेले बताए  ।

प्रतिक्रिया दिनुहोस्