समाचार नलेख्ने, नपढ्ने श्रीमतीहरूलाई सदस्यता , गाउँ–गाउँ पुग्ने पत्रकारहरू महासंघ बाहिर



गोपी ज्ञवाली :

पत्रकारिता गरेका खिलबहादुर भण्डारी, मनऋषि धिताल, ओम शर्मा, मुमाराम खनालसँगको बेला–बेलाको भेटले मलाई पत्रकारितामा लाग्न जाँगर चलाएको हो । २०६१ सालमा पार्टी कामको निम्ति भारतको लखनऊ बस्दा पत्रकारिताको मास्टर्स (पि.जि.डि.जे.एम.सी)कोर्स पढ्ने अवसर मिल्यो । त्योभन्दा ५ महिना पहिला गिरफ्तार भई छुटेको थिएँ । आफ्नै गिरफ्तारीको कथा लेख्ने रहर जागेको बेला पत्रकारिता पढ्ने मौका पाउनु अर्को ठूलो अवसर थियो ।

क्रान्तिकारीहरूले बुर्जुवा शिक्षा भन्दै औपचारिक शिक्षा बहिष्कार गरी युवाहरूलाई वर्ग युद्धमा आउन आव्हान गरिरहेको बेला फेरि शिक्षामा जोडिन सजिलो थिएन । टंकमणि (रामप्रसाद बञ्जाडे) लगायतका कमरेडहरूको सहयोगमा त्यो काम सम्भव भयो र आज त्यही क्रान्तिकारी इतिहास लेख्न काम लाग्दै छ । लखनऊबाट प्रकाशित हुने हिन्दी दैनिक जनसत्ता एक्सप्रेसमा नेपालका समसामायिक विषयहरू लेख्न थालेको घडीलाई पत्रकारिताको प्रारम्भिक अभ्यास मान्नु उचित हुनेछ । त्यो समय क्रान्तिकारीधारको मुखपत्रको रूपमा चर्चित जनादेश साप्ताहिकमा लेख्न बारम्बार कोशिश गरेँ तर ठाउँ नपाउँदाको पीडाले बेग्लै दबाब सिर्जना ग¥यो । उत्तराञ्चलबाट प्रकाशित हिन्दी पाक्षिक विचारमुलक पत्रिका नागरिकमा भने हुलाकबाट केही सामग्री पठाउनासाथ प्रकाशित हुने गरेका थिए ।

१२ बुँदे सम्झौतापछि स्वदेश फर्किएँ । गण्डक ब्यूरोले जनआव्हान साप्ताहिक बुटवलबाट प्रकाशन गर्ने सूचना पाएसँगै इञ्चार्ज टोपबहादुर रायमाझीसँग सल्लाह गरी व्यवस्थापक बन्न पुगेँ । व्यवस्थापकको जिम्मामा गोपी ज्ञवाली, सम्पादकमा किशोर पन्थी, सह–सम्पादकमा अरुणा रायमाझी र लेखनाथ न्यौपाने (सजग), कम्प्युटरमा गोकुल श्रेष्ठ, सह–व्यवस्थापकमा आरपी शर्मा, विशेष संवाददातामा पविता पौडेललगायतको टिमले क्रान्तिकारी स्पिरिटमा काम शुरु गर्‍यौ। यो पंक्तिकारका लागि त्यो पत्रकारिताको क्षेत्रमा एउटा महत्वपूर्ण पाइला थियो । यसैबीच गण्डक क्षेत्रको राजनैतिक इञ्चार्ज परिवर्तन भएसँगै पत्रिकाको टिमलाई पनि त्यहाँबाट हटाइयो । यो टिममध्येबाट केही महिनापछि नै जनआव्हान साप्ताहिकका किशोर, अरुणा, गोकुललाई पाल्पास्थित पश्चिमाञ्चल एफएममा पठाइयो ।

यो पंक्तिकारलाई पत्रिकाबाट हटाएर पार्टीको जिम्मा नवलपरासी पठाइएपछि पत्रकारिताको यात्रा केही समयका लागि अलमलमा पर्‍यो । नवलपरासी पुग्दा एम.एस. जिल्ला इञ्चार्ज, अनुप बराल सचिव र यो पंक्तिकार कार्यालय सचिव रहे । केही समय इच्छा एकातर्फ र काम अर्कोतर्फ भयो । राष्ट्रियस्तरका सरकारी सञ्चारमाध्यममा केही सञ्चारकर्मीलाई राख्ने तयारी भई रहँदा नवलपरासीबाट पनि सरकारी सञ्चारमाध्यममा केही नामहरू पठाउन माग भएअनुसार क्रान्तिकारी पत्रकारहरूको लिस्ट तयार पारियो । क्रान्तिकारी धारका अधिकांशको शैक्षिक मापदण्ड नपुगेपछि गोरखापत्रमा पविता पौडेल र गोपी ज्ञवालीको नाम पठाइएको रहेछ ।

मिशन र व्यावसायिक पत्रकारिताः २०६३÷६४ सालमा हामी(मिशन पत्रकार)हरू जिल्लामा क्रान्तिकारी पत्रकारको संगठन बनाउँदै गर्दा आफूलाई व्यावसायिक भन्ने पत्रकारहरूले वाइसियल भनी जिस्काउने र हेप्ने गर्दथे भने मिशन पत्रकारिता(अझै पहिला युद्ध पत्रकारिता पक्षधर) गर्नेहरूले मूलधारका पत्रकार (माओवादी आन्दोलन पक्षधरबाहेक)लाई संसदीय संशोधनवादी भन्ने प्रचलन गण्डकक्षेत्रमा थियो । नवलपरासीमा पुरानो पत्रकार महासंघको व्यावसायिक भनिएको टिमको अध्यक्षमा केशव पराजुली र सचिवमा हरि शर्मा थिए । ने

पाल पत्रकार महासंघको पुरानो टिमले मिशन पत्रकारको टिमलाई महासंघको सदस्यता दिने विषयमा ठूलै विवाद भो । विभिन्न बहानामा सदस्यताबाट वञ्चित गरियो । तालाबन्दीलगायतका आन्दोलन भयो । महासंघका तात्कालिन केन्द्रीय अध्यक्ष धर्मेन्द्र झासम्म कुरा पुग्यो तर क्रान्तिकारी पत्रकारहरूलाई महासंघको सदस्यता दिने विषयमा उनको पनि सकारात्मक भूमिका रहेन । महासंघमा आन्दोलन जारी रह्यो । एक प्रकारले मिशन पत्रकारिता र व्यावसायिक पत्रकारिता गर्ने बीच ठूलै खाडल रह्यो । गोपी ज्ञवाली, रवि पाण्डे, कृष्ण ज्ञवालीलगायतको टिमलाई २०६४/०६५ मा सदस्यताबाट बञ्चित नै पारियो । अन्ततः पत्रकारितानै गरेपछि महासंघ सदस्यता प्राप्तीसँगै मिशन पत्रकारिताको टिम क्रमश: व्यावसायिकता तर्फ अघि बढि राख्यो ।

आज यो अवस्थामा आइपुगेको साथीहरूलाई ज्ञात नै छ । शान्तिकालमा आएपछि जनयुद्घ कालमा लुकीलुकी जनादेश पुर्‍याउने र पढ्नेहरू पनि खुलेर क्रान्तिकारी धारमा देखिए । यसै समयमा संगठन निर्माण प्रकृया सुरु भयो । यो पंक्तिकारको संयोजकत्वमा नवलपरासीमा क्रान्तिकारी पत्रकारको संगठन बन्यो । बयोबृद्ध जेष्ठ पत्रकार कृष्णबहादुर कार्की क्रान्तिकारी पत्रकार संघ नवलपरासीको अध्यक्षमा निर्वाचित हुनु भयो ।

जिल्लाभित्र हुने विभिन्न कार्यक्रमबारे औपचारिक जानकारी नेपाल पत्रकार महासंघमा आउने विधि बनाईएका कारण आवश्यक सूचनाहरू महासंघको कार्यालयमा आउने गर्दथे । यसरी आएका सूचनाहरू समेत मिशन पत्रकार हरूलाई सूचना नै दिइदैनथ्यो । त्यसो हुँदा जिल्लाका थुप्रै घटना र समाचारका स्रोतहरूबाट टाडा भएपछि लेख्नबाट छुटथ्यो । यसरी साना साना विषयमा लामो संघर्षपछि क्रमश: पत्रकारितामा स्थान बन्दैर बनाउँदै गएको विषय पनि आज ईतिहास बनेको छ । महासंघ सदस्यमा पहिलो चरणमा गोपी ज्ञवाली,रवि पाण्डे, कृष्ण ज्ञवाली लगायतकाले पाएपछि संघर्षको रूप फेरियो । लामो समयसम्म मिशन र व्यावसायिक पक्षधर पत्रकारबीच जिल्लामा मतान्तर रहँदै गयो । समय परिवर्तनसंगै विचार, भावना र लक्ष्यका आधारमा विभाजित पत्रकारहरूकोसमूह क्रमशः स्वार्थ गुटका आधारमा गुटबन्दी र विभाजन हुँदै आज यहाँ पुगेको छ ।

सदाका लागि विदा भएका पत्रकारको सम्झनामाः यसबीच नवलपरासीलाई कर्मथलो बनाएर पत्रकारितामा स्थापित भएका एवं उदयिमान रहेका केही पत्रकारलाई हामीलेसदाको लागि गुमाउन पुगेका छौँ ।

क) कृष्णबहादुर कार्की : आगोहरू निली दिने, नदीहरू उफ्रेर नाघिदिने, पहाडहरू भत्काइ दिने, समुद्री छालहरू रोकिदिन सकिन्छ भन्ने क्रान्तिकारी स्पिरिटका साथ खुला रूपमा पत्रकारिताको मैदानमा उत्रेका हामीहरू देशका विभिन्न स्थानमा गर्जिरहेका थियौँ । त्यहीबेला नवलपरासीमा मेरो भेट अति उर्जावान ज्येष्ठ पत्रकार कृष्णबहादुर कार्कीसँग भयो । अझै तेज क्रान्तिकारी धारका अग्रज पत्रकारसँगको भेट र सहकार्यको अवसरले मेरो क्रान्तिकारी स्पिरिटलाई टे«नको लिकमा हिँड्न सिकाएको महसुस गरेको छु ।

२०६५/६६ तिरको घटना हुनुपर्दछ प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा विपद् व्यवस्थापनको जिल्लास्तरीय गोष्ठी शुरु हुँदै थियो । अगाडि लगाइएको व्यानरमा जिल्ला दैवी प्रकोप उद्वार समिति लेखिएको थियो । पत्रकार महासंघमा अध्यक्ष रहेका वरिष्ठ पत्रकार कृष्णबहादुर कार्कीले यो दैविक भएन, विपद् ल्याउने देवताले होइन प्रकृतिले हो त्यसैले दैविकको ठाँउमा प्राकृतिक प्रकोप ब्यवस्थापन समिति लेख्नुपर्दछ भन्दै विरोध गरेपछि कार्यक्रमको ब्यानर नै फेरिएको सम्झना छ । प्रष्ट र हक्की वक्ताको परिचय बनाएका अग्रज पत्रकार कृष्णबहादुर कार्कीले वैधानिक रूपमा संघर्ष गर्ने तरिका हामी युवाहरूलाई सिकाउनुभएको थियो । 

बुटवलबाट प्रकाशित लुम्बिनी दैनिक पत्रिकामा जोडिनुभएका कार्की केन्द्रसम्म सुपरिचित हुनुहुन्थ्यो । नेपाल पत्रकार महासंघ नवलपरासीको दुईपटक अध्यक्ष हुनुभएका उहाँले आफ्नो पहिलो कार्यकालमा देशकै पहिलो भवनको रूपमा नेपाल पत्रकार महासंघ नवलपरासीको भवन बनाउनुभएको थियो । क्रान्तिकारी पत्रकारको नवलपरासी भेलाको संयोजक म भए पनि पहिलो अध्यक्ष कृष्णबहादुर कार्कीलाई चुनिएको थियो । वहाँ महासंघको अध्यक्ष भएपछि कार्यवाहक अध्यक्षको जिम्मा मैले पाएको थिएँ । परासीका गतिशील पत्रकार कृष्णबहादुर कार्कीको २०६९ मा देहावसान भयो ।

ख) पत्रकार महेश पन्तः अथाह सम्भावना बोकेका युवा पत्रकार महेश पन्तको २०६८ साउनमा सडक दुर्घटनामा परी भएको मृत्युले हामीलाई ठूलो क्षति पुग्यो । रेडियो दाउन्नेको स्थापनादेखि क्रान्तिकारी पत्रकार संघले परासीमा चलाएको एम्बुलेन्स सञ्चालन देशकै पहिलो भवनको निर्माणलगायतका काममा पत्रकार महेश पन्तको अत्यन्तै महत्वपूर्ण भूमिका हामीहरू कहिल्यै बिर्सन सक्दैनौँ । महेश बुटवलबाट प्रकाशित नयाँभावना पत्रिकामा आवद्ध हुनुहुन्थ्यो । आर्थिक सम्पन्नतामा रहेका उहाँलाई पत्रकारिताबाट सम्पत्तिभन्दा पनि नाम कमाउने इच्छा थियो र विभिन्न सामाजिक काममा संलग्न हुनुहुन्थ्यो ।

ग) महासंघका संस्थापक सदस्य पत्रकार महेश थापाः वयोवृद्घ अवस्थासंम्म पनि पत्रकारितामा सक्रिय महेश थापा स्पष्ट वक्ता हुनुहुन्थ्यो । मिशन पत्रकार हरूको आगमन हुँदा अध्यक्ष कृष्णबहादुर कार्कीले महासंघलाई वाई.सि.एल.ले भर्ने भयो भन्दै हाँसोसहितको प्रतिक्रिया दिएको र पछि हामीहरूसँगको भेटमा होइन रहेछ, कतिपय वाईसिएल भए पनि काम गर्ने खाले रहेछन् भन्दै आफ्ना स्पष्ट भनाई राखेको सम्झना आलै छ ।

घ) युवा पत्रकार एवं गजलकार शंकर पन्थीः २०६३/६४ देखि साहित्यकार शंकर पन्थीको पत्रकारितामा आगमन भएको हो । बुटवलबाट प्रकाशित नयाँसत्ता दैनिक पत्रिकाका सुनवल समाचारदाता शंकर पन्थीको रहस्यमय तरिकाबाट २०६४ भदौमा मृत्यु भयो । प्रशासनले उक्त घटनालाई सडक दुर्घटना भनेर फाइल बन्द गरिदियो । वहाँको मृत्यु हुनुपूर्वको दिन र साँझ रातीसम्म स्थानीयस्तरमा राजनैतिक चर्काचर्की र वाइसियल क्याम्पमा आक्रमण भएको थियो । त्यही आक्रमण र त्यसपछि तनावको प्रत्यक्षदर्शी थिए शंकर पन्थी । बुटवलको पत्रिकामा भोलि बिहान घटना विवरण पढ्नु भन्दै कसैलाई फोन गरेलगत्तै उनीमाथि सांघातिक आक्रमण भएको एक पक्षको भनाइ छ । त्यही समाचार प्रकाशन नगर्न उनीमाथि आक्रमण भई मृत्युभएको बताइन्छ ।

ङ )पत्रकारका केही संस्थागत कामहरूः बाह्र वर्षे यात्राका क्रममा क्रान्तिकारी स्पिरिटका साथ बनेको क्रान्तिकारी पत्रकार संघको नवलपरासी टिमले केही संस्थागत कामसमेत गरेको आज खुशीका साथ भन्न पाइने भएको छ । नवलपरासीमा त्यति बेलासम्म परासी एफएम, कावासोतीमा मध्यविन्दु एफएम र गैंडाकोटमा विजय एफएम रेडियो स्थापित रहेको थियो ।

एक सय किलोमिटर पूर्वपश्चिम राजमार्ग भएको यस जिल्लामा एउटा रेडियो सबै ठाउँमा सुन्न सम्भव थिएन । हाम्रो टिमले जिल्लाको बर्दघाटमा दाउन्ने एफएम स्थापना गर्‍यो । सूचना सहकारीमार्फत सञ्चालित यस संस्थाले पत्रिका, रेडियो, टेलिभिजन एवं पत्रकारिताको शैक्षिक संस्था स्थापना गर्ने लगायतका बहुआयामिक उद्देश्यले सूचना सहकारी दर्ता गरेको भए पनि अहिलेसम्म आउँदा एउटा रेडियो सञ्चालित रहेको छ र दाउन्ने साप्ताहिक भिन्दै व्यवस्थापनमा निस्कन्छ ।

अहिले जस्तै धेरै सञ्चारमाध्यम र सञ्चारकर्मी थिएनन् । रामकुमार श्रेष्ठ र मेरो सक्रियतामा दाउन्ने साप्ताहिक पत्रिका दर्ता गरी २०६७ साउनबाट प्रकाशन सुरु गर्‍यो । त्यसपछि त्यही पत्रिकाको टिमले दाउन्ने सूचना सहकारी दर्ता गरी रेडियो दाउन्ने सञ्चालनमा आएको हो । यही समयमा पत्रकार सभासद् एवं वरिष्ठ पत्रकार विनोद पहाडीको सांसद कोषको आर्थिक सहयोगमा नवलपरासीमा देशकै पहिलो पत्रकारद्वारा सञ्चालित एम्बुलेन्स ल्यायौं क्रान्तिकारी पत्रकार संघ नवलपरासीले सञ्चालनमा ल्याएको एम्बुलेन्सले आज पनि सदरमुकाम परासी क्षेत्रमा सेवा प्रदान गरिरहेको छ । छोटो समयमा संस्थागत रूपमा यत्तिका काम गरेको पत्रकारहरूको समूह विभिन्न राजनैतिक खिचातानीका कारण अहिले विभिन्न खेमामा विभाजित रहेको छ ।

च ) नक्कली पत्रकार बनाउँदै चुनाव जित्दैः  बाह्र वर्षे पत्रकारितामा एउटा गजबको कुरा के पाइयो भने अन्य क्षेत्रमा जस्तै पत्रकारितामा पनि चरम राजनैतिकरण रहेको छ । त्यसबाट पनि तल झरेर स्वार्थ समूहका रूपमा गुटबन्दी व्याप्त रहेको छ । हुन त कुनै दार्शनिकले सत्ताविना अरु सबै भ्रम हो भनेका छन् । सत्ता प्राप्त गर्ने तरिकाहरू मध्ये पत्रकारबीचमा पनि गजबको गुटबन्दी छ । पत्रकार, वकिल, इञ्जिनियरिङ नितान्त टेक्निकल क्षेत्रको काम हो तर पत्रकार महासंघमा चुनाव जित्नका लागि पत्रकारिता नै नजानेका व्यक्तिहरूलाई सदस्यता दिने र निर्वाचन जित्ने अचम्मको प्रतिस्पर्धा रहेको पाउँदा यस पेशाप्रति नै उदेक लाग्दछ ।

महासंघमा कब्जा जमाउन अगुवा भनिएका कतिपय पत्रकार साथीले पत्रकारिताको प नजानेका, न त उत्साह नै भएका गृहिणीहरू, स्कुल क्याम्पसका शिक्षक, प्राध्यापकहरूलाई सदस्यता बोर्डको र ती पनि वैदेशिक रोजगारीको सिलसिलामा विश्वको कुना–कुनामा रहेका छन् कसैलाई थाहा छैन । पछिल्लो समय पूर्वनवलपरासीका केही पत्रकार अगुवाले महिनामा एउटासम्म पनि समाचार नलेख्ने, नपढ्ने श्रीमतीहरूलाई सदस्यता दिलाए तर खटेर गाउँ–गाउँ पुग्ने कतिपय पत्रकारहरू अहिले पनि महासंघ बाहिर रहेका छन् । हुन त पत्रकारिता गर्न महासंघको सदस्य हुन आवश्यक छैन तर राजनैतिकरणको चरम अवस्थाको एउटा उदाहरणको रूपमा यसलाई प्रस्तुत गरिएको हो ।

(यो लेख प्रेस काउन्सिल नेपालको त्रैमासिक प्रकाशन संहिताको २०७५ चैत अ‌ंकमा प्रकाशित छ)

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

बाँके : नेपालगञ्जमा मोटरसाइकलको ठक्करबाट आज एक पैदलयात्रीको मृत्यु भएको छ । सुर्खेतरोडमा शिक्षण अस्पताल

काठमाडौं : राष्ट्रिय बीमा संस्थानले जीवन बीमा सेवा र यसको सम्पूर्ण जानकारी अब मोबाइलबाटै उपलब्ध

चितवन : चितवन मेडिकल कलेज र आन्दोलनरत विद्यार्थीबीच सहमति भएको छ । आज दिनभर जिल्ला

काठमाडौं : नजिकिँदै गरेको दशैँ, तिहार र छठजस्ता मुख्य चाडपर्वका बेला भारतबाट रोजगारी गरेर फर्किने

काठमाडौं : सरकारले पर्यटन क्षेत्रमा पर्याप्त जनशक्ति उत्पादनका लागि ‘पर्यटन तथा पर्वतारोहण अध्ययन प्रतिस्ठान’ स्थापना

चितवन : भरतपुर महानगरपालिका–१६ का वडाध्यक्ष चतुर्मान गुरूङको ५८ वर्षको उमेरमा निधन भएको छ ।

काठमाडौं : राजनीतिक विवादका कारण रोकिएको मध्यपुरथिमि नगरपालिकाको तेस्रो नगरसभाले अन्ततः राजनीतिक सहमति जुटाउँदै बजेट,

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले नेपाली जनताको आवश्यकता र

अमेरिका : अमेरिकामा चिनियाँ भाषा बोल्ने चार पर्यटकको मृत्यु भएको छ । अमेरिकाको ब्रायस कन्योन

अमेरिका : सामाजिक सञ्जाल फेसबुकले दशौँ हजार एप्सलाई निलम्बन गरिदिएको छ । सन् २०१८ मार्चको

एजेन्सी : पछिल्लो समय अमेरिकाले इरान, त्यहाँका सर्वोच्च नेता आयातोल्लाह अलि खामेनी, दर्जनौँ उच्च पदस्थ

काठमाडौं : सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कर्मचारीको क्षमता अभिवृद्धि एकद्वार प्रणालीबाट गरिनुपर्ने