संसद्को गाँठो : लाल आयोग र सर्लाही घटना



काठमाडौं : प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस र राजपाले आजको प्रतिनिधि सभा बैठक अवरुद्ध पार्ने तयारी गरेका छन् । आफूहरूले अगाडी सारेका माग पुरा नभए आज बस्ने संसद् बैठक अवरुद्ध पार्ने जनाएका हुन् । नेत्रविक्रम चन्द समूहका सर्लाही इन्चार्ज कुमार पौडेल र सर्लाही ईश्वरपुरका सरोजनारायण सिंहको प्रहरीको गोली लागेर मृत्यु भएपछि त्यसको न्यायिक छानबिनका लागि संसदीय समिति गठन गर्न माग गर्दै प्रमुख प्रतिपक्ष दल काँग्रेस र राष्ट्रिय जनता पार्टी, नेपालले यस अघि पनि प्रतिनिधिसभा बैठक अवरुद्ध पार्दै आएका थिए ।

यस्तै राजपाले भने लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग दोहोराउने भएको छ । यसअघिपनि प्रतिवेदन सार्वजनिकको माग राख्दै पटक पटक संसद् अवरुद्ध पारेको थियो । काँग्रेस सचेतक पुष्पा भुसालले सर्लाही घटना गैर न्यायिक भएकाले संसदीय छानबिन समिति गठन गर्ने पर्ने बताइन् ।

द नेपाल टपसँग कुरा गर्दै उनले भनिन् ‘हामीले माग अघि सारेका छौँ यदि पुरा भएन भने बैठक चल्न दिँदैनौँ’ । संसद्मा काँग्रेस र राजपाले कार्यगत एकता गरेको  राजपाका संयोजक राज किशोर यादवले भने । उनले मागको सुनुवाइ नभए प्रतिनिधिसभा बैठक पनि अवरुद्ध पार्ने बताए । द नेपाल टप सँग कुरा गर्दै  उनले भने ‘सर्लाही घटना गैर न्यायिक हो , हाम्रो संविधानले कसैलाइपनि मार्ने अधिकार दिएको छैन यस घटनाको सत्यतक्ष्य बाहिर आउनकालागि संसदीय छानबिन समिति बनाउनुपर्छ उनी हाम्रो अर्को माग लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्छ यो कस्तो सरकार हो ?  सभामुखको रुलिङ लाई पनि नटेर्ने , जनताले थाह पाउनुपर्‍यो नि मधेस आन्दोलनमा के भयो भनेर , सरकार आफैले बनाएको आयोगको प्रतिवेदन सार्वजनिक गर्न किन आनाकानी ’ ।

मधेस तथा थरुहट आन्दोलनमा सरकार तथा आन्दोलनकारी दुवै पक्षबाट भए–गरेका गतिविधिको अध्ययन गर्न २ असोज ०७३ मा सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरीशचन्द्र लालको संयोजकत्वमा एक छानबिन आयोग गठन भयो ।आयोगले १७ महिना अध्ययन गरी प्रतिवेदन तयार र्पायो । र, सो प्रतिवेदन २९ माघ ०७४ मा सरकारलाई बुझायो । तर, अहिलेसम्म पनि लाल आयोगको प्रतिवेदन सार्वजनिक हुन सकेको छैन ।

प्रतिवेदनमा मधेस तथा थरुहट आन्दोलनबारे यो–यो बुँदा उल्लेख छ भन्ने विषयमा न त सरकारले जानकारी दिन चाहेको छ, न त राजपाले नै भन्न सकेको छ । राजपाले गत २६ फागुनको संसद् बैठकदेखि लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गर्दै आएको छ । लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न भन्दै सदनमा राजपाले चार पटक सदन अवरुद्ध गरिसकेको छ भने सभामुखले तीन पटक रुलिङ गरिसकेका छन् । तर, सरकारले भने आवश्यक परे सरकारले उपयुक्त समयमा सार्वजनिक गर्ने भनेको छ ।

 यी विषयको पार नलगाउँदा सम्म संसद्मा प्रवेश पाउनुपर्ने विषयहरू अड्किने देखिएको छ ।  बेलैमा गाँठो फुकाउन सरकारको पहल हसनुपर्ने जानकार हरू बताउँछन् ।प्रतिनिधि सभाको आजको बैठक दिउँसो एक बजेकालागि बोलाइएको छ । आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सम्बन्धी प्रश्नउत्तरको कार्यसूची छ । यस्तै आजको बैठमा विभिन्न प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्