असङ्गठित वैकल्पिक राजनीतिको आसलाग्दो परिणाम



काठमाडौं । विवेकशील नेपाली दलका संस्थापक उज्ज्वल थापाको निधन भएको ठिक एक वर्ष भएको छ । उनकै नेतृत्वमा सुसंस्कृत राजनीतिको आवाज उठाउँदै करिब एक दशकअघि विवेकशील नेपाली दलको स्थापना भएको थियो।

सत्ताको शान्तिपूर्वक विरोध गर्दै विकल्पको खोजी गर्ने सोचका साथ स्थापित दलका योजनाकार थिए, उनै थापा र उनका निकट मित्र गोविन्द नारायण। अभियानमा सम्मिलित थियो– मिलन पाण्डे, पुकार बम र सुबुना बस्नेतलगायत युवाहरूको एउटा महत्वपूर्ण जमात। २०७० सालमा भएको संविधानसभा निर्वाचनमा त्यस पार्टीले उम्मेदवारी त दिएको थियो परन्तु, त्यसको खासै चर्चा भएन। २०७२ सालमा भूकम्पको विपद्को समयमा त्यस दलले गरेको समाजसेवाको प्रभाव काठमाडौंमा राम्रोसँग परेको थियो।

२०७४ सालको स्थानीय निर्वाचनमा विवेकशील नेपाली दलको प्रभाव काठमाडौं महानगरपालिकामा राम्रोसँग देखिएको थियो। त्यसै निर्वाचनमा काठमाडौं महानगरपालिकामा प्रमुखको उम्मेदवार हुँदै रञ्जु दर्शनाले २३ हजार ४२९ मत पाएकी थिइन्। केही समय अगाडि स्थापना भएर पनि निर्वाचन आयोगमा दर्ता नभएको साझा पार्टीबाट प्रमुखका उम्मेदवार बनेका किशोर थापाले १८ हजार ४४९ मत पाएका थिए। वैकल्पिक राजनीतिको चाहना राख्नेको दबाबकै कारण ती २ दल एकता भएर विवेकशील साझा पार्टीको रूपमा संसदीय निर्वाचनमा सहभागी भएको थियो ।

त्यस दलले कुनै स्थानमा जित हात पारेन तथापि काठमाडौं र ललितपुरमा सम्मानजनक मत पाएको थियो । त्यही विवेकशील साझा पार्टी विभाजन, एकता र फेरि विभाजनको सङ्घारमा पुगेको छ । काठमाडौं, धरान र धनगढीलगायत शहरका बासिन्दाले मूलधारको राजनीतिप्रतिको वितृष्णालाई मतदानबाटै व्यक्त गरिसकेको समयमा वैकल्पिक शक्तिको रूपमा दाबी गर्ने विवेकशील साझा पार्टीको अवस्था खराब देखिएको छ।

कतिसम्म भने, त्यसै पार्टीमा सुदूरपश्चिम प्रदेश संयोजक भइसकेका गोपाल हमाल पार्टी परित्याग गरेर स्वतन्त्र उम्मेदवारी दिई धनगढी उपमहानगरमा अत्यधिक मतले प्रमुख पदमा विजयी भइसकेका छन्। बारामा एउटा पालिका सो दलले जितेको छ । परन्तु, देशका अन्य स्थानमा भने विवेकशील साझाको उपस्थिति नगण्य छ। उक्त पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले ‘विचारभन्दा माथि देश’ भन्दै गणतन्त्र र राजतन्त्रको विषयमा बहस गर्नुपर्ने आवाज उठाउँदै लामो दस्ताबेज सार्वजनिक गरेसँगै सो दल विभाजनको बाटोमा गएको थियो। उक्त दस्ताबेजप्रति असन्तुष्टि जनाउँदै मिलन पाण्डेलगायतका नेताहरू रवीन्द्र नेतृत्वबाट अलग भइसकेका छन्, यद्यपि, नयाँ पार्टी भने खोलिसकेका छैनन्।

उक्त पार्टी परित्याग गर्नेमा पाण्डेसँगै कोरोना महामारीको समयमा भएको ‘इनफ इज इनफ’ आन्दोलनका नेता पुकार बम र हमालसमेत थिए। हालै भएको स्थानीय तहको निर्वाचनमा देशकै राजधानीसमेत रहेको काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार ३२ वर्षीय बालेन्द्र साह जितको लगभग अन्तिम अवस्थामा छन्। उता, जनकपुरधाम उपमहानगरपालिकामा पनि स्वतन्त्र बनेर निर्वाचनमा होमिएका मनोज साहको अग्रता देखिएको छ र उनले जित्ने सम्भावना बढेको मत परिणामले देखाएको छ ।

प्रदेश १ को सुनसरीको धरान उपमहानगरपालिकामा पनि स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले प्रमुखमा बाजी मारेका छन्। ‘भुइँमान्छे’का रूपमा परिचय दिँदै सामान्य र एक्लो बनेर मत मागेका उनी आमजनको नजरमा नपरेका जस्ता देखिए तर मत भने सबैको पाए र विजयी भए।कैलालीका निलम्बित प्रतिनिधिसभा सांसद रेशम चौधरीकी श्रीमती रञ्जिता श्रेष्ठको अध्यक्षतामा गठित नागरिक उन्नत पार्टी टीकापुर नगरपालिकाका प्रमुखसहित कैलालीका ४ वटा पालिका जितेर जिल्लाकै ठूलो दल बनेको छ। डा. सीके राउतको नेतृत्वमा रहेको जनमत पार्टीले एउटा नगरपालिकासहित २ वटा पालिका जितेको छ।

यससँगै देशभर थुप्रै सामाजिक अभियन्ताले पनि यस पटकको स्थानीय तह निर्वाचनमा सफलता पाएका छन्। यी परिदृश्यले पुनः एउटा बहस सिर्जना गरेको छ–वैकल्पिक राजनीतिका आधार र शक्ति के हुन्, व्यक्तिको व्यक्तित्व ? वा बलियो र विस्तारित सङ्गठन ? अथवा सङ्गठनका योजना, नीति र कार्यदिशा ? किनभने उल्लिखित विजेताहरूमध्ये कसैसँग व्यक्तित्व मात्र त कसैसँग नीति र योजना मात्र थिए, छन् । साङ्गठनिक रूपमा यिनको अवस्था सुदृढ बनिसकेको अवस्था छैन।

तथापि, आमजनको ‘वैकल्पिक’ मत त यिनैले पाएका छन्। ‘स्वतन्त्र’हरूको यो सफलताले पछिल्लो समय नेपालमा वैकल्पिक राजनीतिको बहसलाई अगाडि ल्याएका उनै दिवङ्गत उज्ज्वल थापाले उठाएको ‘सुसंस्कृत राजनीति’ र ‘विकल्प सम्भव छ’ भन्ने कुरा उनको निधनको १ वर्षपछि पुष्टि भएको छ। तर, थापा आफैँ रहेको दल विवेकशील साझा भने सोही पार्टीका असन्तुष्ट नेताहरूकै शब्दमा ‘असमयमा’ ल्याइएको ‘विचारभन्दा माथि देश’को दस्ताबेजसँगै भिडमा हराएको छ।

प्रतिक्रिया दिनुहोस्