दोर्दी खोलाको २७ मेगावाट विद्युत प्रसारण लाइन अभावले राष्ट्रिय ग्रिडमा जोडिएन



लमजुङ । लमजुङको दोर्दी खोलामा निर्माण सम्पन्न भएको २७ मेगावाटको दोर्दी जलविद्युत आयोजनाको विद्युत प्रवाह हुने प्रसारण लाइन तयार नहुँदा राष्ट्रिय प्रणालीमा जोडिन सकेको छैन्।

प्राधिकरणले उदीपुरदेखि मध्यमर्स्याङ्दीसम्मको ६ किलोमिटर लामो प्रसारण लाइन निर्माण पूरा नगर्दा आयोजनाको विद्युत जोडिन नपाएको जलविद्युत आयोजनाका कार्यकारी प्रमुख गुरुप्रसाद ढकालले बताए।

उनका अनुसार लाइनको १.८ किलोमिटर मात्र तार तान्न बाँकी छ। नेपाल विद्युत प्राधिकरणले निर्माण गरिरहेको २२० केभी मर्स्याङ्दी कोरिडोर प्रसारण लाइन तयार नहुँदा आयोजना अहिलेसम्म पनि सञ्चालनमा आउन नसकेको हो। आयोजनाको सबै काम सम्पन्न गरेर परीक्षण गर्ने र प्राविधिकरणले जाँच गरेसँगै वैशाखको पहिलो साताबाट व्यावसायिक रुपमा विद्युत उत्पादन गर्ने योजना भएपनि लाइन तयार नहुँदा विद्युत खेर गइरहेको छ।

विसं ०७२ फागुनबाट निर्माण सुरु गरेको यस आयोजनाले विसं ०७५ भदौ १५ गते विद्युत उत्पादन गर्ने लक्ष्य राखेको थियो। पछि समय थपेर विसं ०७६ चैत मसान्तसम्ममा निर्माण सक्ने सम्झौता गरे पनि सोही अवधिमा पनि निर्माण सम्पन्न नभएपछि विसं ०७६ असारसम्म सक्ने गरी सम्झौता भएको थियो। सो समयमा पनि निर्माण सम्पन्न गर्न नसकेपछि विसं ०७६ पुस महिनामा बिजुली उत्पादन गर्ने लक्ष्यका साथ अघि बढेको थियो।

सो समयमा पनि बिजुली उत्पादन गर्न नसकेपछि विसं ०७७ चैत महिनासम्म बिजुली उत्पादन गर्ने लक्ष्य राखेपनि सम्पन्न भएन। सो पश्चात फेरि वैशाखदेखि उत्पादन गर्ने योजना भएपनि लाइन समस्याले गर्दा विद्युत जोडिन पाएन्।

नाकाबन्दी, अघिल्लो वर्षायाममा विद्युतगृहमा मर्स्याङ्दी नदीको पानी छिरेर मेसिनरी सामानमा पुराएको क्षति, कोरोनाका कारण जारी निषेधाज्ञा र सुरुङ निर्माण गर्ने क्रममा कमजोर चट्टान भेटिएकाले ढिलाइ हुन पुग्दा निर्धारित समयमा काम सम्पन्न नभएको आयोजनाले जनाएको छ। आयोजना सम्पन्न गर्न सुरुमा ४ अर्ब २३ करोड रूपैयाँ लाग्ने अनुमानका साथ निर्माण थालनी गरेपनि निर्माण अवधि लम्बिदै गएकाले ४ अर्ब ६४ करोड रुपैयाँसम्म खर्च भएको अनुमान गरिएको छ। आयोजनामा गैरआवसीय नेपाली सङ्घ (एनआरएनए) को ३५.७ प्रतिशत, आइएमई समूहको ३४.३ प्रतिशत र ३० प्रतिशत सर्वसाधारणको लगानी छ।

प्रतिक्रिया दिनुहोस्