रित्तो झोला बोकेर स्कुलमा कर्णालीका विद्यार्थी



  • जितेन्द्र थापा

सुर्खेत। यतिबेला कर्णालीलगायत देशभरका विद्यालय खुलेका छन् । विद्यालय सञ्चालनमा आए पनि विद्यार्थीको हातमा भने पाठ्यपुस्तक पुग्न सकेको छै । विद्यालय सञ्चालनमा आएर विद्यार्थी विद्यालय पुगे तापनि सुुर्खेत कर्णाली प्रदेशका अधिकांश विद्यालयहरूमा पाठ्यपुस्तक पुुग्न सकेको छैन।

शैक्षिक सत्र सुरु भएको २ साता बितिसक्दा पनि अहिलेसम्म विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुग्न सकेको छैन। सरकारले १ जेठदेखि शैक्षिक सत्र सुरु गरे पनि सरकारी विद्यालयमा अझै पाठ्यपुस्तक पुग्न नसकेको हो । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले पाठ्यपुुस्तक छपाइमा ढिलाइ गर्दा पाठ्यपुुस्तक उपलब्ध हुुन नसकेको हो, जसले गर्दा शिक्षकले पाठ्यक्रमका आधारमा पढाउन बाध्य छन् ।

पाठ्यक्रमका आधारमा शिक्षकले बोर्डमा लेखेअनुुसार अध्ययन गर्न विद्यार्थी बाध्य हुँदै आएका भएका छन् । माध्यमिक तहको पाठ्यपुस्तक छपाइ र वितरणको जिम्मा पाएको जनक शिक्षा सामग्रीको हेलचेक्र्याइँका कारण पाठ्यपुस्तक पुग्न नसकेको देखिन्छ । दुल्लु नगरपालिकाको श्री पञ्चकोसी माध्यमिक विद्यालयका प्रध्यानाध्यापक शिवराज खड्काले समयमा पाठ्यपुस्तक आइनपुुग्दा शिक्षकलाई पढाउन र विद्यार्थीलाई अध्ययन गर्न समस्या भएको बताए।

‘जेठको पहिलो सातादेखि विद्यालय सञ्चालन भए पनि पाठ्यपुस्तक उपलब्ध नहुुँदा पढाइ प्रभावकारी बन्न सकेको छैन’, उनले भने, ‘गत वर्षका पुस्तक स्टक राखिएको छैन। पाठ्यपुस्तक नहुँदा पठनपाठन असहज भएको छ । अल्फा पुस्तक पसललाई ढुवानीका लागि जिम्मा दिइएको छ, कहिले आउने टुङ्गो छैन ।’ अझ कक्षा ४, ७ र ९ का पाठ्यक्रम नयाँ भएका कारण कुुनै विषयका पुस्तकबिनै अध्ययन गर्नुपर्ने बाध्यता शिक्षकहरूलाई छ। पुस्तकबिना अन्य सिकाइ सम्भव नहुने उनी बताउँछन्। इन्टरनेटको सुविधा छैन, बालबालिकाले पाठ्यपुस्तक पढ्ने र शिक्षकले पढाउने गरेका छन् । पाठ्यपुस्तक छपाइमा ढिलाइ गर्दा बालबालिको पढाइमा असर परेको खड्काको भनाइ छ।

डोल्पामा पनि उस्तै
डोल्पाको शे–फोक्सुण्डो गाउँपालिकाका १२ वटै सामुुदायिक विद्यालयमा पाठ्यपुस्तक पुग्न सकेको छैन। पाठ्यपुस्तकबिना पठनपाठन सम्भव नहुुने शिक्षा शाखा प्रमुख ज्ञानु गुरुङले बताए। सदरमुकामबाट शे–फोक्सुण्डो गाउँपालिका पुग्न ५ दिन लाग्छ।

यसै पनि त्यहाँ पाठ्यपुस्तक पुुग्न समय लाग्ने गरेको छ। छपाइमा ढिलाइ भएकाले कुनै पनि विद्यालयमा पाठ्यपुस्तक पुग्न नसकेको गुुरुङको भनाइ छ। ‘यसै पनि डोल्पा जिल्लाको दुर्गम स्थानीय तह, त्यसमा पनि समयमै पाठ्यपुुस्तक पुगेन’, उनले भने, ‘विद्यालय सञ्चालन भए पनि पठनपाठनमा निकै समस्या भइरहेको छ ।’ सुर्खेतका सामुदायिक विद्यालयमा भौतिक उपस्थितिसहित पठनपाठन सुरु भइसकेको छ । तर, विद्यार्थीको हातमा पाठ्यपुस्तक छैन ।

विद्याथीहरू पाठ्यपुस्तकबिना नै पढिरहेका छन् । कर्णाली प्रदेशको राजधानीसमेत रहेको वीरेन्द्रनगर नगरपालिकामा समेत पाठ्यपुस्तक उपलब्ध छैन। विद्यार्थीको हातमा पाठ्यपुस्तक नपुग्नु र समयमै नछापिनुको निर्वाचनले गर्दा भएको वीरेन्द्र नगरपालिकाका शिक्षा शाखा प्रमुख उत्तमप्रसाद आचार्यको भनाइ छ ।अल्फा पुस्तक पसलका सञ्चालनक दिलबहादुर थापा जनक शिक्षा सामग्रीको ढिलाइका कारण पुस्तक नआएको बताउँछन्। ‘जनक शिक्षाले पुस्तक छपाइभन्दा अन्य कामलाई बढी महत्व दिएको देखियो’, उनले भने, ‘हरेक वर्ष विभिन्न बहाना बनाउँदा देशैभरि पाठ्युस्तक अभाव भइरहेको हो ।’

हातहातमै पाठ्यपुस्तक’ नारामै सीमित

विद्यालय भर्नाकै बेला विद्यार्थीको हातहातमै पाठ्यपुस्तक भन्ने सरकारको नारा औपचारिकतामै सीमित भएको छ। २०७९ सालसम्म माध्यमिक तहको पाठ्यक्रम परिमार्जन गर्ने सरकारको योजना छ। सोहीअनुसार यस वर्षदेखि कक्षा ४, ७ र ९ मा नयाँ पाठ्यक्रम लागू भएको छ ।

नयाँ पाठ्यक्रम लागू हुने भएपछि पाठ्यपुस्तक छाप्नुपर्ने हुन्छ । तर, जनक शिक्षा सामग्री सम्वेदनशील नबन्दा अझै ३५ लाख पाठ्यपुस्तक छपाइ हुन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्