हवाई सेवालाई सुरक्षित बनाउन कांग्रेसको माग



काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले हवाई सेवालाई सुरक्षित बनाउन सरकारसँग माग गरेको छ । तारा एयर दुर्घटनाका सन्दर्भमा कांग्रेस प्रवक्ता डा.प्रकाशशरण महतले विज्ञप्ति जारी गरी हवाई सेवालाई सुरक्षित बनाउन माग गरेका हुन् ।

प्रवक्ता महतको विज्ञप्तिमा भनिएको छ, “नेपालको हवाई सेवालाई सुरक्षित बनाउन सम्भाव्य सबै उपाय अवलम्बन गर्न पनि नेपाली कांग्रेस नेपाल सरकारसँग माग गर्दछ ।” कांग्रेसले आइतबार मुस्ताङमा भएको दुर्घटनाप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जलि र परिवारमा समवेदना पनि प्रकट गरेको छ ।

“२०७९ जेठ १५ गते आइतबार पोखराबाट जोमसोमको लागि उडेको तारा एयरको यात्रुवाहक जहाज मुस्ताङको थसाङ गाउँपालिका-२ को सानोस्वारे भीरमा दुर्घटनाग्रस्त हुँदा विमानमा सवार चालकदलका सदस्यसहित सम्पूर्ण यात्रुहरुको निधन भएको घटनाप्रति नेपाली कांग्रेस दुःख प्रकट गर्दछ ।” विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्