३३ लाख थान पाठ्यपुस्तक छपाइ गर्नै बाँकी



भक्तपुर । शैक्षिक सत्र सुरु भएको तीन हप्ता बित्नैलाग्दा पनि विद्यार्थीको हातमा पुस्तक पुग्न सकेको छैन । विद्यालय तहका कक्षा ४ देखि कक्षा १० सम्मको पुस्तक छपाइ एवम् वितरणको जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले सबै पुस्तक समयमै छपाइ तथा वितरण गर्न नसक्दा देशभर किताब अभाव भएको हो ।

सरकारले कक्षा १ देखि ३ सम्मको पाठ्यपुस्तक छाप्ने जिम्मा निजी क्षेत्रलाई दिएपछि जनक शिक्षाले कक्षा ४ देखि १० सम्मको पाठ्यपुस्तक छाप्दै आएको छ । विगतमा पनि केन्द्रले समयमै पुस्तक छाप्न नसकेको भन्दै केही वर्षअघि नै सरकारले निजी क्षेत्रलाई पुस्तक छपाइको जिम्मा दिएको थियो ।

जनक शिक्षाले अझै ३३ लाख थान पुस्तक छाप्नै बाँकी रहेको छ । चालु शैक्षिक सत्रका लागि आवश्यक एक करोड ९८ लाख थान पुस्तक छाप्नुपर्नेमा अहिलेसम्म एक करोड ६५ लाख थान मात्रै पुस्तक छापिएको केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झाले जानकारी दिएका छन।

जनक शिक्षाले विद्यालय तहको ८५ प्रतिशत पुस्तक छपाइ सम्पन्न गरेको र १५ प्रतिशत छपाइ भइरहेको जनाएको छ । ‘यस वर्षको शैक्षिक सत्रलाई जनक शिक्षाले एक करोड ९८ लाख थान पुस्तक छाप्नुपर्ने हो, अहिलेसम्म एक करोड ६५ लाख थान पुस्तक छपाइ सम्पन्न भएर वितरण गरिसक्यौँ, बाँकी पुस्तक असार पहिलो हप्तासम्म छपाइ सक्छौँ र अबको एक महिनाभित्र नै विद्यार्थीको हातहातमा पुस्तक पुग्छन्’, झाले भने।

केन्द्र बिक्रेतामार्फत ७७ वटै जिल्लामा पुस्तक वितरण सुरु गरिसकेको जनाउँदै उनले काठमाण्डौ उपत्यकाभन्दा बाहिर हिमाली तथा पहाडी जिल्लालाई प्राथमिकतामा राखेर पुस्तक वितरण गरेको बताएका छन । बहिरी जिल्लामा अपुग भएको पुस्तक दैनिक एकरदुई ट्रक पठाइ रहेको पनि उनले जानकारी दिएका छन ।

केन्द्रका सूचना अधिकृत चित्र आचार्यले पुस्तक वितरण ढिलाइ हुँदा विद्यार्थीको हातमा पुग्न पनि ढिलो भएको दाबी गरे । उनले देशभर पुस्तक अभाव भनेर हल्ला भए झैँ नभएको दाबी गरेका छन। उनले भने, ‘शैक्षिक सत्र सुरु हुनुभन्दा १५ दिन अगाडि नै पुस्तक बिक्री वितरण हुनुपर्थ्यो, यस वर्ष पालिका चुनावले गर्दा जेठ ९ गतेदेखि मात्रै पुस्तक वितरण सुरु भयो, फेरि बाहिर हल्ला भए झैँ सबै पुस्तक सबै ठाउँमा अभाव भएको छैन, केही कक्षाका सेटमा एक–दुई विषयको पुस्तक अपुग भएको छ, त्यो पनि असारको २० गतेसम्म सबै विद्यार्थीको हातहातमा पुग्छ ।’

कक्षा ४, ७ र ९ को पाठ्यक्रम नयाँ भएकाले ती कक्षाका सबै विषयको पुस्तक सेटमै सबै विद्यार्थीको हातमा पुगेको दाबी गर्दै उनले ५, ६ र ८ को पुस्तकको हकमा भने सेटमा केही विषय कुनै–कुनै जिल्लामा मात्रै अपुग रहेको बताएका छन् । यस वर्ष निजी विद्यालयले पनि जनक शिक्षाको केही पुस्तक केही कक्षामा लगाएकाले केही विषय बजारमा अभाव भएकाले त्यस्ता विषयको पुस्तक बढी छाप्नुपर्ने अवस्था आएको उनको भनाइ छ ।

कागजको नियमित आपूर्ति नहुँदा र जनक शिक्षाले पालिका चुनावको मतपत्र छपाइलाई विशेष ध्यान दिएर त्यसमै जनशक्ति एवम् छापाखाना प्रयोग गर्नुपर्दा पुस्तक छपाइमा केही ढिला हुन गएको सूचना अधिकृत आचार्यले बताएका छन्। अहिले जनक शिक्षाले दैनिक ८० हजार थान पुस्तक छाप्दै आएको र प्रज्ञा प्रतिष्ठानले २५ हजार थान गरेर दैनिक एक लाख पाँच हजार थान पुस्तक छाप्दै आएको उनले जानकारी दिएका छन्।

यसैबीच केन्द्रले पुस्तक छपाइमा ढिलाइ गरेपछि सङ्घीय संसद् प्रतिनिधि सभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले समेत केन्द्रका प्रबन्ध निर्देशक झासँग सोधपुछ गरेको थियो । उनले रुस–युक्रेनबीचको युद्धका कारण कागज नआउँदा र पालिका चुनवका लागि मतपत्र छपाइ गर्दा समयमै पुस्तक छाप्न नसकिएको बताएका छन ।

प्रतिक्रिया दिनुहोस्