मिल्ने र मिलाउने गृहकार्यमा नेताहरू



काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बामपन्थी दलहरूबीच एकताको पक्षमा छन् । एकताको कदम नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबाट चालियोस् भन्ने उनको अपेक्षा छ ।
सङ्घीय संसद्मा नीति तथा कार्यक्रममाथिको छलफलको क्रममा आइतबार व्यक्त उनको भनाइले यसको पुष्टि गर्छ ।
‘… उहाँ (ओली)ले ३ घन्टा बोल्नुभयो । ३ घन्टै बसेँ म यहाँ– कहीँ उहाँले बामपन्थी एकताको पक्षमा वातावरण बनाउने कुरा पनि गर्नुहुन्छ कि भनेर ?’, प्रचण्डले भनेका थिए ।
उनले अध्यक्ष ओलीबाहेकका नेता, कार्यकर्तासँग मिलेर काम गर्न कठिन हुने नदेखिएको पनि बताए ।
प्रचण्डका यी अभिव्यक्तिहरूले उनी फेरि बाम आन्दोलनलाई एकताबद्ध भएर अगाडि बढाउन मञ्जुर रहेको अनुमान गर्न असहज छैन ।
विगतलाई हेर्ने हो भने दलहरूबीच एकता प्रक्रिया हुने भनेको निर्वाचनको अघि र पछि हो । निर्वाचनअघि एकता गर्न चाहनुको कारण निर्वाचनमा एकताबद्ध भएर जाँदा राम्रो परिणाम निकाल्न सकिन्छ भन्ने हो ।
निर्वाचनपछि एकताको सवाल उप्किनुचाहिँ पराजयको कारण विभाजित हुनु र हारका कारण बामपन्थी आन्दोलन कमजोर हुने आत्मालोचनाले हो ।
२०७४ सालमा भएको स्थानीय तह निर्वाचनबाट एमाले पहिलो दल बनेको थियो । प्रदेश र सङ्घीय निर्वाचनमा पनि एमाले– माओवादीबीच गठबन्धन हुँदा एमाले पहिलो बनेको थियो ।
तर, ३० वैशाखमा भएको निर्वाचनपछि एमालेको ‘साइज’ खुम्चिएको छ । अर्थात् पहिलोदेखि दोस्रो दलको हैसियतमा छ । पार्टीको हैसियत खस्किँदा ओलीले आत्मालोचना गर्दै फेरि पार्टी एकता प्रक्रिया अघि बढाऊन् भन्ने प्रचण्डले चाहेको प्रष्ट भएको छ ।
एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य निर्वाचन परिणामले ओली मात्र होइन, प्रचण्ड र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालको पनि चेत आउनुपर्ने बताउँछिन् । निर्वाचन परिणाम कांग्रेसबाहेक कुनै दलको पक्षमा नआएको उनको भनाइ छ ।
उनका अनुसार कम्युनिस्ट पार्टीहरू विभाजित हुँदा कांग्रेस ठूलो पार्टी बनेर स्थानीय तहबाट उदायो । उसो त राजनीतिक दस्ताबेजहरूमा एमाले, माओवादीलगायत कम्युनिस्ट पार्टीले प्रधान शत्रु किटान गर्ने भनेको कांग्रेसलाई हो ।
तर, ३ कम्युनिस्ट शक्ति माओवादी, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले कांग्रेससँगै तालमेल गरेर एमालेलाई खुम्च्याइदिए । कांग्रेसलाई पहिलो दलको हैसियतमा पुर्‍याइदिए ।
उपाध्यक्ष शाक्य निर्वाचन परिणामले कुन दल ठूलो र सानो भन्दा पनि बाम आन्दोलन सङ्कटमा परेको भन्दै चिन्ता व्यक्त गर्छिन् ।
‘निर्वाचन परिणामले कमरेड केपी, कमरेड प्रचण्ड र कमरेड माधवलाई एउटा चेत आएको हुनुपर्छ । निर्वाचनको परिणामले बाम आन्दोलन त तहसनहस भएको देखायो । मिलेर जानुबाहेक विकल्प हामीसँग देखिएन’, शाक्यले द नेपालटपसँग भनिन् ।
उनले माओवादी र एकीकृत समाजवादीसँग पार्टी एकताबारे सामान्य छलफल भइरहेको पनि सुनाइन् । माओवादीबाट नेता वर्षमान पुनलगायत फेरि कम्युनिस्ट पार्टीहरूबीचको एकताको पक्षमा छन् । पुनले एकताको विकल्प नभएको यसअघि बताइसकेका छन् ।
५ दलीय गठबन्धनका ‘डिजाइनर’समेत रहेका प्रचण्ड पनि एकताको पक्षमा रहेका सोमबारको उनको अभिव्यक्तिले पुष्टि गरिसकेको छ ।
माओवादी नेता शक्ति बस्नेत भने माओवादी–एमाले एकताका लागि कुनै ठोस प्रक्रिया अघि नबढाइएको बताउँछन् । उनले केही नेताले भने एकताबारे अनौपचारिक कुरा गरेको हुन सक्ने बताए ।
प्रचण्डले ‘बाम एकताको पक्षमा वातावरण बनाउने कुरा गर्नुहुन्छ होला’ भन्नुको अर्थ पार्टी विभाजनले क्षतिको ‘रियलाइज’ भएको र ओलीले एकता गरेर फेरि जाऔँ भन्ने होलान् भन्ने रहेको बस्नेतले प्रष्ट पारे ।
५ दलीय गठबन्धनमा रहेको अर्को दल एकीकृत समाजवादीका सम्मानित नेतासमेत रहेका पूर्वप्रधानमन्त्री झलनाथ खनालले पनि स्थानीय तह निर्वाचनको परिणामपछि बारम्बार बामपन्थी दलहरूबीच एकताको पक्षमा अभिव्यक्ति दिँदै आएका छन् ।
निर्वाचनबाट अपेक्षाकृत नजिता पार्टीको पक्षमा नआएको उनको दलको ठहर छ । पार्टी अध्यक्ष माधवकुमार नेपालले गठबन्धनका २ ठूला दल कांग्रेस र माओवादीबाट ‘धोका’ पाएको सार्वजनिक रूपमा बोलिसके ।
तालमेलप्रति असन्तुष्ट उक्त दलका धेरै नेताहरू शीर्ष नेताहरूबीच आत्मालोचना गरेर एकता प्रक्रियामा जोडिनुपर्ने पक्षमा छन् ।
यी ३ दलका नेता, कार्यकर्ताहरू २३ फागुन २०७७ अघिसम्म नेकपामा आबद्ध थिए । स्थानीय तह निर्वाचनको परिणामपछि यी दलहरूबीच एकताको स्वर गाइँगुइँ सुनिन थालिएको हो ।
जसपा र लोसपाबीच एकता चर्चा 
राजनीतिक आधार थलो मधेस भएका २ दल जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले स्थानीय तह निर्वाचनमा परिणाम राम्रो प्राप्त गर्न सकेनन् ।
परिणामप्रति दुवै दल सन्तुष्ट छैनन् । नभएकै बेला जसपा अध्यक्ष उपेन्द्र यादवले लोसपासँग एकताका लागि ढोका मात्र होइन, गेट नै खुला रहेको बताउने गरेका छन् ।
गठबन्धन दलहरूबीच स्थानीय तह निर्वाचनमा भएको तालमेलप्रति उनको चर्को असन्तुष्टि छ ।
सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको निर्वाचन समीक्षा बैठकमा उनले कांग्रेस र माओवादीबाट ठाउँठाउँमा घात भएको बताएका थिए ।
निर्वाचनमा घातको महसुस गरेका उनले लोसपासँग एकताका लागि तयार रहेको सन्देश दिएका छन् ।
तर, लोसपाका धेरै नेता, कार्यकर्ताहरू एकताको पक्षमा छन् । पार्टीका राष्ट्रिय कार्यकारिणी समिति सदस्य केशव झाले एकता हुन २ पार्टीलाई असहज पटक्कै नभएको बताए ।
‘हाम्राबीचमा मिल्ने नसकिने मतभेद छैन । तर, नेताहरूले तीतामीठा बिर्सिसकेका छैनन्’, झाले भने, ‘नेताहरूको मन मिल्नेबित्तिकै एकता हुन्छ किनभने जनताले विभाजन अस्वीकार गरेको त देखियो नि !’
२ दलबीच १० वैशाख २०७७ को रातमा एकता भएको थियो । तर, एकता १६ महिना नहुँदै टुट्यो ।

प्रतिक्रिया दिनुहोस्