नगर प्रमुख संयोजकत्वको समितिले सदस्यको नाम नै पाएन



काठमाडौं । राजनीतिक दलहरूको असहयोगका कारण काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहको पहिलो निर्णय नै कार्यान्वयन हुन सकेन ।
शपथग्रहणपछि बसेको कार्यपालिका बैठकले प्रमुखको संयोजकत्वमा फोहोरमैला व्यवस्थापन समिति बनाएर मंगलबार बिहान साढे ९ बजे बैठक बस्ने मिति तय गरेको थियो ।
सो समितिमा हरेक दलबाट २ जनाका दरले प्रतिनिधि पठाउने प्रस्तावमा सदस्यले ताली ठोकेर सहमति जनाए । वडाध्यक्षको संयोजकत्वमा बनाउन प्रस्ताव गरिएको यस्तो समिति वडाध्यक्षकै रायमा प्रमुखको संयोजकत्वमा बनाउने सहमति भएको थियो ।
सहमतिपछि प्रमुखले दलका तर्फबाट २ जनाका दरले नाम दिन भने पनि दलहरूले सदस्यको नाम नदिएपछि बिहान बस्ने भनिएको बैठक नै बस्न सकेन ।
बैठकमा फोहोर व्यवस्थापनको विषयले मुख्य प्राथमिकता पाएको बैठकमा वडा–१५ का वडाध्यक्ष ईश्वरमान डङ्गोलले फोहोर व्यवस्थापनका नभएसम्म बैठक भत्ता नलिने घोषणा गर्दै कार्यकारी अधिकृतलाई बैंक खातामा पैसा नहालिदिन आग्रह गरेका थिए ।
वडा– ६ का वडाध्यक्ष भुवन लामाले वडा तहबाटै फोहोरको व्यवस्थापन गर्नुपर्ने धारणा राखेका थिए । उनले हरेक वडाको सार्वजनिक जग्गामा मेसिन जडान गरेर वडा तहबाटै व्यवस्थापन गरिनुपर्ने बताएका थिए । सार्वजनिक जग्गा नभएका वडाहरूलाई समेट्ने गरी अर्को वडामा मेसिन जडान गरेर फोहोर व्यवस्थापन गर्न सकिने उनको भनाइ थियो ।
अधिकांश वडा अध्यक्षको प्राथमिकता फोहोर व्यवस्थापन भए पनि प्रमुखले मागेको नाम भने दलहरूले दिएनन् ।
महानगरका एक कर्मचारीका अनुसार दलका तर्फबाट सदस्यको नाम नआएपछि समितिको बैठक बस्न नसकेको हो । यस समितिले ७ दिनभित्र कार्यविधि बनाउने तय भएको थियो ।

प्रतिक्रिया दिनुहोस्