संघ र प्रदेश निर्वाचनमा तालमेल कठिन



काठमाडौं । ५ दलीय गठबन्धनबीच आगामी सङ्घीय र प्रदेश संसद्को निर्वाचनमा तालमेल कठिन हुने देखिएको छ। स्थानीय निर्वाचनको परिणामलाई लिएर नेपाली कांग्रेसबाहेकका दलहरू असन्तुष्ट छन्। ती दलका नेताहरूले असन्तुष्टिलाई सार्वजनिक रूपमै व्यक्त गर्न थालेका छन् । एक–अर्काप्रति लाञ्छना लगाउने र चेतावनी दिन पनि थालेका छन् ।

असन्तुष्टमध्येको एउटा दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेजस्तै दम्भ देखाए कांग्रेसलाई ठोक्ने चेतावनी दिइसकेका छन् । प्रचण्डको यो चेतावनीप्रति कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धन तोडिए तोडियोस् भन्ने अर्थमा जवाफ दिँदै भनेका छन्, ‘कांग्रेस हारेर पनि देशलाई जोगाएको इतिहास छ।’ नेकपा (एकीकृत समाजावदी)का अध्यक्ष माधवकुमार नेपालको प्रचण्ड प्रधानमन्त्रीको लोभमा परिसकेको आरोप छ। कांग्रेस र माओवादी दुवैले इमान्दारीसाथ मत नदिएको पनि नेपालको आरोप छ।

जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाले तालमेलप्रति यसअघि नै असन्तुष्टिहरू व्यक्त गरिसकेका छन् । १७ चैत २०७८ मा स्थानीय निर्वाचनमा तालमेलको निर्णय गर्दैगर्दा गठबन्धन दलका नेताहरूले सङ्घीय र प्रदेश संसद्को निर्वाचनमा पनि तालमेल हुने बताएका थिए । तर, स्थानीय निर्वाचनमा स्वस्थ ढङ्गको तालमेल गठबन्धन दलहरूबीच भयो । सोही कारण आगामी सङ्घीय र प्रदेश संसद्को निर्वाचनमा पनि त्यस्तै हुन सक्ने डर कांग्रेसबाहेकका दललाई छ।

एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले गठबन्धनभित्र तनाव उत्पन्न भएको र समाधान नभए तालमेल हुनेबारे यसै भन्न नसकिने बताए । ‘गठबन्धनभित्र केही तनाव छन् । तनावको व्यवस्थापन भए भने दुई तहकै निर्वाचनमा तालमेल हुन्छ । हाम्रा अध्यक्ष माधव नेपाल र माओवादी अध्यक्ष प्रचण्ड कमरेडको मुखबाट तनाव प्रकट भइरहेका छन्’, उनले द नेपालटपसँग भने, ‘हाम्रो माग कांग्रेस र माओवादीले तालमेलको धर्म इमान्दारीपूर्वक पालना गर्नुपर्छ । होइन भने तनावको समाधान पनि हुँदैन । त्यस्तो अवस्थामा दुई तहको निर्वाचनमा तालमेल कसरी होला ? तैपनि समाधानको प्रयास गर्छौं ।’

उनले सम्मानजनक सिट बाँडफाँट हुने र गठबन्धनको धर्म निर्वाह गर्ने अवस्थामा तालमेल सम्भव हुने बताएका छन् । गठबन्धन दलहरूले सोमबार र मंगलबार निर्वाचनको समीक्षा पनि गरेका छन् । सो क्रममा गठबन्धनका नेताहरूले एक–अर्काप्रति आरोप–प्रत्यारोप लगाएका थिए । यद्यपि, तालमेल नगरी निर्वाचनमा पार्टीको अस्तित्व जोगाउनै मुस्किल पर्ने अवस्थामा गठबन्धनका केही दल छन् ।

ती दलमा पर्छन्, एकीकृत समाजवादी र जनमोर्चा । एकीकृत समाजवादी पहिलो पटक सङ्घीय र प्रदेशसभा निर्वाचनमा सहभागी हुन खोजेकाले उक्त दलको राम्रो प्रभाव क्षेत्र किटान गर्न सकिने अवस्था छ्रैन । जनमोर्चाको प्युठान, बाग्लुङ र अर्घाखाँची प्रभाव भएको जिल्ला भनिए पनि कुनै दलसँग तालमेल नगरी निर्वाचन जित्न सक्नेगरीको हैसियत छैन। कांग्रेस, माओवादी र जसपालाई भने एकीकृत समाजवादी र जनमोर्चालाई जस्तो चिन्ता छैन। कांग्रेसको चाहना स्थानीय तहमा जसरी पहिलो दल बन्ने हो। माओवादी र जसपाले अघिल्लो पटकभन्दा धेरै सिट जित्न तालमेल गर्न चाहेको हो। तर, स्थानीय निर्वाचनको परिणामपछि असन्तुष्टि व्यक्त गर्ने मात्र नभइ एक–अर्काप्रति आरोप लगाउन गठबन्धनका नेताहरू व्यस्त छन्।

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले एक–अर्काप्रति आरोप लगाउने कार्य ठीक नभएको बताए। ‘एउटा दलले अर्को दलप्रति लाञ्छना लगाउने खालको, आंशका गर्ने खालको र चेतावनीयुक्त भाषा बोलेको गर्नु हुँदैन। त्यसकारण पहिला चाहिँ जिल्ला समन्वय समिति र एक स्थानीय तहको पनि परिणाम आओस्। अनि, १–१ गिलास ठन्डा पानी खाएर गम्भीर भएर सोचौँ, कहाँ के कमजोरी कसको भयो। त्यसपछि निष्कर्षमा पुगौँला’, शर्माले भने। गठबन्धन दलहरूबीच सङ्घीय र प्रदेश संसद्को निर्वाचनमा तालमेल हुन्छ ? भन्ने प्रश्नमा उनले अहिल्यै भन्दा हतारो हुने बताए।

उनका अनुसार पार्टीको केन्द्रीय समिति बैठकपछि मात्रै तालमेलबारे स्पष्ट हुन्छ। माओवादी नेता गणेश साहले पनि गठबन्धन तालमेल स्थानीय निर्वाचनमा पूर्ण रुपमा सफल नभएकाले यसै भन्न नसकिने बताएका छन्। उनले मधेस प्रदेशमा त नगरपालिका र गाउँपालिका तहमा पटक्कै नभएको बताए।

‘तालमेल भनेको एकअर्कालाई सहयोग गर्ने र निर्वाचन जित्न हो तर कांग्रेसलाई ठूलो बनाउन मात्र भए जस्तो देखियो। मधेसमा महानगर र उपमहानगरबाहेक अन्त कहीँ भयो ? त्यही भएर तालमेल हुन्छ म भन्न सक्दिनँ’, साहले भने । सङ्घीय र प्रदेश संसद्को निर्वाचनको मिति भने सरकारले घोषणा गरिसकेको छैन। तर, कात्तिक अन्तिम वा मंसिरमा २ चरणमा निर्वाचन गर्ने चर्चा चलेको छ।

प्रतिक्रिया दिनुहोस्