बैतडी सदरमुकाम खेलमैदानको निर्माण कार्य सुरु, मेयरद्वारा शिलान्यास



बैतडी । बैतडी जिल्ला सदरमुकाममा रहेको जगन्नाथ बहुमुखी क्याम्पसको खेलमैदान शिलान्यास गरिएको छ । उक्त खेलमैदानको आइतबार दशरथचन्द नगरपालिकाका नगर प्रमुख पुष्करराज जोशी लख्खाभाईले शिलान्यास गरेका हुन् ।

सुदूरपश्चिम प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयको १० लाख रकममा बन्न लागेको उक्त खेल मैदान यसै आर्थिक वर्षमा निर्माण सम्पन्न गरिनेछ । मैदान १ सय मिटर लम्बाई ५० मिटर चौडाइको बन्ने क्याम्पस प्रमुख पृथ्वी राज अवस्थीले बताए ।

खेल मैदान क्याम्पसकै जमिनमा बन्न लागेको हो । स्नातकोत्तर सम्म पढाई हुने उक्त क्याम्पसमा ३ सय विद्यार्थीहरू अध्ययनरत रहेका छन् ।

क्याम्पसमा खेल मैदान निर्माण भएपछि जिल्ला सदरमुकाममा आयोजना हुने खेल प्रतियोगिताहरू त्यसै मैदानमा गर्न सकिने क्याम्पस प्रमुख अवस्थीले बताए ।

मैदान शिलान्यास गर्दै दशरथचन्द नगरपालिकाका मेयर लख्खाभाइले भने, ‘सदरमुकाममा युवाहरूका लागि एउटा खेल मैदान नहुँदा निकै समस्या छ । खेल मैदान अतिआवश्यक पूर्वाधार हो । युवाहरूलाई खेल क्षेत्रमा प्रोत्साहित गर्न मात्रै नभई अन्य कार्यक्रम गर्न पनि जरुरी थियो त्यसैले आज निर्माण सुरु गरेका छौँ । आगामी दिनमा यसलाई व्यवस्थित बनाउने छौँ । यस मैदानमा महोत्सवहरू, रामलीला लगायतका क्रियाकलाप गर्न सहज हुनेछ ।’

प्रतिक्रिया दिनुहोस्