साउन ३१ बाट ‘द भ्वाइस अफ नेपाल सिजन–२’ प्रशारणमा आउने



काठमाडौं : नेपालको चर्चित गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सिजन–२’ यहीँ साउन ३१ गतेबाट प्रशारण हुने भएको छ। सो हिमालय टीभी एचडीमा हरेक शुक्रबार र शनिबार राति ८ बजेदेखि ९ बजेसम्म प्रसारण हुनेछ।

कार्यक्रमका जम्मा ३२ वटा श्रृंखला प्रशारण हुनेछन्। २ हजार २ सय प्रतिस्पर्धीमध्ये ‘डिजिटल अडिसन’बाट ११० जना प्रतिस्पर्धी छनोट गरिएको छ। यी नयाँ प्रतिभाहरूले ब्लाइन्ड अडिसनमा कोचहरुसामु आफ्नो आवाज सुनाएका छन्।

यसपटक सबै प्रतिस्पर्धी उत्कृष्ट भएकाले प्रतिस्पर्धा निकै कडा हुने निर्देशक लक्ष्मण पौडेलले बताए। शोका चार कोचमध्ये पहिलो सिजनबाट दीप श्रेष्ठ र प्रमोद खरेल दोहोरिएका छन् भने सनुप र अभयाको ठाउँमा गायक राजु लामा र गायिका आस्था राउतलाई देख्न सकिन्छ। डिजिटल अडिसनपछि ब्लाइन्ड अडिसनका लागि १२ वटा श्रृंखला सुटिङ भइसकेको छ।

पहिलो सिजनमा खासै यो कार्यक्रम राम्रो नभएको भन्ने विभिन्न गुनासो आएकाले यसपटक नयाँ ढंगबाट कार्यक्रमलाई संचालन गरिएको छ।

गत वर्ष ‘द भ्वाइस अफ नेपाल’ को लाइभ शोमा एकै दिन चारजना आउट भएको गुनासो आएका कारणले यसपटक ‘ब्लाइन्ड’, ‘ब्याटल’ पछि प्रत्येक ‘लाइभ शो’मा एक जनाका दरले आउट हुने र फिनालेमा पुग्नका लागि ‘लाइभ शो’ पछि ‘नक आउट चरण’ थपिने भएको छ। यो वर्ष ‘नक आउट’ चरणमा धेरै बाहिरने भएका छन्।

प्रतिक्रिया दिनुहोस्