निर्वाचनपछि १३ प्रतिशत महँगियो भान्सा



काठमाडौं । स्थानीय तहको निर्वाचन सकिएलगतै सर्बसाधारणको भान्सालाई महँगीले थिचेको छ। नेपाल खुद्रा व्यापार संघलगायतका तथ्यांकले निर्वाचनपछिको एक महिनामा मात्रै १३ प्रतिशतले भान्सा महँगिएको देखाएको छ।

संघको तथ्याङ्क हेर्दा पछिल्लो १५ दिनमै खाने तेलमा प्रतिलिटर १३ प्रतिशतले मूल्यवृद्धि भएको छ। संघको १ देखि १५ जेठसम्मको बजार मूल्यसँग तुलना गर्दा खाने तेल प्रतिलिटर १३ प्रतिशतले वृद्धि भएको हो। १५ दिनमै १३ प्रतिशतका दरले मूल्य वृद्धि हुँदै जाने हो भने वर्ष दिनमै खाने तेलको मूल्य ३१६ प्रतिशतले वृद्धि हुनेछ ।

पछिल्लो समय दैनिक उपभोग्य वस्तुको मूल्य अत्यधिक वृद्धि हुँदै भएको छ। उद्योगी तथा व्यापारीहरू रुस–युक्रेनबीचको युद्ध र पेट्रोलियम पदार्थको मूल्य वृद्धिलगायतका विभिन्न बहना बनाउँदै दैनिक उपभोग्य वस्तुमा अत्यधिक मूल्य वृद्धि गरिरहेका छन्। दैनिक उपभोग्य वस्तुको चर्काे मूल्य वृद्धि हुँदा सर्वसाधारणको दैनिकीमा सकस आउँदा पनि सरकारी निकाय भने कानमा तेल हालेर बसेको छ। पछिल्लो समय बजारमा भएको अचाक्ली महँगीलाई नियन्त्रण गर्ने कुनै कदम चालेको छैन सरकारले। विभिन्न बहनामा उद्योगी, व्यापारीले १५ दिनमै अस्वाभाविक रूपमा मूल्य वृद्धि गर्दा पनि सरकारी निकाय भने मूक दर्शक भएर बसेको छ।

संघको तथ्याङ्कअनुसार १ जेठमा सनफ्लावर तेलको मूृल्य प्रतिलिटर ३१० रुपैयाँ थियो भने १५ जेठमा प्रतिलिटर ५० रुपैयाँले वृद्धि भई ३६० रुपैयाँ पुगेको छ । यस्तै भटमास तेल ३०४ रुपैयाँबाट प्रतिलिटर ३० रुपैयाँ वृद्धि भई ३३५ रुपैयाँ पुगेको छ। काँचो तोरीको तेल ३७५ रुपैयाँबाट ३८० रुपैयाँ पुगेको छ भने कालो भटमास प्रतिकिलो २२५ रुपैयाँबाट १५ दिनमै बढेर २८० रुपैयाँ पुगेको छ। कालो भटमास प्रतिकिलो १२५ रुपैयाँबाट १३० रुपैयाँ पुगेको छ। नेपाल खुद्रा व्यापार संघका महासचिव अमूल तुलाधरले रहेको दैनिक उभपोग्य वस्तुको मूल्य वृद्धि भएको बताए।

खाने तेलदेखि लिएर लुगा धुने साबुनसम्म दैनिक रूपमा प्रयोग हुने वस्तुमा ५ देखि १५ प्रतिशतसम्म मूल्य वृद्धि भएको उनले बताए। पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्यदेखि ढुवानी भाडा वृद्धि हुँदा बजारमा दिन प्रतिदिन विभिन्न वस्तु महँगिँदै गएका उनको भनाइ छ ।

मूल्य नियन्त्रण गर्न सरकारी निकायको कुनै पहल नहुँदा ठूला थोक उद्योगीदेखि व्यापारीको मनपरी हुँदा दिनदिनै दैनिक उपभोग्य वस्तु महँगिँदै गएका उनको आरोप छ। ठूलो उद्योगी, व्यापारीलाई सरकारले अनुगमन नगर्ने हुँदा सधैँ खुद्रा व्यापारी र उपभोक्ता मर्कामा पर्ने गरेको उनको गुनासो छ। बजार अनुगमन गर्ने नियामक निकाय बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुचित क्रियाकलाप गरी व्यवसाय गर्ने १ हजार २०१ व्यापारिक फर्महरूलाई कारबाही गरी १ करोड ५० लाख ८६ हजार रुपैयाँ जरिमाना असुली गरेको दाबी गरेको छ।

विभागले बजार अनुगम गरी १ हजार २०१ व्यवसायीलाई कारबाही गरेको दाबी गरे पनि उपभोक्ताले बजार अनुगमनको अनुभूतिसमेत गर्न पाएका छैनन् । उद्योगी, व्यापारीले बजारमा दैनिक उपभोग्य वस्तुको मनपरी मूल्य वृद्धि गर्दा सर्वसाधारण महँगीको मारमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्