जनकपुरधामले खेलमा गुमाएको साख



  • जयन्त ठाकुर

जनकपुरधाम । कुनै समय थियो, नेपालमा हुने अधिकांश खेल प्रतियोगितामा जनकपुरधामलाई प्रतिनिधित्व गर्ने खेलाडीहरूले आफ्नो सफलताको झन्डा गाड्ने गर्थे। नेपालमा बहुदल नआउन्जेल जनकपुरधामको खेल जगत् स्वर्णिम युगमा थियो। अधिकांश खेलमा जनकपुरधामका खेलाडीहरू अब्बल हुन्थे।

देशमा बहुदलीय व्यवस्था आयो। बहुदलीय व्यवस्था आएपछि जनकपुरधामको खेल क्षेत्रले पनि कोल्टो फेर्ने त्यस समयका खेलाडीहरूको विश्वास थियो तर त्यस्तो हुन सकेन। २०२१ सालमा स्थापना भएको जनकपुर चुरोट कारखानाले रोजगारीको सिर्जना मात्र गरेन, कला, साहित्य तथा खेलमा रुचि राख्ने व्यक्तिहरूलाई जागिर नै दिने गथ्र्यो। खेलाडी तथा कलाकारहरूका लागि जचुकालिले जागिर दिने व्यवस्था गरेपछि यहाँका खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्ने गरेको क्रिकेट खेलाडी सञ्जय ठाकुर बताउँछन्।

अर्थोपार्जनका लागि जचुकालिको जागिर भएपछि परिवार पाल्ने समस्या नहुने भएकाले तत्कालीन समयमा खेलाडीहरू आफ्नो खेलको स्तर बढाउनका लागि दिन–रात मिहिनेत गर्थे । जचुकालिले क्रिकेट, फुटबल, भलिबल, कुस्ती, कबड्डीलगायताका खेलाडीहरूको भविष्य सुनिश्चित गर्नका लागि जागिर दिने गथ्र्यो। २०४६ सालसम्म त जचुकालिको र जनकपुरधामको खेल जगत्को भविष्य दुवै उज्ज्वल थिए। २०४६ सालमै प्रजातन्त्र आयो। बहुदलीय व्यवस्था आएसँगै जचुकालि अवनतितर्फ बढ्न थाल्यो र यहाँका खेलाडीका भविष्य पनि । २०४६ सालमा प्रजातन्त्र आएपछि कारखाना सञ्चालनमा राजनीतिक हस्तक्षेप बढ्दै गयो।

सरकार परिवर्तन भएलगत्तै कारखानाको महाप्रबन्धक तथा सञ्चालक समितिका अध्यक्ष परिवर्तन गर्ने सरकारी नीतिले कारखाना धराशायी हुँदै गयो। एक समय ४ हजारभन्दा बढी कर्मचारीलाई जागिर दिने क्षमता राखेको जचुकालि आफ्नै कर्मचारीको तलब पूर्ति गर्न नसक्ने अवस्थामा पुग्यो। जचुकालिको अवस्था खस्किँदै गएपछि ऋण काढेर पनि जचुकालि सञ्चालनमा ल्याउने थुप्रै प्रयासहरू नभएका हेइनन् तर वर्षैपिच्छे सरकार परिवर्तनको खेलमा जचुकालि सञ्चालनमा आउन सकेन।

जचुकालिका कर्मचारीहरू अवकास प्राप्त गरेको वर्षौं भइसके पनि उनीहरूले पाउने एकमुष्ट रकम तथा बीमा रकम अझै पाउन नसकेको जचुकालिका पूर्वकर्मचारी सुरेश झा बताउँछन्। जचुकालिको अवनतिसँगै जनकपुरधामले खेल क्षेत्रमा गुमाएको साख अझै उकास्न सकिएको छैन । अचेल जचुकालि आफैँ एउटा बोर्डमा सीमित छ। जचुकालिको आफ्नो भवन छ तर अहिले त्यहाँ प्रदेश सरकारका मन्त्रालयहरू तथा मन्त्रीहरूको आवास बनाइएको छ।

‘सरकारी उदासीनताकै कारण खेल छाडेँ’
भनिन्छ, २ दशक अगाडिसम्म जनकपुरधामको क्रिकेट र फुटबल टिमसामु राष्ट्रिय टिमलाई समेत धेरै पटक पराजय भोग्नुपथ्र्यो। तर, यो सबै जनकपुरधामको खेल इतिहासमै सीमित भइसक्यो।

जनकपुरधामको खेल जगत्लाई चम्काउनेमध्येका एक हुन्, साहित्यकार एवं पत्रकार अशोक दत्त। उनी कुनै समय अब्बल दर्जाका क्रिकेटरका रूपमा चिनिन्थे। क्रिकेटमा धारिलो बलिङ गर्न खप्पिस दत्तलाई जचुकालिले जागिर नै दिएको थियो। साहित्यमा अभिरुचि राख्नुका साथै खेलमा पनि उत्कृष्ट प्रदर्शन गर्ने भएकाले जचुकालिले आफूलाई जागिरमा राखेको दत्त बताउँछन्। ‘सुरुमा बलरको रूपमा जनकपुर अञ्चलको टिममा स्थान पाएको थिएँ’, दत्त भन्छन्, ‘पछि ब्याटिङमा समेत सुधार ल्याएपछि अलराउन्ड प्रदर्शन गरेर धेरै पटक आफ्नो टिमलाई राष्ट्रिय स्तरमा गोल्ड मेडल तथा सिल्भर मेडल जिताउन सफल भएको थिएँ।’

जचुकालिले जागिर दिएका कारण साहित्य लेखन त खुबै गर्थे उनी, यसका साथै क्रिकेटमा सुधार ल्याउने मिहिनेतसमेत निकै गरेको दत्त बताउँछन्। प्रजातन्त्र आउँदा उनी औधी खुसी थिए तर एक खेलाडीको रूपमा आफ्नो अवनति त्यहीँबाट सुरु भएको उनको भनाइ छ।

‘२०४६ सालमा प्रजातन्त्र आएपछि जचुकालिमा समेत खिचातानीको राजनीति सुरु भयो। खेलाडीहरूको कन्ट्र्याक्ट विस्तारैविस्तारै तोड्न थालिएको थियो’, उनले भने, ‘वर्ष २०५० को कुरो हो, राजविराजमा देशभरका टिम सहभागी थिए । म पनि जनकपुर अञ्चल टिमबाट सहभागी तिएँ । हाम्रो टिमले सो उपाधि हासिल गर्न सफल पनि भयो।’ अगाडि भने, ‘सो प्रतियोगिता जितेपछि मैले मसँग रहेका क्रिकेटका बल, पैडका साथै अन्य सामग्रीहरू आफ्ना जुनियर खेलाडीहरूलाई दिइहालेँ ।’खेल छाड्नुको मूल कारण आफ्नो खेलको स्तर खस्किनु रहेको नभएर सरकारी उदासीनता र खेलमा भविष्य सुरक्षित नदेखेर भएको उनको भनाइ छ।

‘नचाहँदा नचाहँदै पनि क्रिकेट छाड्न बाध्य भएँ’, उनले भने। क्रिकेटलाई आफ्नो करियरबाट पूर्णविराम लगाएपछि उनले साहित्य लेखन र पत्रकारितालाई निरन्तरता दिने निधो गरे। उनी अहिले एउटा एफएममा कार्यरत छन् ।

खाजा पसल चलाउन बाध्य पूर्वफुटबलर
जनकपुरधाम उपमहानगरपालिका– ७ का दिनेश सिंह जनकपुर क्षेत्रमा फुटबलका चर्चित खेलाडी थिए। खेल प्रतिभाकै कारण दिनेशलाई जनकपुर चुरोट कारखानामा जागिर दिइएको थियो । तर, दिनेश अहिले खाजा पसल खोलेर जीवन निर्वाह गरिरहेका छन्।

दिनेश भन्छन्, ‘जचुकालिमा ११ वर्षजति काम गरेँ, कारखाना कमजोर बनेपछि हामीलाई हटाइयो, त्यसपछि हाम्रालागि जीवन जिउन गाह्रो भएको छ।’ ६३ वर्षीय दिनेशको धोको युवाहरूलाई प्रशिक्षण दिएर राष्ट्रिय स्तरका खेलाडी बनाउने रहेको छ। तर, पेटले खाजा पसलभन्दा बाहिर जान दिइरहेको छैन । जनकपुर चुरोट कारखानाको आफ्नै फुटबल टिम थियो । त्यस टिममा दिनेशका अतिरिक्त अभयकान्त झा, वीरेन्द्र लामा, राजु थापा, ठक्कन साहलगायतका खेलाडीहरू थिए ।

जचुकालिको टिमसँग नेपालका कुनै पनि फुटबल टिम भिड्नबाट डराउँथे। कतिले त जचुकालिको फुटबल टिमलाई नै राष्ट्रिय टिमसम्म भन्ने गर्थे। विदेश जाँदा पनि यही टिमका धेरै खेलाडीहरूले नेपालको प्रतिनिधित्व गर्थे । आफू विदेश जान नसके पनि नेपालका अधिकांश ठाउँमा हुने प्रतियोगिताहरूमा सहभागी हुने गरेको दिनेशले बताए। उनले भने, ‘म कहिले पोखरा, कहिले धनगढी, कहिले विराटनगर, कहिले काठमाडौंका खेलमा सहभागी भएको छु। सीमावर्ती भारतमा पनि धेरै खेलमा सहभागी भएको छु।’ अतीत राम्रो भए पनि वर्तमान एकदमै कष्टकर रहेको भन्दै दिनेश आफ्ना पीडा सुनाउँछन् ।

यस उमेरमा सरकारले उनलाई खेल क्षेत्रमा गरेको सेवाबापत निवृृत्तिभरण दिनुपर्ने भए पनि तर आज घरका सदस्यहरूको भोको पेट पाल्न खाजा पसल चलाउँदै जीविका गर्नुपरेको बताउँछन्। वेट लिफ्टिङका पूर्व राष्ट्रिय खेलाडी अमरचन्द्र अनिलले देशमा सङ्घीयता आए पनि खेल विकासका लागि खासै योजना प्रदेश सरकारले समेत नल्याउनु दुःखद् रहेको बताए।

जनकपुरधामका खेलाडीहरूको दुरवस्थाका उदाहरण हुन् उनीहरू। यी खेलाडीहरू प्रतिनिधिमूलक पात्र मात्र हुन्। धेरै खेलाडी खेलबाट पलायन भएर भोको पेट पाल्नका लागि वैदेशिक रोजगारीमा लागिसकेका र कतिपय खेलाडी कलेजका बाउन्सरको रूपमा काम गर्न बाध्य भएका यी पूर्वखेलाडीहरू बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्