नेपाललाई स्टेट पार्टनरसिप प्रोग्राममा सामेल हुन दबाब नदिएको अमेरिकाको स्पष्टोक्ति



काठमाडौं । अमेरिकाले नेपाललाई स्टेट पार्टनरसिप प्रोग्राममा सामेल हुन दबाब नदिएको स्पष्ट पारेको छ । नेपालका लागि अमेरिकी दूतावासले सामाजिक सञ्जाल फेसबुकमा सन्देश जारी गर्दै नेपाल र अमेरिकाबीच सैन्य सम्झौता भएको दाबी गर्ने केही अनलाइन सञ्चारमाध्यममा प्रकाशित समाचार असत्य भएको जनाएको छ ।

नीतिअनुसार अमेरिकाले कुनै पनि देशलाई स्टेट पार्टनरसिप प्रोग्राममा सामेल हुन नभन्ने बताउँदै दूतावासले तर कुनै देशबाट त्यसका लागि माग आएको खण्डमा भने त्यस्तो मागको सम्बोधन मात्र गर्ने जनाएको छ ।

स्टेट पार्टनरसिप प्रोग्राम ९एसपीपी० अमेरिकाको नेशनल गार्ड तथा साझेदार विदेशी मुलुकबीचको आदानप्रदान कार्यक्रम रहेको भन्दै दूतावासले यसबाट भूकम्प, बाढी र वन डढेलो जस्ता प्राकृतिक विपद्‍ विरुद्ध जुध्नका लागि प्रथम उद्धारकर्ताहरूलाई सहयोग गर्ने बताएको छ ।

२५ वर्षभन्दा लामो समयदेखि कायम रहँदै आएको एसपीपीमा ९० भन्दा बढी देशसँग ८० भन्दा बढी साझेदारीहरू समावेश रहेको दूतावासले जानकारी दिएको छ ।

आँधीबेहरीदेखि भूकम्प, बाढी र डढेलोजस्ता प्राकृतिक तथा अन्य विपद्को अवस्थामा अमेरिकामा अग्रपङ्क्तिका उद्धारकर्ताका रूपमा रहेका नेशनल गार्डसँग उत्कृष्ट अभ्यासको अनुभव तथा क्षमता रहेको बताउँदै यसलाई साटासाट गर्ने इच्छा प्रकट गरेको छ ।

यस किसिमको सहकार्यको सहजिकरणका लागि एसपीपी प्रभावकारी माध्यम रहेको दूतावासको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्