नेपाल–भारतबीचको सांस्कृतिक सम्बन्ध सुदृढ बनाउनुपर्छ : डा. सहस्रबुद्धे



काठमाडौं । भारतीय सांस्कृतिक सम्बन्ध परिषद्का अध्यक्ष डा. विनय सहस्रबुद्धे यतिबेला नेपाल भ्रमणमा छन । बुधबार उनले राष्ट्रपति विद्यादेवि भण्डारी, प्रधानमन्त्री शेर बहादुर देउवा र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलसँग शिष्टाचार भेट गरेका छन ।

भेटमा दुई देशबीचको सांस्कृतिक सम्बन्ध प्रवर्धन एवम् शैक्षिक आदानप्रदान सुदृढ गर्ने विषयमा छलफल भएको छ । बुधबारै सहस्रबुद्धे अन्तर्राष्ट्रिय योग दिवस २०२२ को सरुवाती कार्यक्रमको रुपमा पशुपतिनाथ मन्दिर परिसरमा आयोजित कार्यक्रममा सरिक भएका छन ।

‘आजादीका अमृत महोत्सव’ को कार्यक्रमको रुपमा पशुपति क्षेत्र विकास कोष र पतञ्जली योगपीठसँगको सहकार्यमा भारतीय राजदूतावास, काठमाडौं अन्तर्गतको स्वामी विवेकानन्द सांस्कृति केन्द्रले सो कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा पतञ्जली योगपीठ, काठमाडौंका झण्डै १५० जना योग पारखीहरुको सहभागिता थियो ।

यस्तै, डा.सहस्रबुद्धे आइसीसीआर छात्रवृत्ति अन्तर्गत भारतमा अध्ययन गरेका नेपालीसहित अन्य विद्यार्थीहरुलाई जोड्ने ‘सम्पर्क भारत–नेपाल भूतपूर्व विद्यार्थी सञ्जाल’ का २०० भन्दा बढी सदस्यहरुसँग कुराकानी पनि गरेका छन । पूर्वविद्यार्थीलाई सम्बोधन गर्दै उनले नेपाल–भारत सम्बन्धलाई मजबुत बनाउन नेपाली विद्यार्थीहरुले महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गरेका छन ।

डा.सहस्रबुद्धेले काठमाडौं विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति र नेपाल तथा एसियाली अनुसन्धान केन्द्र (सिनास)का निर्देशक लगायत प्रमुख शिक्षाविद् र प्राज्ञहरुसँग भेट गर्ने भएका छन ।

प्रतिक्रिया दिनुहोस्