१० घण्टापछि नरभक्षी बाघ नियन्त्रणमा



काठमाडौं । चितवनमा एक युवतीलाई आक्रमण गरेको १० घण्टापछि नरभक्षी बाघलाई नियन्त्रणमा लिइएको छ । चितवन राष्ट्रिय निकुञ्जको टोलीले भरतपुर–२७ मेघौली नजिककै राधाकृष्ण सामुदायिक वनभित्र बाघ भेटाएको हो ।
टोलीमा निकुञ्जका कर्मचारी, सेना, राष्ट्रिय प्रकृति संरक्षण कोषका वन्यजन्तु चिकित्सक तथा कर्मचारी थिए । दोस्रो पटक डार्ट गरेर बाघ बेहोस भएपछि पिँजडामा राखिएको हो ।
अहिले उक्त बाघलाई चितवन राष्ट्रिय निकुञ्जको कार्यालयमा लगिएको छ । त्यहाँ इन्क्लोजरमा राखिने निकुञ्जले जनाएको छ ।
बिहीबार बिहान बाघले भरतपुर महानगरपालिका–२७ मेघौलीस्थित राधा कृष्ण सामुदायिक वनमा निउरो टिप्न गएकी २३ वर्षीया रेखा बस्नेतलाई आक्रमण गरेको थियो । उनी बिहान ७ बजेतिर जङ्गल गएकी थिइन्। साढे ८ बजेतिर बाघले आक्रमण गरेको थियो ।
निकुञ्ज सुरक्षार्थ खटिएको सेनाले हवाई फायर गर्दै बाघलाई लखेटेर शव निकालेका थिए । प्रहरीले शव पोष्टमर्टमका लागि भरतपुर अस्पताल लैजान लाग्दा स्थानीयले विरोध गरेका थिए । उनीहरूले बाघलाई डार्ट गरेर नियन्त्रणमा लिएपछिमात्रै शव लैजान दिन भन्दै विरोध गरेका थिए ।
बाघलाई डार्ट गरेर नियन्त्रणमा लिने सहमतिपछि युवतीको शव उठाएर पोष्टमर्टमका लागि भरतपुर अस्पताल लगिएको थियो । गत जेठको २४ गते चितवनकै घैलाघारी भन्ने ठाउँमा एक जना महिलालाई बाघले आक्रमण गरेको थियो। आक्रमणबाट ती महिलाको मृत्यु भएको थियो ।
त्यही बाघले यहाँ आएर आक्रमण गरेको निकुञ्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्