एसीसी महिला टी-२० च्याम्पियनसिपमा नेपालको विजयी सुरुवात



काठमाडौं । नेपालले एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ । मलेसियामा शुक्रबार भएको खेलमा भुटानलाई ५० रनले हराउँदै नेपालले सुखद सुरुवात गरेको हो ।

यूएसडी यूकेएम ओभलमा नेपालले दिएको ९५ रनको लक्ष्य पछ्याएको भुटानले १७ ओभर ५ बलमा अलआउट हुँदै ४४ रन मात्र बनाएको हो ।

भुटानका लागि छिरिङ जान्ग्मोले सर्वाधिक १६ रन जोडिन् । यस्तै एनगावाङ छोडेनले ८ तथा सोनाम छोडेनले ५ रन जोडेकी हुन् । पेमा सोल्डेनले ४ रन बनाईन । भुटानलाई सस्तैमा समेट्न नेपालकी संगीता राईले ४ विकेट लिईन । यस्तै कविता कुँवरले २ तथा अश्मिना कर्माचार्य,सिता राना मगर र इन्दु वर्माले १र१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाएर ९४ रन बनायो । नेपालका लागि काजल श्रेष्ठले सर्वाधिक २६ रन जोड्दा इन्दु बर्माले २० रन जोडिन । कप्तान रुबिना क्षेत्रीले २१ रन जोडे भने डोली भट्टले ५ रन बनाए ।

सिता मगरले ४, ममता चौधरीले ३, बिन्दु रावलले १ तथा अश्मिना कर्माचार्य र ज्योति पाण्डे सुन्य रनमा आउट भए । कविता कुँवर १ रनमा अविजित रहिन् । भुटानकी सोनम पाल्डोनले ४ तथा अन्जु गुरुङ र टासी छेकीले १र१ विकेट लिए ।

च्याम्पियनसिप अन्तर्गत नेपालले अब कुवेतसँग शनिबार खेल्नेछ । यस्तै नेपालले सोमबार बहराइन र अन्तिम खेलमा मंगलबार हङकङसँग खेल्नेछ। च्याम्पियनसिपमा १० टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्