सर्लाही जिसस प्रमुखमा कांग्रेस र उपप्रमुखमा माओवादी निर्विरोध



सर्लाही। जिल्ला समन्वय समिति सर्लाहीको प्रमुखमा नेपाली कांग्रेसका कौशल किशोर सिंह र उपप्रमुखमा नेकपा माओवादी केन्द्रका जितेन्द्र कुमार महतो निर्विरोध निर्वाचित भएका छन् ।
प्रमुख र उपप्रमुखसहित ९ सदस्यीय जिल्ला समन्वय समितिको लागि शुक्रबार मनोनयन दर्ताका क्रममा प्रमुखमा सिंह र उपप्रमुखमा महतोको मात्रै उमेदवारी परेपछि उनीहरु निर्विरोध निर्वाचित भएका हुन्। त्यस्तै अन्य ७ जना सदस्यहरु पनि निर्विरोध निर्वाचित भएको जिल्ला निर्वाचन अधिकारी दिवाकर भुजेलले जानकारी दिए।

जिसस गठनका लागि जिल्लामा नेपाली कांग्रेसको एकल बहुमत भएपनि उसले माओवादी केन्द्रसँग तालमेल गरेको हो। आफूहरुको एकल बहुमत भएपनि केन्द्रीय सर्कुलर अनुसार नै तालमेल गर्नुपरेको नेपाली काँग्रेस सर्लाहीका सभापति सुरेन्द्र कुमार सिंहले जानकारी दिए। तालमेल अनुसार ९ सदस्यसीय जिससमा माओवादी केन्द्रलाई १ उपप्रमुख र १ सदस्य पद दिएको र नेपाली कांग्रेसले १ प्रमुख र ६ जना सदस्य लिएको सभापति सिंहले बताए।

वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा जिल्लाका २० पालिका मध्ये कांग्रेसले १२ पालिकामा प्रमुख र ११ पालिकामा उपप्रमुख जितेको थियो। त्यस्तै माओवादी केन्द्रले ४ पालिकामा प्रमुख र ४ पालिकामै उपप्रमुख जित्दा एमालेले १ प्रमुख र २ उपप्रमुख जितेको थियो। त्यस्तै जनता समाजवादी पार्टीले २ प्रमुख, २ उपप्रमुख जित्दा लोसपाले १ प्रमुख र १ उपप्रमुख जितेको थियो।

यसरी जिसस गठनका लागि कांग्रेससँग १२ प्रमुख र ११ उपप्रमुख गरी २३ मत थियो भने बाँकी सबै दलका गरी १७ मत थियो।

प्रतिक्रिया दिनुहोस्