एसपीपीको विषयमा सेना विवादमा पर्नु दुखद : कांग्रेस महामन्त्री शर्मा



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एसपीपीको विषयमा नेपाली सेना विवादमा पर्नु दुखद् भएको बताएका छन ।

नेपाल शिक्षक संघ ललितपुरले आयोजना गरेको कार्यक्रममा उनले नेपालमा कुटनीतिक अभ्यास भन्दा बाहिरबाट गतिविधि हुँदा नेपाली सेना पनि विवादमा परेको बताएका हुन् ।

‘‘यस्तो प्रकारको कूटनीतिक प्रक्रियाभन्दा बाहिर गएर गरिने अभ्यास निरन्तर भयो भने देशका लागि दुःखद हुन्छ । अहिलेसम्म विवादमा नपरी आएको नेपाली सेनालाई यो प्रकारको संलग्न हुने, पहिलेको नेतृत्व संलग्न हुने, अहिलेको नेतृत्व सुसूचित नहुने अनि विवादमा तानिने घटनाक्रम सुन्दर संकेत होइन’ उनले भने ।

अमेरिकी सेनाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा एउटा सरकारको पालामा पत्राचार हुनु र अर्को सरकारले थाहा नपाउनु कुटनीतिक अभ्यासमा गम्भीर नहुनुको उदाहरण भएको शर्माले बताएका छन ।

‘यसले २-३ वटा कुरालाई सार्वजनिक रुपमा क्लिएर गरेको छ । एउटा, हामी कति कूटनीति अभ्यासको बारेमा गम्भीर रहेनछौं । कुनै पत्र लेखिन्छ । पत्र लेखिँदै गर्दा पत्र पुगिसक्छ । पत्र पाउनेले पाईसक्छ । लेख्नेले लेखिसक्छ । न तपाई थाहा पाउनुहुन्छ, न म थाहा पाउँछु । न सरकारले थाहा पाउँछ’ उनले भने ।

यस्तो प्रवृत्ति मुलकका लागि सुन्दर संकेत नभएको शर्माले बताए । ‘‘अहिले प्रश्न एसपीपी आयो र गयो भन्ने होइन । यो खालको प्रवृत्ति एउटा समुन्नत राष्ट्र बन्नका लागि, सफल बन्ने राष्ट्रका लागि सुन्दर संकेत होइन’ उनले भने ।

यस्ता विषयमा एउटा दलले अर्कोलाई खसाल्ने खालको अभिव्यक्ति दिँदा राष्ट्रिय एकता कमजोर हुने महामन्त्री शर्माको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्