नुनको गैरकानुनी व्यापार, किलोमै ३०० रुपैयाँ लिएर बेच्छन् व्यापारी



काठमाडौं । बजारमा गैरकानुनी रूपमा नुनको कारोबार हुने गरेको पाइएको छ। विभिन्न बजारमा कम्पनीहरूले अनलाइनमार्फत ‘सिधे नुन’ प्याकेजिङ गरी गैरकानुनी रूपमा अत्यधिक मूल्य लिएर बिक्री वितरण गर्ने गरेको पाइएको हो।

काठमाडौं अर्गानिक कम्पनी, हिमालयज् पिक कम्पनीले सिधे नुनलाई प्याकेजिङ गरी अत्यधिक मूल्य लिने गरेको पाइएको छ । खाद्य ऐन, २०२३ बमोजिम कुनै पनि उद्योगले खाद्य वस्तु प्रशोधन, उत्पादन तथा प्याकेजिङ गर्न विभागबाट अनुज्ञापत्र लिएर मात्र बजारमा बिक्री वितरण गर्नुपर्ने कानुनी व्यवस्था छ। सो कम्पनीले खाद्य विभागबाट सिधे नुन बजारमा बिक्री वितरण गर्नका लागि अनुज्ञापत्रसमेत नलिइएको पाइएको छ।

अर्गानिक कम्पनी, हिमालयज पिक कम्पनीलगायतका कम्पनीले सिधे नुनलाई प्रशोधन र प्याकेजिङ गरी १ किलो नुनको २५२ देखि ३०० रुपैयाँ लिएर बिक्री वितरण गरी उपभोक्तालाई ठगिरहेका छन्। नेपाल सरकारले हालसम्म आयोडिनयुक्त नुन प्याकेजिङ गरी बिक्री वितरण गर्ने अनुमति साल्ट ट्रेडिङ कर्पोरेसनलाई मात्र दिएको छ। आयोडिनयुक्त नुन (उत्पादन तथा बिक्री वितरण) ऐन, २०५५ को परिच्छेद २ मा आयोडिन नभएको नुन पैठारी, खरिद तथा बिक्री गर्न नहुने व्यवस्था गरेको छ। सो कानुनविपरीत अहिले बजारमा विभिन्न व्यापारीले नुनको प्याकेजिङ गरी बिक्री गरेको पाइएको हो।

कानुनी रूपमै बिक्री वितरण गर्न नपाइने नुन गैरकानुनी तरिकाले अवैध रूपमा बिक्री वितरण गरेको भन्दै राष्ट्रिय उपभोक्ता मञ्चले कारबाहीका लागि मागसमेत गरेको छ। मञ्चले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा उजुरी दिएको छ।मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा नुनको गुणस्तर मापदण्ड जाँचका लागि र वाणिज्य विभागमा अवैध रूपमा व्यापार गरी उपभोक्तालाई ठगेको हुँदा छनबिन गरी कारबाही गर्नका लागि माग गर्दै उजुरी गरेको जानकारी दिए।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका प्रवक्ता हरि पंगेनीले सिधे नुन गैरकानुनी रूपमा बजारमा बिक्री वितरण गरेको उजुरी आएको बताए। उनले सेन्चुरीलगायतका केही कम्पनीले सिधे नुन प्याकेजिङ गरी अत्यधिक मूल्यमा बिक्री गर्ने गरेको भन्दै बिहीबार विभागमा उजुरी परेको जानकारी दिए। उनले सो विषयमा विभागले बजार अनुगमन गरी अध्ययन गरेर कारबाही गर्ने बताए। काठमाडौं अर्गानिक कम्पनीका अध्यक्ष भुवन केसीले सिधे नुन प्याकेजिङ गरि बजारमा बिक्री वितरण गरिरहेको स्वीकारेका छन्। उनले पाकिस्तानबाट आयात गरेको सिधे नुनलाई आफ्नो कम्पनीका नामका प्याकेजिङ गरी प्रतिकिलो ३०० रुपैयाँमा बिक्री गर्ने गरेको बताए।

खाद्य प्रविधि विभागबाट अनुज्ञापत्रसमेत नलिई यसको कारोबार गरिएको उनले बताए। उनले बजारमा सिधे नुन प्याकेजिङ गरी आफूले मात्र नभएर धेरै व्यापारीले बिक्री गर्ने गरेको बताए। सबैले बिक्री गर्ने हुँदा आफूले पनि विभागबाट कुनै अनुमति नलिई नुन प्याकेजिङ गरी बिक्री गर्ने गरेको खुलाए। केसीले आफूले दैनिक उपभोगका लागि नभएर औषिधिको रूपमा प्रयोग हुने गरी बिक्री वितरण गर्ने गरेको दाबी गरे। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले हालसम्ममा नुनको बिक्री वितरणका लागि साल्ट ट्रेडिङ कर्पोरेसनलाई मात्र अनुमति दिएको बताए।

यसैगरी उनले खाद्य ऐन, २०२३ बमोजिम कुनै पनि उद्योगले खाद्य वस्तु प्रशोधन, उत्पादन तथा प्याकेजिङ गरी बिक्री वितरण गर्न विभागबाट अनिवार्य रूपमा अनुज्ञापत्र लिनुपर्ने कानुनी व्यवस्था रहेको बताए । कुनै कम्पनी वा उद्योगले खाद्य वस्तु अनुज्ञापत्रबिना प्याकेजिङ गरी बिक्री वितरण गरेको पाइएमा खाद्य ऐनबमोजिम कारबाही हुने उनले जानकारी दिए।

विभागबाट अनुज्ञापत्रबिना नै उद्योगबाट खाद्य वस्तु प्रशोधन, उत्पादन र प्याकेजिङ गरी बिक्री वितरण गर्नु गैरकानुनी हुने प्रवक्ता महर्जनको भनाइ छ । उनले खाद्य ऐनअनुसार मापदण्ड पूरा नगरी उद्योगबाट बिक्री वितरण गरे १० हजार रुपैयाँ जरिमाना र गुणस्तरहीन खाद्य वस्तु झुक्याएर बिक्री गरे ५० हजार रुपैयाँ जरिमाना वा ५ वर्ष कैद वा दुवै हुन सक्ने कानुनी प्रावधान रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्