‘अबकाे कांग्रेस नेतृत्व काेइराला परिवारबाटै’ : कांग्रेस महामन्त्री शशांक



बुटवल : कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले अबको पार्टी सभापति कोइराला परिवारबाट नै हुने दाबी गरेका छन् । कार्यकर्ताको माया र चाहनाअनुसार नै कोइराला परिवार सभापतिमा आउन लागेको उनले बताए ।

 

रुपन्देहीको बुटवलमा आइतबार आयोजित साक्षात्कारमा महामन्त्री कोइरालाले भने, ‘शेखर दा, म र सुजातामध्ये सभापतिमा एकजना सहमतिमै आउछौं ।’

 

देशभरका कांग्रेस नेता कार्यकर्ताको माया र चाहना कांग्रेस नेतृत्वमा कोइराला परिवार नै आओस् भन्ने रहेको आफूले देश दौडाहामा थाहा पाएको उनले सुनाए ।

 

कोइरालाले अब हुने महासमितिमा बैठकमा नयाँ विधान पारित गरिने समेत बताए । कम्तिमा आउँदो ३० वर्षका लागि विधान बनाउने उनले प्रस्ट पारे ।

 

चार वर्ष पछिको चुनावमा कांग्रेस पहिलो श्रेणीमा पुग्ने उनको विश्वास छ । उनले पार्टी सभापतिको अधिकार पनि विकेन्दि्रत गर्नुपर्ने धारणा राखे । ‘कांग्रेस विवादमा अल्झने अवस्था छैन, अब नयाँ रणनीति बनाएर अघि बढ्नुपर्छ,’ उनले भने, ‘सभापतिको अधिकार पनि विकेन्द्रीकरण गर्नुपर्ने मेरो धारणा छ, तल्लो तहलाई पनि बलियो बनाउनुपर्छ, गाउँ र प्रदेशमा अधिकार दिनुपर्छ ।’

 

वर्तमान सरकार संघीयताको मर्मविपरीत चलिरहेको उनले आरोप लगाए । ‘सरकारले कुनै योजना तर्जुमा गर्न सकेको छैन, केन्दि्रकृत शासन चलाइरहेको छ, संघीयताको मर्म बुझेको छैन,’ डा. कोइरालाले भने ।

प्रतिक्रिया दिनुहोस्