मधेसका दल सफल कि असफल ?



  • ललितकुमार यादव

काठमाडौं । मधेसले धेरै नेताहरू जन्मायो । मधेसबाट प्रतिनिधित्व गर्ने धेरै नेताहरू मन्त्री भए । नेपालको केन्द्रीय राजनीतिमा सधैँ मधेसको प्रभाव रहँदै आएको छ। हरेक शासन व्यवस्थामा मधेसबाट प्रतिनिधित्व गर्नेहरूको सहभागिता मात्र होइन, प्रभावकारी सहभागिता रहँदै आएको छ।

मधेस हरेक राजनीतिक दललाई सत्तामा पुर्‍याउन भर्‍याङ बन्यो तर मधेसलाई कसैले न्याय गर्न सकेनन्। मधेसबाट प्रतिनिधित्व गर्ने मुठ्ठीभर नेताहरू, जो शासन सत्तामा रहँदै आए, उनीहरूले सत्ता र शक्तिको बलमा लिन सकेसम्मका लाभ लिए र आफ्नो विकास गर्न कुनै कसर बाँकी राखेनन्। तर, मधेस र मधेसी जनताको विकास हुन सकेन। मधेस र मधेसी जनताको दोहन गरेको आरोप मधेसका हरेक नेताहरू (अपवादको रूपमा रहेका एकाध नेताबाहेक)लाई लाग्दै आएको छ तर पनि मधेसका नेताहरूले आफ्ना प्रवृत्ति सुधार्नुपर्ने आवश्यकता महशुस गर्न सकेका छैनन् ।

आफ्नो व्यवहारमा सकारात्मक परिवर्तन गरेर मधेस र मधेसी जनताको आवश्यकता पूर्ति गर्नेगरी काम गर्न नसकेका मधेसका नेताहरूले मधेसी जनताहरूमा राजनीतिक चेतना र सचेतनासमेत दिन सकेका छैनन् । मधेसमा अहिले पनि राजनीतिक जागरणको अभाव रहेको देखिन्छ। मधेसको नाममा तथा मधेसलाई केन्द्रमा राखेर राजनीतिक दल नै स्थापना गरेको र ती दलहरूलाई मधेसी जनताले स्थापित पनि गरिदिए। तर, ती दलका नेताहरूमा पनि मधेस र मधेसी जनताको स्वार्थभन्दा व्यक्तिगत स्वार्थ नै हाबी भइदिँदा मधेसी जनताले सोचेअनुसारका काम हुन सकेका छैनन्, न त मधेसमा विकास नै हुन सकेको छ।

मधेसका दलहरूले जनतालाई आन्दोलनमा उतारे तर आन्दोलनको भावनाअनुसार अगाडि बढ्न सकेनन्, न त मधेसी जनतालाई राजनीतिक प्रशिक्षण दिन उपयुक्त नै ठाने। मधेस आन्दोलनको रापतापबाट उदाएका मधेसका दलहरू आफ्ना विरासत कायम गर्नभन्दा नेताहरू कसरी जहिले पनि आफू शक्ति र सत्तामा रहिरहने भन्नेमा केन्द्रित भए।

पछिल्लो डेढ दशकमा पटकपटक गरी ३ वटा मधेस आन्दोलन भए । ती आन्दोलनहरूमा सयौँ मधेसी सपुतहरूले सहादत प्राप्त गरे भने धेरै अङ्गभङ्ग भए । मधेस आन्दोलनमा मधेसी जनताले गरेको बलिदानअनुसारको उपलब्धि पाएको भनेर मधेसले अहिले पनि चित्त बुझाउने अवस्था छैन ।

२०१५ सालदेखि नै मधेसकेन्द्रित राजनीतिको सुरुवात भएको हो । रामजनम तिवारी, रघुनाथ ठाकुर, गजेन्द्रनारायण सिंहहरूले नै मधेसको समस्या र मुद्दाको उठान गर्न सुरु गरेका थिए । मधेसका मसिहा भनेर चिनिने गजेन्द्रनारायण सिंहले स्थापना गरेको नेपाल सद्भावना पार्टी अहिले टुक्राटुक्रा भई निर्वाचन आयोगको दर्तामा सीमित हुन पुगेको छ । त्यसबेलादेखि नै मधेसको मुद्दा उठ्दै आएको भए पनि नेतृत्व स्थापित हुन नसकेका कारण मधेसका मुद्दा स्थापित हुन सकेका थिएनन् ।

२०६२/२०६३ सालको जनआन्दोलन भएको केही समयमै मधेसमा आन्दोलन भयो । मधेस आन्दोलनले मधेसको मुद्दा स्थापित गर्‍यो । मधेसी जनता आफ्ना राजनीतिक अधिकार प्राप्त गर्न राजनीतिक बहस र आन्दोलनलाई व्यापक रूपमा अगाडि बढाए। मधेस आन्दोलनलाई सम्बोधन गर्न सरकारले मधेसका दलहरूसँग २२ बुँदे र ८ बुँदे सम्झौता गरेका थिए। मधेसका लगभग सबै मुद्दा २२ बुँदे र ८ बुँदे सम्झौतामा समेटिएका छन् ।

सम्झौता कार्यवन्यन गराउने विषय मधेसका दलहरूका लागि सत्तामा जाने भर्‍याङ मात्र बन्यो सम्झौता तर यसको कार्यावन्यनको विषयलाई प्राथमिकताका साथ मधेसका दलहरूले समेत उठाएनन्। सम्झौताको पूर्ण कार्यान्वयन अहिलेसम्म पनि हुन सकेकै छैन । मधेस आन्दोलनले उठाएको कुनै पनि मुद्दा सम्बोधन भएकै छैन भन्न मिल्दैन । यो गलत हुन्छ। मधेसले उठाएका सबै मुद्दामा लगभग काम भएको अवस्था छ। तर, मधेसले अपनत्व लिन सक्नेगरी मधेसको सहमतिमा पूर्ण रूपमा कार्यान्वयन भएको छैन। राज्यले आफ्नो चाहनाअनुसार मात्र कार्यावन्यन गर्दै आएको छ।

देश सङ्घीयतामा जानु, समावेशीको सिद्धान्तलाई स्वीकार गर्नु, मधेस र मधेसीको पहिचान स्थापित हुनु मधेस आन्दोलनकै उपलब्धि हो । सामाजिक र राजनीतिक दुवै क्षेत्रमा परिवर्तन आएको छ। नागरिकता समस्या पनि केही हदसम्म समाधान भएको छ। तर, पूर्ण रूपमा हल हुन सकेको छैन ।

नागरिकता विधेयक आफ्नो सहमतिमा पारित हुनुपर्ने अहिले पनि मधेसका दलहरूको माग रहेको छ। पहिलो मधेस आन्दोलन सकिएलगत्तै मधेसी जनअधिकार फोरम दलको रूपमा बाहिर आयो । यस पार्टीमा प्रवेश गर्ने लहर नै चल्यो। नेपाली कांग्रेस, नेकपा एमालेबाट प्रवेश गर्नेहरूको लहरले फोरम बलियो हुँदै गयो भने फोरममा अटाउन नचाहेकाहरूले तराई मधेस लोकतान्त्रिक पार्टी स्थापना गरेका थिए।

मधेसमा भएका सबै आन्दोलनमा मधेसका दलहरू सँगसँगै थिए तर आन्दोलनको उपलब्धिलाई स्थापित गराउन मधेसका दलहरू कहिल्यै एक भएर अगाडि बढेको मधेसी जनताले अनुभूतिसमेत गर्न पाएनन् । बितेको डेढ दशक मधेसका लागि राजनीतिक उतारचढावको अवधिको रूपमा रह्यो। यस अवधिमा मधेसले धेरै उतारचढाव भोगेको छ । मधेसका दलहरूमा सत्ता लिप्सा यतिसम्म बढ्यो कि कुनै पनि मधेसका दलले आफ्नो एकता टिकाई राख्न सफल भएनन् । मधेसका दलले आफ्नो शक्ति बढाउनेतर्फ सोच्नसम्म सकेनन् ।

सबै नेतालाई मन्त्री र अध्यक्ष नै हुनुपर्ने लहर चल्यो। धेरैले पार्टी फुटाउँदै मन्त्री र अध्यक्ष हुने रहर पूरा गरे। तीमध्येका कतिपयको अस्तित्व नै समाप्त भयो भने अस्तित्वमा रहेकाहरूको पनि भविष्य राम्रो छैन। तिनीहरू पनि ओरालो बाटो लागेको प्रष्ट देखिएको छ। मधेसका दलहरूबीच एकता हुने पहिलो सकारात्मक सङ्केत ८ वैशाख २०७४ मा देखिएको थियो । त्यस दिन मधेसका ६ राजनीतिक दलको एकताबाट राष्ट्रिय जनता पार्टी नेपालको गठन भएको थियो । त्यस्तै अर्को सकारात्मक सङ्केत १० वैशाख २०७६ मा देखिएको थियो। त्यस दिन राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी नेपालबीच एकीकरण भई जनता सामाजवादी पार्टी (जसपा) गठन भएको थियो ।

राजपा र समाजवादीबीच एकताको लामो प्रयास चलेको भए पनि एकता हुनु मुख्य कारण समाजवादीमा हुन लागेको फुट नै थियो। पार्टी फुट्न लागेको सङ्केत पाएर उपेन्द्र यादवले रातारात राजपासँग एकीकरण गरेर आफ्नो पार्टीलाई फुटबाट जोगाएका थिए । यद्यपि, यसले मधेसमा एउटा उत्साह पैदा गरेको थियो । तर, मधेसको उत्साहलाई मधेसी दलका नेताहरूले टिक्नै दिएनन् । ९ भदौ २०७८ मा जसपा औपचारिक रूपमा विभाजित भयो।

मधेसका दलहरूले एकताभन्दा धेरै गुणा बढी विभाजनको इतिहास बोकेका छन्। यसको मुख्य कारण नेताहरूमा मधेस र मधेसी जनताप्रतिको मोहभन्दा व्यक्तिगत लाभ र हानिको मोह हुनु नै हो। त्यसमा पनि क्षणिक लाभ। मधेसका दलहरूकानेताहरू यस्ता छन् कि एकले अर्काको नेतृत्व स्वीकार गर्नै तयार छैनन् । अलिकति पनि जनसमर्थन र वाहवाही पाउनासाथ आफैँ नेतृत्वका लागि सक्षम भइसकेको ठान्छन् र आफूभन्दा अब्बल कोही नरहेको देख्न थाल्छन् । पार्टी फुटाउँदा पार्टीको मुद्दा, पार्टी कार्यकर्ताको विश्वास र भरोसा, पार्टी र आफ्नो राजनीति भविष्यको समेत वास्ता गर्दैनन् ।

क्षणिक लाभमा नै रमाउने चरित्र रहेको छ । यसरी हेर्दा मधेसका दलहरूमा क्षणिक लाभ लिन राजनीतिमा आएका नेताहरूको सङ्ख्या उल्लेख्य छ भने जो दीर्घकालका लागि राजनीतिमा आएका छन्, तिनीहरू आफूबाहेक अरूलाई असल मान्नै तयार छैनन् र सधैँ सबै अवसर आफू र आफ्नाले मात्र पाउन् भन्ने सोचका रहेका छन् । ठूला दलहरू जस्तै मधेसका दलहरूमा पनि नेतृत्व हस्तान्तरणको ठूलो समस्या छ। मधेसका कुनै पनि दलले आफ्नो सङ्गठन बलियो बनाउने, कार्यकर्तालाई प्रशिक्षित गर्ने, स्थानीय स्तरका नेता/कार्यकर्तालाई जनतासँग जोडिन लगाउने, परी आउँदा जनतालाई साथ दिने र सहयोग गर्नेजस्ता जनतासँग नजिक हुने कार्यक्रम र अभियान चलाउन कहिल्यै रुचि देखाएनन् ।

मधेस आन्दोलन गरेको आधार र मधेसको आक्रोशको भरमै सधैँ स्थापित हुन खोजे । मधेसका दलहरूको सङ्गठन छ तर व्यवस्थित छैनन् । कार्यकर्ता र नेता पनि छन् तर दल र मधेस मुद्दाप्रति समर्पितको सङ्ख्या ज्यादै नै न्यून छ । सारमा भन्दा एकल हैकम जमाउने नेतृत्व हुनु नै मधेसका दलहरू असफल हुँदै जानुको प्रमुख कारण हो ।

मधेसका दलहरूको नेतृत्वले पार्टीमा नेतृत्व विकास गर्नै मानेनन्, पार्टीलाई जनतासँग जोड्नै सकेनन्, जनतालाई मधेस मुद्दाबाहेक विकासका मुद्दाहरू दिनै सकेनन्, मधेसमा रहेको बेथितिको अन्त्य गर्ने विश्वास जनतालाई दिनै सकेनन् बरु उल्टै अनियमितता र भ्रष्टाचारमा डुब्दै गएका सङ्केत देखियो । पार्टी हाँक्ने ढङ्ग नरहेको समेत देखायो ।

मधेसका दलहरू जातासँग सधैँ एउटै मुद्दामा भोट माग्दै आएका छन् । मधेसमा भौगोलिक सुगमताका बाबजुद भौतिक विकास हुन सकेको छैन । मधेस मानव विकास सूचकाङ्कमा पछाडि रहेको, गरिबीमा अगाडि रहेको, साक्षरता दर कम रहेको, बेरोजगारीको समस्या विकराल बन्दै गएको, कृषिको बेहाल रहेको आदि समस्याप्रति मधेसका कुनै दल गम्भीर भएनन् । यी समस्याहरू सामाधान गर्ने प्रतिबद्धता मधेसका कुनै दलबाट मधेसका जनताले पाउन सकेनन् । मधेसका दलहरूले जहिले पनि विभेदका कुरा मात्र गरे । मधेसमा आक्रोश पैदा गरेर आफू स्थापित हुने बाटो मात्र देखे मधेसका दलहरूले । मधेसलाई समृद्ध कसरी बनाउने भन्ने योजना ल्याउन सकेनन् ।

पछिल्लो समय जनमत पार्टीलाई आशाको नजरले मधेसका जनताले देखेका थिए तर जनमत पार्टीले पनि मधेसका पुरानै दलहरूको बाटो समात्यो । मधेसका पुराना दल र नेताहरूले केही नगरेको देखाएरै मधेसी जनताको सान्त्वना लिन खोजे । मधेसका पुराना दलले जेजे गल्ती गरे, जनमत पार्टीले पनि त्यही गल्ती गर्दै छ ।

मधेसका पुराना दलहरू र जनमत पार्टी आफ्नो गल्ती नसुधारी सफल हुन सक्ने कुनै सम्भावना छैन। मधेसलाई समृद्ध बनाउने कार्यक्रम ल्याउन नसकेमा मधेसमै मधेसका दलहरूको अस्तित्व समाप्त हुन सक्नेसम्मको खतरा छ। विभेद र असमानताको मुद्दा उठाउँदै आएका दलहरू आफैँ सत्तामा पुग्दा मधेसमा यही कुरा लागू गर्न सकेनन्। फल स्वरूप यिनीहरू पनि विभेद र असमानताको विरुद्धमा रहेको व्यवहारले प्रमाणित भएन। मधेस प्रदेशको सत्ता चलाउने अवसर पाएर पनि मधेस र मधेसी जनताको हित हुनेगरी खासै नयाँ कार्यक्रम ल्याउन सकेनन्।

मधेसलाई समृद्ध बनाउने विकासे योजनासमेत दिन सकेनन्। उल्टै भ्रष्टाचारको आरोप लाग्यो। मधेसमा रहेको बेथिति भत्काउने सामान्य कामसमेत गर्न सकेनन् । मधेसको नाममा राजनीति गर्ने तर मधेसको सत्तामा पुग्दासमेत मधेसमा सुशासन कायम पनि गर्न नसकेका मधेसका दलहरूलाई सफल मान्न सकिने कुनै आधार छैन। सफल भए त नेताहरू आफ्ना व्यक्तिगत विकास गर्न।

मधेसी दलबाट मधेसको नाममा सांसद र मन्त्री हुनुबाहेकको सफलता मधेस र मधेसी जनताले पाएका देखिँदैन। यसकै लागि मात्र मधेसमा मधेसका दलहरूलाई मधेसी जनताले स्थापित गरेका हुन् भन्ने आममान्यता हो भने मात्र मधेसका दलहरूलाई सफल मान्न सकिन्छ नभए कुनै हालतमा सफल मान्न सकिँदैन। मधेस आन्दोलन सफल भए तर मधेसका दलहरू सफल हुन सकेनन्। मधेसका दलहरू जहिल्यै सङटमा देखिनु नै उनीहरूको असफलताको प्रमाण हो ।

प्रतिक्रिया दिनुहोस्