अखिल क्रान्तिकारीका केन्द्रीय उपाध्यक्षसहित ९ जना निलम्बनमा



काठमाडौं । माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)का उपाध्यक्ष पवन कार्कीसहित ९ जना निलम्बनमा परेका छन् । आइतबार काठमाडौंमा बसेको केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकले उपाध्यक्ष कार्की र ८ जना केन्द्रीय सदस्यरुलाई निलम्बन गर्ने निर्णय गरेको हो ।

कार्कीसहित केन्द्रीय सदस्यहरु बसन्ता भण्डारी, पदम नेपाली, रमेश खड्का, बालकुमार केसी, उपदेश यादव, सन्जिव चौधरी, रविन बस्नेत र समिर बुढाथोकी निलम्बनमा परेका हुन् । अनुशासन विपरीतको काम गरेकाले कार्कीसहित ९ जनालाई अनिश्चितकालसम्मका लागि निलम्बन गर्ने निर्णय बैठकले गरेको अखिल क्रान्तिकारीका उपाध्यक्ष जीपी मैनालीले जानकारी दिएका छन् ।

बैठकमा कार्की समूहले विधि विधान विपरीत जिम्मेवारी बाँडफाँट लगायतका निर्णयहरु गरेको भन्दै नेतृत्वविरुद्ध नाराबाजी गरेको थियो । नाराबाजी गर्ने क्रममा हात हालाहाल हुँदा स्थिति तनावपूर्ण बनेको थियो ।

सोही बैठकले १२ लाख सदस्यता वितरण र १५ हजार कमिटी निर्माण गर्ने लक्ष्य सहित अभियान चलाउने निर्णय समेत गरेको अखिल क्रान्तिकारीका उपाध्यक्ष मैनालीले बताए । त्यसका लागि ‘विद्यार्थीसँग अखिल (क्रान्तिकारी)’ मूल नारासहित तीन महिना अभियान चलाउने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्