स्वदेशी वस्तुमा आत्मनिर्भर हुन कृषि क्षेत्रलाई प्राथमिकता : अर्थमन्त्री



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले स्वदेशी वस्तुमा आत्मनिर्भर हुनका लागि कृषि क्षेत्रलाई प्राथमिकतामा राखिएको बताएका छन् ।

सिंहदरबारमा सोमबार बसेको प्रतिनिधिसभाअन्तर्गतको उद्योग समिति बैठकमा अर्थमन्त्री शर्माले विभिन्न वस्तुहरूलाई आयात गर्दा व्यापार घाटा बढ्ने र मूल्यवृद्धिसमेत भएकाले स्वदेशी वस्तुमा आत्मनिर्भर हुनका लागि कृषि क्षेत्रलाई प्राथमिकतामा राखिएको जानकारी दिएका छन् ।

धानमा आत्मनिर्भर हुनका लागि पनि सरकारले अध्ययन गरिरहेको उनको भनाइ छ । अर्थमन्त्री शर्माले आगामी आर्थिक वर्षको बजेटमा अनावश्यकरूपमा करको दायरा हेरफेर नगरिएको समेत दाबी गरे ।

उनले स्वदेशी सेनेटरी प्याडको उत्पादनले समेत माग धान्न नसकेका कारण बाहिरबाट आउने सेनेटरी प्याडमा कर छुट दिइएको मन्त्री शर्माले भने । स्वदेशी उद्योगलाई ध्वस्त पार्ने सरकारको कुनै योजना नरहेको भन्दै उनले उद्योगमैत्री बजेट आएको भनेर आश्वस्त पारे ।

बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले उद्योगलाई सहज सञ्चालनका लागि सरकारले आवश्यक सहजीकरण गर्ने बताए । बन्द भएका उद्योगहरूलाई सञ्चालनका लागि निजी क्षेत्रको सहयोग लिइने उनको भनाइ छ ।

मन्त्री बडूले पेट्रोलियम पदार्थको मूल्यवृद्धि बाध्यात्मक अवस्था भएको जिकिर गरे । पेट्रोलियम पदार्थमा लगाइएको कर १० रूपैया घटाइएको र त्यो भन्दा धेरै घटाउन नसक्ने बडूले प्रष्ट्याए । पेट्रोलियम पदार्थ खरिदभन्दा बिक्री मूल्य कम हुँदा अझै पनि घाटा नै रहेको उनको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्