नेशनल मेडिकल कलेजको दोहोरो धन्दा : निशुल्क उपचार गरे बापत प्रदेश सरकारबाट लिए ३१ लाख



जनकपुरधाम : गत वर्ष बारा पर्सामा आएको हावाहुरी (टोर्नाडो)मा परि घाइते भएकाहरुको उपचार खर्च बापत विरगन्जस्थित नेशनल मेडिकल कलेजले प्रदेश सरकारबाट ३१ लाख ३८ हजार २ सय ८४ रुपैयाँ भुक्तानी लिएका छन् । 

टोर्नाडो पीडितको उपचारको क्रममा कलेजका प्रवन्ध निर्देशक बसरुद्दिन अन्सारीले घाइतेहरुको उपचार निशुल्क गर्ने घोषणा गरेपनि अहिले आएर २ सय ३२ जना घाइतेको उपचार गरेको भन्दै प्रदेश सरकारबाट सम्पूर्ण रकम लिएका हुन्  ।

प्रधानमन्त्री केपी शर्मा ओली घाइतेहरुको निरीक्षण गर्न अस्पताल पुगेको बेला अन्सारीले सञ्चारकर्मी समक्ष निशुल्क उपचार गर्ने घोषणा गरेका थिए । तर, अस्पतालका निर्देशक आविद हुसेनले निशुल्क उपचार गर्ने बारे आफुलाई कुनै जानकारी नरहेको र मुख्यमन्त्रीले उपचार खर्च प्रदेश सरकारले बेहोर्ने घोषणा गरे बमोजिम आफुले रकम लिएको बताए । 

अस्पतालले सो बेलामा अस्पतालको विभिन्न ठाँउमा निशुल्क उपचार र खानाको व्यवस्था अस्पतालले गरेको भन्दै पर्चा समेत टाँसेका थिए । तर अहिले आफैले गरेको घोषणा विपरित रकम लिएका छन् ।

यसैगरी विरगन्जस्थित विरगन्ज हेल्थ केयर अस्पतालले समेत १० लाखको चेक पाएका छन् । हेल्थ केयरका चेयरम्यान डा. अब्दुल हैसले उक्त चेक बुझेका हुन् ।

दुवै अस्पताललाई मुख्यमन्त्री लालबाबु राउतले आज (बुधबार) चेक हस्तानतरण गरेका हुन् ।  उक्त अवसरमा मुख्यमन्त्री राउतले विपतको बेलमा सहयोग गरेका सहयोगी हातहरुलाई धन्यवाद समेत दिएका छन् । 

प्रतिक्रिया दिनुहोस्