उपत्यकाव्यापी पुरुष भलिबल : पाटन र रत्नराज्य क्वाटरफाइनलमा



काठमाडौं । पाटन क्याम्पस र रत्नराज्य क्याम्पस राष्ट्रव्यापी खेलकुदअन्तर्गत प्रथम उपत्यकाव्यापी पुरुष भलिबल प्रतियोगितामा बुधबार क्वाटरफाइनलमा प्रवेश गरेका छन्।

ताहचल क्याम्पसमा भएको समूह ‘सी’ को लिगमा पाटनले अमृत साइन्स क्याम्पस (अस्कल)लाई २५–१७ र २५–२२ को सोझो सेटमा पराजित गर्‍यो। जितसँगै पाटन समूह विजेता बन्यो। यो समूहमा २ टिम मात्र रहेकाले अस्कल पनि उपविजेतका हैसियतले क्वाटरफाइनलमा पुग्न सफल भयो।

रत्नराज्य दोहोरो जित निकाल्दै समूह ‘बी’ को विजेता बन्दै क्वाटरफाइनल पुगेको हो। रत्नराज्यले जय बहुमुखी क्याम्पसलाई २५–८ र २७–२५ तथा सरस्वतीलाई २५–२२ र २५–१९ को सोझो सेटमा हरायो।

मदन भण्डारी स्पोर्ट्स एकेडेमीअन्तर्गत केन्द्रीय भलिबल विभागद्वारा आयोजित प्रतियोगितामा त्रिचन्द्र पनि २ जित आत्मसात् गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्न सफल रह्यो। त्रिचन्द्रले महेन्द्र रत्नलाई २५–१८ र २५–२० तथा भक्तपुरलाई २५–२२ र २५–२२ को सीधा सेटमा पाखा लगायो।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सहकार्यमा भइरहेको प्रतियोगितामा बानेश्वर क्याम्पसले मिश्रित नतिजा निकाल्यो। शंकरदेव क्याम्पसलाई २७–२५, २२–२५ र २५–१८ ले पराजित गरेको बानेश्वर नेपाल कमर्ससँग २५–१५ र २५–१६ ले चुक्यो।

प्रतियोगिताको राखेपका सदस्य–सचिव टंकलाल घिसिङले १ कार्यक्रमबीच उद्घाटन गरे। उक्त अवसरमा मदन भण्डारी स्पोर्ट्स एकेडेमीका अध्यक्ष ध्रुव आचार्यलगायतको उपस्थिति थियो। ७१औं मदन जयन्तीका अवसरमा आयोजित प्रतियोगितामा ११ टिम सहभागी छन्।

राष्ट्रव्यापी खेलकुदअन्तर्गत भलिबल बाहेक क्रिकेटको ट्यालेन्ट हन्टसहित प्रतियोगिता, रेस्लिङ, बुद्धिचाल, बास्केटबल, फुल कन्ट्याक्ट कराते र तेक्वान्दोको प्रतिस्पर्धा हुने छ। प्रशिक्षण तथा तालिम पनि हुने छ।

प्रतिक्रिया दिनुहोस्