पुराना फिल्म व्यवस्थापक धिमालको निधन



काठमाडौं : नेपालका पुराना फिल्म व्यवस्थापक गेहेन्द्र धिमालको ७२ वर्षको उमेरमा शुक्रबार बिहान हृदयघातका कारण निधन भएको छ। गंगाप्रसाद धिमाल र भगिरथी धिमालका छोरा गेहेन्द्रसँग बलिउडदेखि नेपाली फिल्मसम्मको प्रोडक्सन डिजाइनको अनुभव थियो।

 

सन् १९६० मा बलिउडमा प्रोडक्सन सहायकका रुपमा करियर शुरु गरेका धिमालले त्यसको चार वर्ष पछि अर्थात् सन् १९६४ मा नेपाली फिल्म ‘माइतीघर’मा सहायक प्रोडक्सन मेनेजरका रुपमा काम सुरु गरेका थिए । निजी स्तरबाट बनेको यो फिल्म त्यो समयमा सर्वाधिक हिट थियो। उनले सन् १९८३ मा ओम प्रोडक्सनको ब्यानरमा निर्मित फिल्म ‘कान्छी’मा प्रोडक्सन कन्ट्रोलरका रुपमा काम गरेका थिए । गेहेन्द्रले ‘कान्छी’ पछि ‘माया प्रिती’, ‘साइनो’, ‘तृष्णा’, ‘सपना’, ‘जीवन ज्योति’ र ‘हामी एक हौं’मा प्रोडक्सन कन्ट्रोलरको कामलाई निरन्तरता दिए।

 

उनले नेपालमा छायांकन गरिएको फिल्म ‘जोनी मेरा नाम’, ‘हरे राम हरे कृष्ण’ सहित भारतीय फिल्म ‘महान’, ‘भवानी जङ्सन’, ‘जख्म’, ‘खुदा गवाह’ र ‘बुलन्द’मा पनि प्रोडक्सन कन्ट्रोलर र प्रोडक्सन मेनेजरका रुपमा काम गरेका थिए। धिमालले ‘इरी मलाई’, ‘मलायमारुतो’, ‘मिष्टर कार्तिके’, ‘यजमान’, ‘हेल्लो ड्याडी’, ‘श्री विद्या’ र ‘साहस भन्ताडु’ जस्ता दक्षिण भारतीय फिल्ममा पनि प्रोडक्सनको काम हेरेका थिए।

 

प्रोडक्सन कन्ट्रोलरको ५४ वर्षे अनुभवमा गेहेन्द्रले हलिउड फिचर, वृत्तचित्र र व्यावसायिक फिल्ममा पनि काम गरेका थिए। उनले अमेरिकाको ‘दि नाइट ट्रेन टु काठमाडौं’, ‘ओमाहा वाइल्ड लाइफ’ र ‘होप फेमिली प्लानिङ’, फ्रान्सको ‘मनिका’ र ‘रिनाउल्ट अटोमोबाइल’, बिबीसीबाट प्रसारण भएको परम्परागत नेवारी संस्कृतिमा आधारित ‘टेक अवे’ वृत्तचित्रलगायतका दर्जन बढी प्रोजेक्टमा प्रोडक्सन कन्ट्रोलरका रुपमा अनुभव संगालेका थिए।

 

विपी कोइरालाको दाहसंस्कारको समयमा निर्माण गरिएको वृत्तचित्रमा गेहेन्द्रले छायांकन र सम्पादन गरेका थिए । गेहेन्द्रले आफ्नो निर्माण, सम्पादन र निर्देशनमा ‘भिजिट नेपाल फर फिल्म सुटिङ’ नामक सिडी निर्माण गरेर आफ्नै कम्पनी सिने ट्रेक तथा फिल्मस् एन्ड एड फिल्मस्मार्फत विश्वका विभिन्न फिल्मकर्मीको हातमा पुर्‍याउन सक्रिय रहे । उनले सन् २००४ मा दक्षिण कोरियाको प्योनाङमा भएको ‘अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल’मा पनि पर्यटन सम्बन्धी सिडी वितरण गरेका थिए।

 

फिल्मस् एन्ड एडफिल्मस् तथा सिने ट्रेकका संस्थापकसमेत रहेका उनी नेपाल चलचित्र विकास कम्पनीको सल्लाहकारका रुपमा २०५४ देखि २०६२ सम्म काम गरे। उनी ‘नेपाल फिल्म आर्टिष्स् एसोसिएसन अवार्ड २०५६’, नेपाल फिल्म टेक्निसियन्स एसोसिएसन अवार्ड २०६०’, ‘खम्बु खोल्स ग्लोबल नेपाली फिल्म एचिभमेन्ट अवार्ड २०१६’ जस्ता सम्मानबाट सम्मानित भइसकेका छन्।

 

धिमालको निधन पछि मण्डिखाटारस्थित निवासमा कलाकारहरूले उनको शवमाथि श्रद्धाञ्जली दिएका थिए।

प्रतिक्रिया दिनुहोस्